ताजा अपडेट »

एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भयो : चाैधरी

सोमबार, २१ कार्तिक २०७९, १२ : ४४
8 Shares

भैरहवा । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दाबी गरेका छन् । उनले अरुले कुरा गरे पनि आफूहरुले काम गरेर देखाएको बताए ।

एमाले, राप्रपा र (जसपाले  बुटवल उपमहानगरपालिका–१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले नेपाली कांग्रेसले के गर्छ भन्ने कुरा एकपटक कांग्रेसका नेतालाई सोध्न आग्रह गरे । उनले भने, ‘कांग्रेसको नेता हुन सजिलो छ, कांग्रेसका नेताहरुलाई विकास गर भन्नु पर्दैन, उहाँहरुबाट विकासका काम हुन सक्दैन ।’

दीपक बोहरा रुपन्देहीको विकासको पर्यायवाची भएको उनको भनाइ छ । नेता चौधरीले रुपन्देहीको विकासको कुरा गर्दा दीपक बोहराको नाम जोडिने बताए । पाँच दलीय गठबन्धनले केही नपाएपछि नेता बोहरा बोल्न सक्नुहुन्न भनेर जनतामाझ भ्रम फैलाएको उनले बताए । उनले भने, ‘मंसिर १५ सम्म चिकित्सकबाट बोहरालाई नबोल्न आग्रह गरिएकाले उहाँ अहिले बोल्नुभएको छैन, निर्वाचित भएपछि उहाँ संसदमा बोल्नुहुन्छ।’

त्यस्तै बुटवल-१४ स्थित विनायकपुरमा बोल्दै नेता चौधरीले आफू पदमा नरहँदा पनि बोहराले कोरोना महामारीमा स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको बताए । उनले भने, ‘मैले गरेको विकासको बारेमा विकासप्रेमी जनताले राम्रोसँग बुझ्नुभएको छ, २०७४ सालको निर्वाचनमा जनताले राम्रो मतका साथ मलाई जिताउनुभएको थियो ।’एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भएको र कांग्रेसले सरकारको नेतृत्व नगर्दा मुलुकमा विकास हुन नसक्ने उनको भनाइ छ ।.

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।