ताजा अपडेट »

मोफसलमा दर्शक भेट्दै ‘महापुरूष’ टिम, बुधबार बुटवल आउँदै

बुधबार, १६ कार्तिक २०७९, ११ : २५
12 Shares

काठमाडौं । गत कात्तिक ११ गतेबाट प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । प्रदर्शनकै दिनदेखि हल पुगेर निर्माण टिमले प्रतिक्रिया समेत लिइरहेका छन् । हलसम्म आइपुगेका दर्शक फिल्म हेरिसकेपछि निर्माण टिमलाई बधाई दिँदै निस्किरहेका छन् । 

काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम मोफसलमा निस्किने भएको छ । कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराइली पश्चिमका सहर पुगेर प्रतिक्रिया लिने भएका छन् । 

बुधबार नेपालगन्जमा दर्शक भेटेर प्रतिक्रिया लिने टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ । ‘हामी आज नेपालगन्जका दर्शकहरूसँग भेटघाट गर्नेछौँ । त्यसपछि दाङ, बुटवल हुँदै चितवनका दर्शकलाई भेटेर काठमाडौं फर्किने तयारी छ,’ कार्यकारी निर्माता बानियाँले भने । यसअगाडीको आफ्ना फिल्महरू टल्क जंग भर्सेस टुल्के, जात्रा र जात्रै जात्राभन्दा राम्रो ‘वर्ड अफ माउथ’ दर्शकमार्फत् पाएको उनले बताए । 

निर्देशक भट्टराई पनि दर्शकको प्रतिक्रिया निकै सकारात्मक रहेको बताउँछन् । ‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ । हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ । यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो,’ निर्देशक भट्टराईले भने । फिल्म हेर्न प्राय परिवार नै एकसाथ आइरहेका छन् । उनीहरूले यही फिल्म मार्फत डेब्यु गरेका कलाकारहरू अरुण र अन्जनालाई आशिर्वादसमेत दिइरहेका छन् । 

फिल्मले बालकदेखि वृद्धसम्मका दर्शकहरुलाई हलसम्म तान्न सफल भएको छ । कात्तिक १६ मा नेपालगन्जमा मोफसलका दर्शक भेटघाट गर्ने टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो बुटवल र १८ गते नारायणगढको दर्शकसँग भेटघाट गर्दै काठमाडौं फर्किनेछन् । पूर्व निर्धारित कार्यक्रमको कारण संयुक्तराज्य अमेरिकामा रहेका अभिनेता हरिवंश आचार्यले आफ्नो मन भने नेपालमै रहेको बताए । उनले भिडियो सन्देश पठाउँदै भनेका छन्, ‘पूर्व निर्धारित कार्यक्रमले गर्दा अमेरिकामा छु । यद्यपि म त्यहीँ नेपालमा रहेर दर्शकसँग प्रतिक्रिया लिन चाहन्थे । तपाइँहरूले दिनुभएको प्रतिक्रियाले हामीलाई झनै हौसला मिलेको छ’, अभिनेता आचार्यले भने । 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । 

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य ÷ शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।