ताजा अपडेट »

५० लाखको खानेतेल चोरी गर्ने ४ जना सार्वजनिक

आइतबार, ०६ कार्तिक २०७९, २२ : ४१
19 Shares

बारा ।  ५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्जको पथलैया औद्योगिक करिडोर अन्तर्गत मनोकामना आयल फुड प्रोसेसिङ प्रालिमा उत्पादित खाने सम्बन्धित ठाउँमा नपुर्‍याई बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजनिक गरेको हो । 

उद्योगले वीरगञ्जको अञ्जनी क्यारियर्समार्फत सिन्धुलीका कमलामाई नगरपालिकामा रहेको रोबिन सप्लायर्स लैजान प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोड गरेर पठाएको थियो । तर १ लिटरका १४ हजार ५६० र आधार लिटरको ५ हजार ९१५ पोका तेल ट्रकमा लोड गरेर पठाइए पनि तेल सिन्धुली पुगेको थिएन । 

सिन्धुलीमा दुई दिनसम्म तेल नपुगेपछि उद्योगले खोजी गरिदिन भन्दै असोज ३० गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको थियो । उजुरी गरेको ५ दिनपछि बारा प्रहरीले ४ जनासहित ट्रक र केही परिमाणमा तेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । 

ट्रक चालक नुवाकोटको शिवपुरी गाउँपालिका १ घर भई काठमाडौं बस्ने ४३ वर्षका सुकमान तामाङ कल ट्रेसमार्फत् कात्तिक ४ गते पक्राउ परेका हुन् । तामाङले दिएको बयानका आधारमा घटनामा संलग्न अन्य ३ जनालाई पक्राउ परेका हन्। बोगटीले ट्रक चालक तामाङले सिन्धुली पुर्‍याउनुपर्ने तेल बाटोबाटै कुरा मिलाएर रौतहटको गौर नगरपालिका १ रमेश कुमारको घरमा तेल भण्डारण गरेको भेटिएको पनि जानकारी दिए । 

प्रहरीले भण्डारण गरेको घरबाट ट्रकमा लोड गरिएको भन्दा कम ३ हजार १ सय १७ लिटर मात्रै तेल फेला पारेको छ। बाँकी तेल उनीहरुले बिक्री गरिसकेको प्रहरीले अनुमान गरेको छ । प्रहरीले रमेशका साथै रौतहटकै वृन्दावन नगरपालिका ६ हर्साहाका ३८ वर्षीय शेष कलाम र सोही गाउँपालिका ८ का ४७ वर्षका वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने उनीलाई थप कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।- न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।