ताजा अपडेट »

भैरहवामा १० दिने सांस्कृतिक मेला हुने 

शनिबार, १२ कार्तिक २०७९, १८ : ५६
6 Shares

भैरहवा । लायन्स क्लब अफ लिगेसीको आयोजनामा कार्तिक १७ गते देखि भैरहवामा १० दिने “प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९” आयोजना हुदैछ ।  स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका कलाकारहरुको सहभागीता रहने मेलामा डान्स आईडल प्रतियोगिता समेत आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।

भैरहवाको हनुमान मन्दिरमा कार्तिक १७ गते देखी २७ गते सम्म आयोजना हुने मेलामा ब्यवसायीक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुरेण्ट गरि ५० बढी स्टलहरु रहने आयोजक संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए ।  कार्यक्रममा स्थानिय कलाकारस संगै राष्ट्रिय रुपमा ख्याती कमाएका ज्योती मगर, प्रिति आले, हेमन्त शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, कर्णराज गिरी, प्रिति पासवान बबिता धिताल लगायतले पनि प्रस्तुति दिने उपाध्यायले जानकारी दिए । यस्तै भारतका कलाकार रितेश पाण्डे, समर सिंह, शिल्पीराज लगायत पनि मेलामा आउने उनले बताए ।

सामाजिक रुपमा काम गरिरहेको लायन्स क्लब अफ लिगेसीले सेवाको उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिए । २५ लाख खर्च अनुमान गरिएको कार्यक्रमबाट जोगिएको रकमबाट अपाङ्ग, बालबालिका तथा अनाथ क्षेत्रमा काम गर्ने संघसंस्थालाई सहयोग गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक राजन शुक्लले बताए । उनले डान्स आईडलमा प्रथम हुनेलाई ३० हजार ५ सय ५५ रुपैया, द्वितिय हुनेलाई १५ हजार ५ सय ५५, तृतियलाई १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपैयाको सान्त्वाना पुरस्कार प्रदान गर्ने जानकारी दिए । 

यस्तै मेलाको अन्तिम २ दिन कुस्ती प्रतियोगिताको पनि आयोजना गर्ने उनले बताए । कार्यक्रमको प्रवेश शुल्क बिद्यार्थीका लागि ५० रुपैया र अन्यको लागि ७० रुपैया तोकिएको छ । कोभिडको मारका कारण लामो समय देखि मनोरन्जात्मक कार्यक्रम नभएको अवश्थामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको प्रस्तुतिले यस क्षेत्रमा मनोरन्जन दिने उद्देश्य पनि रहेको लायन्स ईन्टरनेशनल ३२५ पी का कोषाध्यक्ष बिनोद खरेलले बताए । 

“मेरो क्लब बलियो क्लब” भन्ने नारा सहित भर्खर स्थापना भएको लायन्स क्लब अफ लिगेसीले आयोजना गर्न लागेको मेलाको प्रयास सराहनिय रहेको लायन्स ईन्टरनेशनल ३२५ पी का एरिया चिफ संगम न्यौपानेले बताए । उनले सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको क्लबले आगामी दिनमा पनि रचनात्मक कार्य गर्न सुझाव दिए । कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनको सञ्चालन क्लबका सचिव नारायण कोईराला र स्वागत उमाशंकर पाठकले गरेका थिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा