ताजा अपडेट »

सत्ता गठबन्धनद्वारा रुपन्देही-३ मा ६६ बुँदे संकल्पपत्र सार्वजनिक

आइतबार, १३ कार्तिक २०७९, १३ : ५५
4 Shares

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को ५ दलिय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको छ । "समुन्नत नेपाल, सम्पन्न नेपाली" भन्ने मुल नारा सहित सार्वजनिक गरिएको संकल्पपत्रमा भौतिक पूर्वाधारको साथै यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ, खेल, वातावरण बिकासमा जोड दिइएको छ । संकल्पपत्रमा सिद्धार्थनगर नगरपालिका वरपर 'सिद्धार्थ चक्रपथ' निर्माणको परिकल्पना गरिएको छ।

यसको लागि यथाशिघ्र डिपिआर गरि निर्माण कार्यको थालनी गर्ने संकल्पपत्रमा उल्लेख छ । तिनाउ-दानव नदीमा 'जनताको तटबन्धन' कार्यक्रम थप प्रभावकारी बनाउने र डण्डा / रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गरिने उल्लेख छ । यस क्षेत्रमै बिवादित रहेको मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गर्ने बिषय संकल्पपत्रले समेटेको छ । औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रूपमा विकास गरिने र त्यस क्षेत्रका वासिन्दाहरूको रोजगारीको सुनिश्चितता गरिने संकल्पपत्रमा लेखिएको छ ।

६६ बुँदे संकल्पपत्रमा बेलवास- बेथरी सडकको स्तरोन्नति

बेलहिया बुटवल खण्डमा रहेको ६ लेन सडकलाई अझ आकर्षक बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उल्लेख छ । यस्तै 'मर्चवारदेखि मुस्ताङ्गसम्म' भन्ने सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्ने वेथरी, मैनहिया, हर्नैया, दयानगर- छपिया, वनघुसरी थाना हुँदै मानपकडी सूर्यपूराको सडकलाई दुवैतिर नाली बनाई कालोपत्रे बनाइने, पत्थरडाँडादेखि टिकुलीगढ हुँदै पश्चिम अमुवा बजार तथा वनघुसरीसम्मको सडकलाई स्तरोन्नति गरी दुवैतिर नालीसहितको कालोपत्रे गरिने लेखिएको छ । संकल्पपत्रमा बुटवल भैरहवा सुनौली राजमार्गमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने जनाइएको छ ।

बेलहियामा निर्माणाधीन 'एकीकृत भन्सार प्रणाली' तत्काल निर्माण प्रारम्भ, सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक क्षेत्रमा विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नितिगत निर्णयहरु गर्ने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाइने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु थप गरिने संकल्पपत्रले समेटेको छ । भैरहवामा रहेको सिद्धार्थ क्रीकेट रंगशालालाई अन्तर्राष्ट्रिय खेल सन्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भिम अस्पतालको स्तरवृद्धी गर्ने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मावि, सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नती र प्राविधिक विषयमा थप कार्यक्रम संचालन गर्न विशेष पहल गरिने उल्लेख छ ।

यस क्षेत्रलाई कलाकारिताको केन्द्र बनाउन सङ्गीत एकेडेमीको निर्माण,डण्डा खोलामा कोरिडोर निर्माण, भैरहवामा लुम्बिनी प्रदेश कै सबैभन्दा ठूलो 'अन्न भण्डारण गृह' निर्माण गरिने संकल्पपत्रमा उल्लेख छ । कार्यक्रमलाइ सम्बोधन गर्दै ५ दलिय गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य उम्मेद्वार समेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले बिकासका धारणामा ठूलो रुपान्तरण भइ रहेको बताए । उनले भौतिक पुर्वाधारका साथै मानविय र सामाजिक बिकासलाई पनि चुनावी संकल्पपत्रले समेटेको बताए । उनले संकल्पपत्र रुपन्देहीको बृहत्तर विकासको लागि भएको बताए ।

अहिले ठूलो अस्पतालले मध्यमवर्गीय परिवारलाइ गरीबीको रेखामुनी धकेलिरहेको खाणले जिकिर गर्दै बिपन्न नागरिकको उपचारको लागि अस्पतालहरुमा निर्धारण गरिएको निशुल्क उपचारको कोटालाइ प्रभावकारी ढंगले लागू गर्न जोड दिइने जानकारी दिए । उनले रुपन्देही नै आफ्नो राजनितिको केन्द्र भएको बताउदै रुपन्देहीको बिकासमा लागि रहने प्रतिवद्दत जनाए ।भैरहवालाइ अन्तर्राष्ट्रिय बिमानस्थलको साथै अन्तर्राष्ट्रिय स्तरको नगर बनाउने प्रतिवद्दता जनाउदै उनले यसको लागि सिद्धार्थ चक्रपथको अवधारणा अघि सारेको जनाए ।

उनले ब्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नआएकोले देखिने गरि जनताको अवस्थामा परिवर्तनमा ल्याउने उद्देश्यका साथ आफुले उम्मेदवारी दिएको उहाले बताए ।

जनमुक्तिका मोजिबको समर्थन खाँणलाई

संकल्पपत्र सार्वजनिक कार्यक्रममै राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि सभाका उम्मेदवार मोजिब अलिले ५ दलिय गठबन्धनका उम्मेद्वार बालकृष्ण खाणलाइ समर्थन गरेका छन । "उहाको जीत नै मेरो जीत हुनेछ " भन्दै अलिले खाणलाइ समर्थन गरि आफू मौन बस्ने जनाए

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा