ताजा अपडेट »

एमालेविरुद्ध भ्रमको भण्डाफोर भएको छ, अब बहुमत आवश्यक छ : नेता बिष्ट

शुक्रबार, १८ कार्तिक २०७९, १९ : ४५
20 Shares

बुटवल । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण बिष्टले एमालेप्रतिको भ्रम मेटिएको बताएका छन् । उनले केहि झुण्डले आफ्ना स्वार्थका लागि पार्टी र नेतृत्वप्रति विद्रोह गरेको स्पष्ट भएको र अन्ततः पार्टी एकढिक्का र वृहत बनेको दावी गर्दै आगामी निर्वाचनमा एमालेले अत्यधिक मत प्राप्त गर्ने दावी गरे ।

शुक्रबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै नेता विष्टले पार्टी विभाजनका समयमा नेता कार्यकर्तालाई दिइएको विद्रोहका भ्रम सबै यो बीचको समयमा मेटिइसकेकाले इमान्दार कार्यकर्ताहरु पुरानो घरमा आइरहेको र केही आउने क्रम रहेको बताए ।

उनले भने ‘हिजो जुन भ्रम फैलाइएको थियो त्यसको सबै भण्डाफोर भइसकेको छ, नेतृत्वको गलत निर्णय बुझेर नै धेरै साथीहरु फर्किनुभएको छ, केही फर्कने क्रममा हुनुहुन्छ र केही बाध्यताले अल्झिनुभएको छ ।

उनले आगामी निर्वाचनपछि नेकपा एसको राजनीतिक भविष्य सकिने ठोकुवा गरेका छन् । ’त्यो पार्टी राष्ट्रियताको सवालमामा स्खलित भएर नागरिकता विधेयकल गाएत मुद्दामा उदार पूँजीवादी कांग्रेससंग साँठगाँठ गर्न पुग्यो, सरकारमा केही थान मन्त्री बनाउन, केही नियुक्तिमा आफ्ना मान्छे राख्न र चुनावअघि गठबन्धन गरेर आफ्नो सीट सुरक्षित बनाउन पार्टी विभाजन गरेको प्रष्ट भयो’– नेता विष्टले भने ।

नेता बिष्टले भने–‘नेकपा एस नामक पार्टीको खुद्रा पसल चुनावपछि पूर्ण रूपमा बन्द हुन्छ । आगामी निर्वाचनपछि पार्टी विभाजनको सबै औचित्य सकिने छ र नेकपा एसको राजनीतिक भविश्य नै सकिने छ ।’

गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका विष्टले नेपाली कांग्रेस र माओवादीले मैदान खाली गरेपछि नेकपा एमालेको बलियो प्रतिस्पर्धी कोही नभएको बताएका छन् ।

‘कांग्रेस माओवादीले मैदान खाली गरेको अवस्था छ, अहिलेका प्रतिस्पर्धी अरुको सहारामा लड्नुपरेको छ, सांसद हुँदा १० हजार बजेट कही हालेको प्रमाण छैन । हामीले अगाडि बढाएका आयोजनालाई देखाएर चुनाव प्रचार गरिँदैछ ।’ नेता विष्टले भने–‘सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग तुलना नगरिदिनुहोला पत्रकार साथीहरु, त्यहाँको वास्तविकता हेरेर विश्लेषण गरिदिनुहोला, म संसद प्रवेश गर्दाको अवस्था र अहिलेको विकासको अवस्था तुलना गरेर हेरिदिनुहोला, धेरै काम भएको छ, सुरु भएका योजना पूरा हुने क्रममा छन् र अझै धेरै गर्न बाँकी छ । ’

स्थानीय तहमा ५६७ मत ल्याएको पार्टीसँग एमालेको कुनै प्रतिष्पर्धा नहुने बताउँदै प्रतिष्पर्धामा रहेकी रामकुमारी झाँक्रीको नामै नदिई प्रतिस्पर्धाको चर्चामा आएका उम्मेदार चुनाव जित्न नभई पर्यटन प्रवद्र्धन गर्न गाउँ डुलेको टिप्पणी गरे ।

एमालेको बहुमत देशको लागि आवश्यक रहेको भन्दै त्यहीँ अनुसार देशभर चुनावी माहोल बनेको विष्टले दाबी समेत गरे । गरिबी, बेरोजगारीबाट जनतालाई माथि उठाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनोट गर्न सचिव विष्टले मतदातालाई आग्रह गरे ।

‘हाम्रो पार्टी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पूरा गर्न हामी अभियानमा जुटेका छौँ त्यहीअनुसार जनता पनि उत्साहित भएर चुनावमा लाग्नुभएको छ’, विष्टले भने । पूर्वमन्त्री विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरु पूर्ण कार्यान्वनमा आउने दाबी गरे । आफूले अगाडि सारेका विकास आयोजना गुल्मीको विकासमा महत्वपूर्ण रहेको विष्टले बताए । एमाले नेतृत्वको सरकारले ल्याएको विकासको अभियानले गाउँमा विकासको लहर ल्याएको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।