ताजा अपडेट »

बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

शुक्रबार, ११ कार्तिक २०७९, २० : ००
8 Shares

तनहुँ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारी साधनलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारी साधनलाई रोकेर कारबाही गरेको हो । 

दमौलीको भोर्लेटार चोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव बिष्टले जानकारी दिए ।

पोखराबाट विभिन्न स्थानका लागि छुटेका सवारी साधनलाई रोकी कति भाडा लिएको छ भनी यात्रुसँग सोध्दा बढी भाडा लिएको बताएपछि तोकिएको भाडाभन्दा बढी रकम फिर्ता गर्न लगाइएको उनले  बताए ।

उनका अनुसार रु दुई सयदेखि रु चार हजार दुई सय तीससम्म एउटा गाडीबाट रकम फिर्ता गराइएको उनले जानकारी दिए । यात्रुसँग बढी भाडा लिने सवारीसाधनलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था रहेको छ । 

यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम बढी भाडा लिने सवारी साधनलाई कारबाही स्वरुप जरिवाना गरिनेछ । उनले भने, “अहिले चौबिस घण्टे पुर्जी दिएर यात्रुलाई गन्तव्यस्थलसम्म पुर्याउन पठाएको छौँ, कार्यालयमा आएर उनीहरूले जरिवाना बुझाउनुपर्छ ।”  

यात्रुसँग बढी भाडा लिएर गाडी चलाएको व्यापक जनगुनासा आएपछि घटनास्थलमा प्रहरी खटाएर सवारी साधन चेकजाँच कार्य थालिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । चाडपर्वको समयमा यात्रु नठगिउन् तथा दुःख नपाउन् भनेर जिल्लाको मुख्य बजार क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरेको उनले बताए ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।