ताजा अपडेट »

तीन दिनसम्म मुलुकभर वर्षा र हिमपात

विहीबार, २४ माघ २०७५, ०५ : ५५
2 Shares

माघ २४,

काठमाण्डौं । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ ।

जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

महाशाखाका मौसमविद् बरुण पौडेल मौसमको यो प्रणालीले पश्चिममा हिजो दिउँसोदेखि नै प्रभाव पारेको र आज बिहान काठमाडौँसम्म आइपुगेको जानकारी दिँदै भने, “ अहिले काठमाडौँ पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ ।” यो क्रम पूर्वतिर सरिरहेको र पूर्वतिर आज पानी पर्ने जानकारी गराउँदै उनले यो अवस्था तीन दिनसम्म कायम रहनसक्ने बताए ।

हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ । “बादलको प्रकृति हेर्दा पश्चिमी हिमाली क्षेत्रमा आज बिहानैदेखि हिमपात भएको हुनुपर्छ, शुक्रबार काठमाडौँ आसपासका अग्ला भूभाग फुल्चोकी, दामन, चन्द्रगिरिलगायत स्थानमा पनि हल्का हिमपात हुने देखिन्छ”, मौसमविद् पौडेलले भने ।

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौँ पूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए । “पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छ”, मौसमविद् पौडेलले भने । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।