ताजा अपडेट »

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

आइतबार, २० कार्तिक २०७९, १३ : २१
16 Shares

काठमाडौं ।  देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँस्थित शिवराजपुर बस्ने बिमल घर्तिकी छोरी ३ वर्षीया दुर्गा घर्ती रहेकी छन् । उनको शनिबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

पाल्पाको पुर्बखोला गाउँपालिका–४ मंगलामा लु.४ त ७१९८ नम्बरको ट्रयाक्टर शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक पुर्बखोला गाउँपालिका–२ राक्से बस्ने २२ वर्षीय कमल राना छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरस्थित सडकमा डिएल ४ सिए ०१९७ नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने हरिन्द्र पासवानकी छोरी २ वर्षीया सुधा कुमारी रहेकी छन् । उनको शनिबार साँझ मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकमा प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकल रेलिङमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–२ घर भई भक्तपुर गठ्ठाघर बस्ने २७ वर्षीय पुण्य बहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।