ताजा अपडेट »

दिउँसो ज्याला–मजदुरी, राति पढाई

विहीबार, १७ कार्तिक २०७९, ०९ : २५
8 Shares

मोरङ । विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरको रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन् । विद्यालयमा साँझ पाँच बजेदेखि रातिको नौ बजेसम्म पठन पाठन हुने गरेको छ ।

कक्षा पाँचदेखि १० सम्म पढाइ हुने यो रात्रि विद्यालयमा अधिकांश विद्यार्थी १६ वर्षदेखि माथि ५५ वर्षसम्मका छन् । चौहत्तर जना विद्यार्थी रहेको यो विद्यालयमा ४६ वर्षीया रीना लिम्बू कक्षा १० अध्ययनरत छिन्।

लिम्बूका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन् । लिम्बूले दिउँसो सानोतिनो काम गर्छिन् भने छोराछोरीको स्याहार सुसार गर्नुपर्ने बाध्यता पनि छ । विराटनगर–४ खारजी बस्ने लिम्बूको पढ्ने सोखमा भने कुनै कमी आएन ।

सङ्खुवासभाको चैनपुरबाट विवाह भई २०५२ सालमा बसाइँ सराइ गरी विराटनगर आएपछि लिम्बूले अध्ययनलाई अगाडि बढाउन पाइनन्।

तर दुई वर्षअघि लिम्बूलाई पुनः पढ्ने रहर चढ्यो र यस रात्रि विद्यालयमा कक्षा ८ मा भर्ना ह । लिम्बुले उच्च शिक्षा हासिल गर्ने मन बनाएकी थिइन् ।

रात्रि विद्यालयमा कतिपयले भर्ना लिएपनि विभिन्न समस्या र बाध्यताका कारण बीचैमा अध्ययन छाड्ने गरेको विद्यालयकी प्राचार्य दुर्गा निरौलाले बताइन् । उनका अनुसार फुर्सत पाएपछि श्रमिक महिला र पुरूषहरू रातको समयमा विद्यालयमा पढ्न आउने गर्छन् ।

रात्रि विद्यालयमा पढेका विद्यार्थी कोही सरकारी कर्मचारी भएको र कोही सशस्त्र प्रहरीमा भर्ना भई कैयौँका लागि प्रेरणाको स्रोत बनेको प्राचार्य निरौलाले बताइन्।

रात्रि विद्यालयका समस्या पनि प्रशस्तै छन् । विद्यालयमा चौकीदारको व्यवस्था नहुँदा रातको समयमा असामाजिक तत्वले बाधा पुर्‍याउने खतरा उत्तिकै छ ।

एक त विद्यालयमा बत्ती पुगेको छैन, त्यसमाथि भएको इन्भर्टर पनि बिग्रिँदा विद्युत् अवरोध भए असमयमा नै विदा दिनु पर्ने अवस्था छ । विद्यालयसँग आफ्नै सवारी साधन नहुँदा महिला विद्यार्थी र शिक्षक कर्मचारीलाई रातको समयमा रात्रि विद्यालय आउजाउ गर्न सकस छ ।

सहायक प्राचार्य खुशीराज गौतमले दिउँसो कामको कारण पढ्न नपाएकाहरूका लागि विद्यालयले रातको समयमा पढ्ने अवसर जुराइदिएको बताए । खाने मुखलाई जुँगाले छेक्न सक्दैन भने झैँ इच्छा भए रातको समयमा पनि विद्या प्रदान गर्न यो विद्यालय २०१५ सालदेखि अडिग छ ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।