ताजा अपडेट »

रुपन्देहीका उम्मेदवार मतदाता रिझाउन टोल-टोल पुग्दै

सोमबार, १४ कार्तिक २०७९, २१ : ३८
22 Shares

बुटवल । रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाका उम्मेदवार मतदाता रिझाउन टोल-टोलमा पुग्न थालेका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टोल-टोलमा मतदाता भेटघाटमा व्यस्त भएका हुन् ।

पुराना अनुहार आफ्ना कार्यकर्ता र पहिले मतदान गरेका मतदातालाई भेटी मत दिएवापत आफूले गर्ने कामबारे प्रस्ट्याउँदै हिंडेका छन् भने नयाँ अनुहार आफू र आफ्नो योजना परिचित गराउँदै मतदाता आकर्षित गर्ने काममा जुटेका छन् ।

विभिन्न दलका उम्मेदवारको प्रचारप्रसारका लागि रूपन्देहीमा क्षेत्रैपिच्छे जनसम्पर्क कार्यालय विस्तार गरिएको छ । ती कार्यालयको उद्घाटन गरिसकेका उम्मेदवारहरूले आमनागरिक बोलाउने, उनीहरूबीच आफ्ना धारणा राख्ने काम गरिरहेका छन् ।

रूपन्देहीमा मुख्य राजनीतिक दलका पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् भने स्वतन्त्र र अन्य दलबाट केही युवा उम्मेदवार पनि प्रतिस्पर्धा गर्दै छन् । क्षेत्र नम्बर १ मा पाँचदलीय गठबन्धनबाट उम्मेदवारी दिएर मतदाताबीच पुगिरहेका पूर्वएमाले नेता घनश्याम भुसाल आफ्ना पुराना कार्यकर्तालाई भेट्ने, विचार राख्ने र पार्टी र सरकारमा छँदा आफूले गरेका कामबारे मतदातालाई आश्वस्त पारिरहेका छन् । स्वतन्त्र उम्मेदवार दिएका उनलाई पाँच दलीय गठबन्धनले साझा उम्मेदवारका रूपमा अगाडि सारेको हो ।

रूपन्देही–२ बाट नेकपा एमालेका उम्मेदवार बनेका पूर्वअर्थमन्त्री विष्णु पौडेल दिगो विकास र समृद्धि एमालेबाटै सम्भव रहेको बताइरहेका छन् । उनले देशका बालबालिकालाई निःशुल्क शिक्षा, ज्येष्ठ नागरिकलाई सुरक्षाभत्ता र बेरोजगार युवालाई रोजगारी दिलाउने काम एमालेले मात्रै गरेको स्मरण गराउँदै चुनावी प्रचार गरिरहेका छन् ।

क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहरासँग गृहमन्त्री बालकृष्ण खाण भिड्दै छन् । नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने मुख्य एजेन्डा बोकेका उनले विकल्पबिना सुकुम्बासी नागरिकलाई हटाउन नमिल्ने बताइरहेका छन् । साथै खाँणले आफू उम्मेदवार बनेको क्षेत्रको एकीकृत विकास एवं यहाँका उद्योगी व्यवसायीलाई मर्का पारिरहेको बैंकले लिने चर्को व्याजदर तत्काल रोक्नुपर्ने विषयलाई चुनावी एजेन्डा बनाएका छन् ।

खाँणले भैरहवा क्षेत्रको विकास गरी रिङरोडसहितको नगर बनाई आर्थिक, भौतिक साथै सामाजिक रूपमा विकास गर्ने बताएका छन् । उद्योगी व्यवसायी देशको आर्थिक समृद्धिको मेरुदण्ड रहेको उनको भनाई छ । यसैगरी रूपन्देही क्षेत्र नम्बर ४ र ५ का उम्मेदवार पनि जनताका बीचमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । विकास निर्माण र समृद्ध रूपन्देहीको नारा प्रायः उम्मेदवारका एजेन्डा बनेका छन् ।

नेपालको सन्दर्भमा चुनावका बेलामात्रै पार्टी र नेताले जनता सम्झने प्रवृत्ति गलत रहेको राजनीतिक विश्लेषक मनिकर कार्कीले बताए । 'जनतासँग सधैं नजिक भएर काम गर्नुपर्ने हो, उनीहरूका समस्याबारे परिचित हुनुपर्ने हो,' उनले भने, 'नेपालको सन्दर्भमा नेताले चुनाव जितेर गएपछि जनताप्रति उत्तरदायी बन्ने परिपाटी नै रहेन ।'

जनताले मत दिएर जित्ने नेताले पाँच वर्षको अवधिमा कतिपटक जनताका बीच आएर समस्या सुन्यो, छलफल ग¥यो भन्ने विषय मुख्य रहेको मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले बताए । उनले आफ्ना कुरा लिएर जनतामाझ जानु असहज नभए पनि निर्वाचनका बेला मात्र जनताबीच जाने प्रवृत्ति घातक रहेको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।