ताजा अपडेट »

चुनावी चिन्ता: मासुभात र पैसाकै भरमा ५ वर्ष राज !

आइतबार, २० कार्तिक २०७९, १६ : ४८
2 Shares


पाँच वर्षमा आउने चुनावको अलग्गै रौनक हुन्छ । कसैमा उत्साह त कसैमा नैराश्यता । वर्षभरी गाली गरेर कमी–कमजोरी औंल्याइरहेने र अरुबेला दन्द्व गरीरहने आफन्तहरू पनि चाडबाडमा मिले जस्तै गरि सबै बिर्सेर तछाडमछाड गरि म र मेरो पार्टीको भनेर गर्व गरिरहेका भेटिन्छ्न् ।

चुनाव नजिँकिदै गर्दा रौनक बढी नै हुन्छ । टोल टोलमा एकपछि अर्को गर्दै टोलै थर्किने गरि घन्किने विभिन्न पार्टीका गीतहरूले त झन नाचौँ–नाचौँ लाग्ने । सामान्य चिया पसल, चौतारो, जहाँ मान्छेको जमघट हुन्छ त्यहाँ सुरु हुन्छ चुनावकै कुरा ।

छिनछिनमा जन्ती जस्तै गरि नमस्कार गर्दै मुसुक्क हाँस्दै घरको दैलोमा भोट माग्नेहरू आउँदा त साच्चिकै भर्खरै दिन मिल्ने भए त म यिनैलाई भोट दिन्थे जस्तो लाग्ने । अझ कम्मर मर्काई मर्काई नाच्नेहरूलाई देख्दा त कामधन्दा केही नगरी दिनभर यहीँ समूहमा गइ नाचिरहुँ रमाइरहुँ जस्तो लाग्ने ।

सबैलाई आफ्नो आफ्नो घरजाने चटारो । रमाइलो कुरा त के भने गाडी भाडा पनि तिर्नु नपर्ने गाडी पठाइदिने घरसम्म जानलाई यति राम्रो मौका कस्ले छोड्छ ? घरपरिवारसङ्ग पनि भेट हुने । रमाइलो पनि हुने भो ।साँच्चिकै चुनावको रौनक वर्ष दिनमा आउने ठूला चाडभन्दा कम छैन ।

चुनावमा टिकट पाउन गाह्रो । टिकट पाइसके पछि माला खादा र टिकाबाट सुरु भो अग्रिम शुभकामना र बधाईको ओइरो । दिनप्रतिदिन प्रेसर बढ्दै गैरहेको छ । समय सिमीत छ । अब जसरी भएपनी चुनाव जित्नुपर्छ । यसको लागि प्रचार, पम्प्लेट, ब्यानर, चुनावी घोषणापत्र, गाडी, रिक्सा इत्यादि धेरै थोकको जोरजाम गर्नुपर्यो ।

घरघरमा पनि पुग्नुपर्यो फेरि आएन भन्लान् । भोट नदिने पो हुन कि डर पनि छ । एक्लै हिँड्ने कुरा भएन । जतिसक्दो जनलहर देखाउनु छ । कार्यकर्ता पनि प्रसस्त चाहियो । बिचराहरू कति खटेका छन् भोकै प्यासै काम गर्न सक्ने कुरा पनि भएन ? खानपिनको व्यवस्था गर्नैपर्यो । उखरमाउलो गर्मी त्यस्तै । पानीको खपत त झन धेरै हुनाले मिनरल वाटरका बोतल पनि धेरै नै चाहियो ।

बिहान साँझ घरमा हुने जमघटमा चियापान पनि गराउनै पर्यो । दिनप्रतिदिन महङ्गी बढिरहेको छ । सानोतिनो कमाइ हुने मान्छेले त राजनीति गर्छु भनेर नसोचे पनि हुन्छ ।

एकछिन बिचार गरौं देश बनाउछु भनेर अगाडि बढ्ने मान्छेको अगाडि देखिएको चूनौती । यत्रतत्र बाँड्न पुग्नेगरी पर्चा र पम्प्लेट छपाउनै पर्यो । आकर्षक ब्यानर पनि बनाउनुपर्यो । त्यो पनि चाहिएको जति । चुनावी घोषणा पत्र पनि थोरैले पुग्ने कुरा भएन । कमसेकम एउटा घरमा एउटा चुनावी घोषणा पत्र पुग्नै पर्यो । गाडी रिक्सा पनि टोलटोलमा घुमाउनै पर्यो । आफ्नो प्रतिस्पर्धिभन्दा चुनावी प्रचार–प्रसारमा कुनै कमी हुनुभएन ।

जितको दौडमा धेरै खर्च हुन्छ । साँच्चिकै भन्नुपर्दा अनावश्यक खर्च । त्यो चुनावी घोषणा–पत्र पनि कसैले पढ्दैनन् । बाटोभरी यत्रतत्र छरिएको देखिन्छ । धेरैजसो कार्यकर्ताको आफ्नो आफ्नो काम हुन्छ । त्यसलाई थाती राखेर हिँडेको देखिन्छ । ती बज्ने गीत पनि एकछिन बज्छ्न् । सुन्दा आनन्द लाग्छ । अनि सकियो ।

जुन पार्टीले मासुभात खान दिएको छ । आफू सँग–सँगै हिँडालेको छ । उसैको चर्चा गर्नुपर्यो । भोट पनि दिनुपर्यो । निर्वाचनको दिनमा अझ बढी मतदातालाई पनि खाने पिउनेको व्यवस्था पनि हुन्छ । प्रतिष्पर्धाको दौडमा हारजित भैहाल्छ । हार्नेको गैरीखेत बाढीले लगे सरह अथवा जुवामा हारे सरह अब गयो भन्ने हुनेभो भने जितेकालाई यति धेरै लगानी गरेको छु घाटामा त जानुभएन नि भन्ने मानसिकता हुनु स्वभाविकै हो । अब हामी खोज्छौ विकास र समृद्धि ।

यसरी जनताले चुनेर पठाइएका प्रतिनिधिको मासिक पारिश्रमिक कति हुन्छ ? लगभग १५ दिनको चुनावी प्रचार–प्रसारमा कति खर्च भो ? घरघरमा पुग्दा चाहिने पेट्रोल, गाडी खर्च कति भो ? हाम्रो हातमा परेको प्रचार पम्प्लेट एउटा हुन्छ तर यो कतिजनाको हातमा परेको छ ? एकप्रती घोषणाप्रत्र र पम्प्लेटको मुल्य कति पर्छ ? हाम्रो हातमा परेको एउटा मिनरल वाटर, एक कप चिया बिस्कुट, एकछाक सादा खाना, मासुभातको मुल्य कतिपर्छ हिसाब गर्नुस् है । यो त एकजनाको भयो । त्यहाँ जम्मा भएका मोटामोटी सबै सहभागीको दिनको छाकको हिसाब जोड्दै जानुस् है ।

मैले समग्रमा भन्न चाहेँ हामी जनता भेडा । देशको चिन्ता नभएका । महङ्गी बढ्यो, यो भएन त्यो भएन भनी कुर्लन जान्ने तर, किन भएन भन्नेतिर चासो नदिने । टिकट बेच्ने–किन्ने नेता, मासुभात र पैसामा बिक्ने कार्यकर्ता र यसरी चुनाव जित्ने नेता मात्रै होइन मासुभात र पैसामा बिक्ने कार्यकर्ता पनि अपराधी हुन्। देश बिगार्नमा नेतासँगै जनता पनि दोषी छ्न् । दिनमा एकपटक समाचार सुन्ने र हेर्ने गरेपनी धेरै कुराको जानकारी पाइन्छ ।

देशको अर्थतन्त्रको अवस्था के छ ? कसले के गर्यो ? गर्नुपर्ने के हो ? सहि र गलत के हो ? भन्ने कुराको समेत सामान्य जानकारी नहुने तर पार्टीको झन्डा बोकेर सबैभन्दा अगाडि सबैभन्दा सक्रिय भएर हिड्ने तिनै हुन्छन् । अझ भनौं राम्रो मान्छे को होला ? भन्नेतिर भन्दा पनि हामी त बच्चैदेखि यो पार्टीको हो अन्त त हात जाँदै जान्न भन्ने मानसिकता भएका धेरै जसो भेटिन्छ्न् । जबसम्म जनतामा चेतना हुँदैन तबसम्म देशले सहि नेतृत्व पाउदैन । अनि दुःख पाउने त जनताले नै हो । आफ्नो खुट्टामा आफै बन्चरो किन हान्ने । एकहप्ताको रमाइलो र खानपिनले सधैंलाई पुग्ने त होइन नि ! आफ्नो दुःख त आफैसँग छ । कसैले एकछाक खानदिने पनि होइन ।

हामीले कस्तो जनप्रतिनिधि छान्यौँ ? ती हामीले छानेका जनप्रतिनिधिका विषयमा बहस गरौँ । हामीले नेता खराब पायौं, गलत भयो भनेर यो भन्दा पाँच वर्ष अगाडि धेरै नेतालाई गाली पनि दियौं । तर अघिल्लो पटक छान्दा कसरी छानेका थियौँ ? र यो पटक हामीले छान्दा कसरी छानेका छौँ ? यो विषयमा बहस गर्न र सचेत हुन जरुरी छ । यसले पार्ने दुरगामी असरको बारेमा बेलैमा सचेत हुन जरुरी छ । अब नेताले जनता खोज्ने होइन । जनताले नेता खोज्न जान्नुपर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।