ताजा अपडेट »

तनहुँमा जिपलाइन र स्काइ रोप साइक्लिङ

विहीबार, १० कार्तिक २०७९, १६ : ५१
6 Shares

तनहुँ  । तनहुँ जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो ।

सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको हो । जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ रोप साइक्लिङ कात्तिक महिनाभित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । उनले भने, “मादी नदी वारपार गर्ने गरी पाँच सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुटारसम्म पुग्ने व्यवस्था गरिएको छ ।” उनका अनुसार ९० फिट हाइटमा एक सय मिटरको स्काइ रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।
 
जिपलाइनका लागि रु एक हजार पाँच सय र स्काइ रोप साइक्लिङ (दुईतर्फी)का लागि रु एक हजार शुल्क तोकिएको छ । रिसोर्टले जिपलाइन र स्काइ रोप साइक्लिङका लागि मात्र रु एक करोड २५ लाख बजेट छुट्याएको सापकोटाले बताए । रिसोर्ट दमौलीबाट पाँच किलोमिटर उत्तर परेवाडाँडामा अवस्थित छ । दश रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल चार रोपनीमा संरचना बनेका छन् । यस्तै आगामी दुई वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्कलगायतका संरचनासमेत थप्ने योजना रहेको सापकोटाले बताए ।

यसबाहेक रिसोर्टमा जाइन्ट स्विङसमेत सञ्चालनमा रहेको छ । उक्त स्विङ दुई वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको छ । उनका अनुसार ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् । नयाँ साहसिक पूर्वाधार थप भएपछि यहाँ पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ । दमौली बजारबाट बागभञ्ज्याङ, बैरेनी, दुम्सी हुँदै परेवाडाँडा पुग्न सकिन्छ । लमजुङको मध्यनेपाल, भोर्लेटार, भोटेओडारलगायतका ठाउँ जाने मार्ग पनि यही हो । यसले गर्दा पनि यो ठाउँमा पर्यटकको चहलपहल हुने विश्वास गरिएको सापकोटाले बताए । 

यही ठाउँमा परेवाको मूर्ति निर्माण गरिएको छ । उक्त ठाउँमा बिदा र शनिबारको दिन आन्तरिक पर्यटक टिकटक बनाउन, फोटो खिच्न आउने गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।