ताजा अपडेट »

यी हुन् रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रको मतगणना स्थल

विहीबार, ०३ कार्तिक २०७९, १७ : १४
18 Shares

भैरहवा । २०७४ सालमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मतगणना जिल्लाको सदरमुकाम भैरहवामै २ स्थानमा गरिए पनि यस पटक ५ वटै क्षेत्रमा मतगणना हुने भएको छ ।

यसको लागि प्रत्येक निर्वाचन क्षेत्रका सबै दृष्टिले उपयुक्त देखिएको स्थानहरुमा मतगणना स्थल समेत तोकिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत शोभाकर खरेलका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को लागि देवदह नगरपालिकाको शितलनगरमा रहेको देवदह बहुमुखी क्याम्पसलाई मतगणना स्थल तोकिएको छ । क्षेत्र नम्बर २ को लागि बुटवल उप–महानगर पालिकाको कार्यालय, क्षेत्र नम्बर ३ को लागि भैरहवा नमूना माध्यमिक बिद्यालयलाई मतगणना स्थल तोकिएको छ । यस्तै क्षेत्र नम्बर ४ को लागि कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र क्षेत्र नम्बर ५ को लागि गैडहवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयलाई तोकिएको सहायक निर्वाचन अधिकृत खरेलले जानकारी दिए ।

मतगणनामा सहजता ल्याउन अहिले ५ वटै निर्वाचन क्षेत्रमा गणनाको ब्यवस्था गरिएको मूख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले बताए । “एउटै क्षेत्रका मतगणनाको लागि करिब ६ वटा कोठा चाहिन्छ ।” उनले भने “सदरमुकाम ल्याउदा चाप बढने कारणले पनि सम्बन्धित निर्वाचन क्षेत्रमै मतगणनाको ब्यवस्था मिलाईएको छ ।”

उनले मतपेटिकको संख्या धेरै हुने र प्रतिनिधि सभा तथा प्रदेश सभाको अलग अलग गणना हुने ब्यवस्था मिलाईएको बताउनु भयो । कम्तिमा ३ वटा कोठा मतपेटिका राख्न, एक कोठामा प्रतिनिधि सभा, एउटामा प्रदेश सभा १ र अर्कोमा प्रदेश सभा २ गरि कम्तिमा पनि ६ कोठा आवश्यक रहेको उनको भनाई छ । “मतगणना स्थल छनौट गर्दा सबैको राय सुझावमा र सबै भन्दा सुरक्षित स्थानमा हुने गरि गरेका छौं ।” उनले भने “अब अन्य ब्यवस्थापनको लागि सम्बन्धित स्थानिय तहहरुलाई पत्राचार गरि आग्रह गर्नेछौं ।”

मूख्य निर्वाचन अधिकृतको कार्यालय भैरहवामा बिहिबार बिहान बसेको उम्मेदवार, राजनैतिक दल, पत्रकार, सुरक्षाकर्मि लगायतले आचारसंहिताको पालनको बारेमा पनि छलफल गरेको थियो । रुपन्देहीमा निर्वाचन प्रचार प्रसारका क्रममा हुन सक्ने आचारसंहिता उल्लंघनलाई लिएर मूख्य निर्वाचन अधिकृतको कार्यालयले सबैलाई सचेत गराएको छ । बिशेष गरि भारतीय गाडीको प्रयोग र उम्मेदवारले प्रयोग गर्ने सवारीको बिषयलाई लिएर सर्तकता अपनाउन आग्रह गरिएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन पछि पनि निर्वाचन आयोगले कार्यवाही गर्न सक्ने बताए । उनले अहिले आचारसंहिता उल्लंघन गर्नेहरु बारे बिधिवत रुपमा लिखित उजुरी दिन पनि सम्बन्धितलाई आग्रह गरे ।

गृहमन्त्रीले सुरक्षाकर्मि परिचालन गरि प्रचार प्रसार गरेको गुनासो बारे बोल्दै प्रजिअ पाण्डेले ब्यक्तिलाई नभई पदलाई नियमानुसार सुरक्षा प्रदान गरेको बताए । “उहा उम्मेदवार मात्र नभई देशको गृहमन्त्री पनि हो, गृहमन्त्रीलाई नियमानुसार सुरक्षा दिनुपर्ने हुन्छ ।” पाण्डेले भने “अहिले उहाँ उम्मदेवार भएर निजि सवारीमा हिडिरहनुभएको छ । हामी गृहमन्त्रीलाई सुरक्षा दिइ रहेका छौं ।”

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा