ताजा अपडेट »

दर्शक प्रतिक्रियाले दोस्रो सातामा पनि बढ्दैछ ‘महापुरूष’को व्यापार

सोमबार, २१ कार्तिक २०७९, ११ : ३३
27 Shares

काठमाडौं ।  प्रदर्शनरत फिल्म ‘महापुरूष’ दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्म हेर्न हलसम्म परिवार नै लिएर आउने धेरैछन् । कारण, उनीहरूलाई फिल्म मन परिरहेको छ । आफ्नो विश्वस्त व्यक्तिबाट फिल्म राम्रो रहेको जानकारी पाएपछि उनीहरू परिवार नै लिएर हलमा आएका हुन् । यही कारण फिल्म बक्सअफिसमा बलियो सावित भइरहेको छ । फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकाको विभिन्न सहरमा समेत राम्रो व्यापार गरिरहेको छ । 

दोस्रो सातामा दर्शकको अपार साथ् पाइरहेको फिल्मलाई आयोजित ‘विशेष शो’ मा सेलिब्रेटीले हेरेका छन् । कलाकारहरू अर्जुनजंग शाही, करिश्मा मानन्धर, सन्तोष पन्त, रमेश उप्रेती, रीमा विश्वकर्मासहितले फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै फिल्म उत्कृष्ट बनेको बताए् । आफ्नो आमालाई लिएर फिल्म हेर्ने पुगेकी अभिनेत्री रीमाले फिल्म राम्रो बन्नु समग्रमा नै बाध्नु पर्ने बताइन् । ‘पटकथा, प्रस्तुतीकरण र कलाकारहरूको अभिनय तीनै पक्षलाई म फिल्मकर्मीको हिसाबले शतप्रतिशत मार्क्स दिन्छु’, अभिनेत्री विश्वकर्माले भनिन्, ‘मेरो बुवा सानैमा बित्नु भएकोले म एकल आमाको सन्तान हुँ । फिल्म हेरेपछि म सोच्दैछु उहाँ सुखी त हुनुहुन्छ त ? यसविषयमा त हामीले कुराकानी नै गरेका रहेनछौं ।’ उनले फिल्म बाको माध्यमले प्रस्तुत गरिए पनि यो बा र आमा दुवैको एक्लोपनको कथा व्यक्त गर्ने बताइन् । 

‘कतिपय स्थानमा मलाई सामान्य लागेको दृश्यमा पनि आमा भावनात्मक भइरहनु भएको थियो । किनकि उहाँलाई बढी कनेक्ट गर्यो । त्यसैले आफ्नो बुबा आमाको भावना बुझ्न चाहनुहुन्छ भने यो फिल्मसँगै हेर्नुहोला । उहाँहरूले मनमा कुरा दबाए पनि आँखाले बोल्नेछ’, अभिनेता रीमाले भनिन् । हाम्रो समाजमा हामीले वास्ता नगरेको कथालाई आम दर्शकसम्म लागिएको अभिनेत्री करिश्मा मानन्धरले बताइन् । ‘सुखी मात्र नभई सुखी हुनुपर्छ भन्ने सन्देश नै सशक्त छ । बुढ्यौलीमा महसुस हुने एलोपनमा चाहिने साथलाई यसमा सरल रुपमा देखाइएको छ । फिल्म हेर्दा समय र पैसा पूर्ण रुपमा असुल हुन्छ’, अभिनेत्री मानन्धरले भनिन् । 

‘महापुरूष’ जस्ता फिल्मले दर्शकलाई मनोरञ्जनसँगै समाजलाई सन्देश पनि दिने अभिनेता सन्तोष पन्तले बताए । ‘दर्शकमार्फत विभिन्न सन्देश समाजमा गइरहेका छन् । यस्ता फिल्म बन्नुपर्छ । यस्ता गम्भीर विषयमा समाजको ध्यान गएको छैन । यस्ता विषयलाई बुझ्ने गरी फिल्मकर्मीले उठान गर्नुपर्छ । महापुरूष यस विषयमा सफल भएको छ’, अभिनेता पन्तले भने । अभिनेता रमेश उप्रेतीले एउटा उत्कृष्ट फिल्म हेर्ने मौका मिलेको प्रतिक्रया दिए ।  सेलेब्सझैँ फिल्म हेर्न आइपुगेका दर्शकले पनि राम्रो लागेको र अन्यलाई पनि सिफारिस गर्ने प्रतिक्रिया दिइरहेको निर्माता म्याक्स् दिपेश खत्रीले बताए । ‘एकजना छोरीले आफ्नो एकल आमाको निर्णय बदल्न फिल्म हेराउनु भएको रहेछ । उहाँ अमेरिका बस्ने‘ भएकोले आमालाई एकल जीवन नबिताउन आग्रह गरिरहनु भएको रहेछ । यस्ता धेरै दर्शक हल भिजिटमा भेटका छौँ’, निर्माता खत्रीले भने । 

उनले पहिलोसाताको तुलनामा दोस्रो साता दर्शकको चाप बढ्दो रहेको जानकारी दिए । फिल्म अमेरिकामा समेत दर्शकको राम्रो साथ पाइरहेको छ । जात्रा र जात्रै जात्राको सफलता पश्चात कलाकार रवीन्द्र सिंह बानियाको निर्माण र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले संयुक्त राज्य अमेरिकामा राम्रो दर्शक पाइरहेको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले जनाएको छ ।अमेरिका प्रदर्शन डलासबाट सुरु गरेको थियो । सिनेपोलिस, युलेसमा हाल चलिरहेका १६ अन्य अँग्रेजी र हिन्दी फिल्मको तुलनामा डलासमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘महापुरूष’ले बक्स अफिसमा उत्कृष्ट नतिजा देखाएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले बताए । ‘नोभेम्बर ४ बाट थप ९ हल थपिँदै सोमबारसम्म एट्लान्टा, रेले, डेनभर, ह्युस्टन, अस्टिन, लस एन्जलस, एक्रोनमा दिनको कम्तिमा २ शो नियमित हुनेछ । 

नेपाली र अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुको अर्को हब बाल्टिमोर मेरिल्याण्डका दुई थिएटरमा पनि प्रदर्शन हुँदै छ । मेरिल्याण्डको होराइजन सिनेमाले बाल्टिमोर एरियामा प्रदर्शन गर्दैछ’, सुवेदीले भने । आउँदो हप्तामा यो चलचित्र ग्रीन्सबोरो, सान फ्रान्सिस्को, न्यूयोर्क, ओक्लाहोमा सिटी, न्यु जर्सी, सिएटल, कोलम्बस र क्यानडाका ३ सहरमा रिलिज हुने तयारीमा रहेको समेत उनले बताए । यस्तै, अष्ट्रेलियामा एमएसएम इभेन्ट्सले प्रदर्शन गरिरहेको छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् ।फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत् समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । 

षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य÷शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपकप्रताप अधिकारी रहेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।