ताजा अपडेट »

पाल्पाको सत्यवती तालमा चहलपहल बढ्यो, मेलाको तयारी अन्तिम चरणमा

आइतबार, १३ कार्तिक २०७९, ०९ : ३२
18 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा धार्मिक मेलाका लागि चहलपहल सुरु भएको छ । हरेक वर्षको कात्र्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेलाका लागि तयारी अन्तिम चरणमा पुगेको छ । यो वर्ष कात्र्तिक २२ गते परेको पूर्णिमाका लागि १८ गतेदेखि नै मेला शुभारम्भ गरिने सत्यवती ताल व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिए ।

सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातको समयमा मन्दिरमा पूजा गर्नुअघि ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन अझै पनि रहेको स्थानीय बासीको भनाई छ । कार्तिक १८ गतेदेखि सुरु हुने धार्मिक मेलामा १ लाख ५० हजार बढी भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको व्यवस्थापन समितिका अध्यक्ष गाहाले बताए । यसैगरी मेलामा मन्दिरको दानपेटीकामा मात्रै ६ लाख बढी आर्थिक संकलन हुने तथा मेला अवधिभर ५ हजार बढीले स्वरोजगार हुने अवसर प्राप्त गर्ने आयोजकको अपेक्षा छ । मेलास्थलमा व्यवस्थित पार्किङसहित १५० बढी स्टल राखिने व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतबाट समेत आउने गर्दछन् । पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही तथा नेपालका सीमाक्षेत्र गोरखपुर, सुनौली, विहारलगायतका स्थानबाट समेत भक्तजन आउने गर्दछन् । धार्मिक मेलाको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयम् सेवकहरुको व्यवस्था गरिने भएको छ । विभिन्न सुरक्षा निकायहरुबाट ३ दर्जन बढी जनशक्तिको माग रिएको छ भने मन्दिर व्यवस्थापन समितिले थप एक दर्जन सुरक्षा स्वयम् सेवकको व्यवस्था गरिने अध्यक्ष गाहाले जानकारी दिए ।

हरियाली जँगलको बीचमा रहेको सत्यवती तालमा बोका, परेवा लगायतका पशु तथा पंक्षीको भाकलसहित पूजा गर्न भक्तजनहरु पुग्ने गर्दछन् । सत्यवती मन्दिरमा जान पाल्पा बुटबल सडकको झुस्सा र चौवीसमाइल भन्ने स्थानबाट पैदल दुई घन्टा यात्रापछि पुग्न सकिने स्थानीय बासिन्दा बताउँछन् । मेला अवधिमा सम्भावित दुर्घटना न्यूनिकरणका लागि प्राथमिक उपचार कक्षको व्यवस्था गरिने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।