ताजा अपडेट »

भैरहवामा अदालतको आदेशको अपहेलना, 'स्टे अर्डर' लिएर भौतारिदै पीडित

मंगलबार, ०१ कार्तिक २०७९, १६ : ५६
85 Shares

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर १० बस्ने हरि शंकर मिश्र आफूले हकभोग गरि आएको जग्गामा सामुहिक निर्णय भन्दै जबरजस्ती छठ पोखरी बनाउने कार्य रोक्नको लागि हार गुहार लगाएका छन् । अदालतको स्टे अर्डर लिएर नगरपालिकादेखि प्रहरी प्रशासनसम्म धाउदा पनि सुनुवाई नभएको मिश्रको गुनासो छ । अन्तिम निकाय अदालत नै रहेको र अदालतको आदेश पनि बिपक्षीले नमानेपछि मिश्रले सास्ती खेप्नु परिरहेको छ । कार्यान्वयन निकायमा पटक–पटक धाउदा पनि आफ्नो जग्गामा निर्माण कार्य नरोकिएको उनको गुनासो छ ।

हरि शंकर मिश्रका बाबु बाजेले साविक भुजौली गाविस वडा नम्बर ७ ख हाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० अन्र्तगतको कित्ता नम्बर ५४४ र ५४५ को जग्गा हकभोग गर्दै आएका थिए । जोतभोग गरे पनि उक्त जग्गा आफ्नो नाममा दर्ता हुन छुट भएकोले छुट कित्ता दर्ताको लागि प्रक्रियामा रहेको उनले बताए । पुनरावेदन अदालतमा मुद्दा बिचाराधिन अवश्थामा रहेको छ । अदालतमा मुद्दा बिचाराधिक रहेकै अवश्थामा वडा अध्यक्ष सुर्जमन अहिरको सहभागीतामा उक्त जग्गामा जबरजस्ती छठ पोखरी निर्माण गरिरहेको मिश्रले गुनासो गरे ।

सिद्धार्थनगर नगर पालिकाको कार्यालयलाइ बिपक्षी बनाएर उनले पुनरावेदन अदालतमा निषेद्याज्ञा उत्प्रेषणको मुद्दा दायर गरेका थिए । सो बमोजिम पुनरावेन अदालतको बुटवल ईजलाशले असोज २६ गते अदालतमा बिचाराधिन अवश्थामा रहेको जग्गामा निर्माण कार्य नगर्नु नगराउनु भन्दै निषेद्याज्ञा उत्प्रेषण परमादेश जारी गरेको थियो । मिश्रले आफुले सो कागज बिपक्षी वडा अध्यक्ष समेतलाई देखाउदा पनि काम नरोकेको गुनासो गरे ।

काम नारोकिएपछि उनि पुनः अदालतको शरणमा पुगे । असोज ३१ गते पुनः पुनरावेदन अदालतले २६ गतेको अन्तरिक आदेशलाई निरन्तरता दिई निर्माण काम रोक्न आदेश गरेको थियो । तर बिपक्षीले फेरी पनि सो काम नरोकी निर्माण कार्य जारी राखेको उनको भनाई छ ।

यता दोगहरीका स्थानीयहरुले सो जग्गा हरिशंकर मिश्रको नभई सार्वजनिक रहेको दावी गरेका छन् । स्थानीयहरुले अदालतको आदेश आउँदैमा सार्वजनिक प्रयोगमा रहेको जग्गामा निर्माण काम नरोक्ने बताएका छन् । स्थानीय रामभवन कोईरीले उत्त जग्गा सुरुदेखी नै पोखरी र पर्तिको रुपमा रहेको बताए । “प्रमाण हेर्दा पनि यो जग्गा सार्वजनिक रहेको पाईन्छ, एक जनाले कसरी हकभोग गर्छ ।” कोइरीले भने “हामीले नगरपालिकाबाट पूर्व स्विकृति लिएर नै निर्माण कार्य गरिरहेका छौं, निर्माण रोक्दैनौं ।”

स्थानीयहरुले देखाएको प्रमाण अनुसार उक्त जग्गा पोखरी र पर्ति भएको उल्लेख छ । नापी कार्यालयको फिल्ड बुकमा कित्ता नम्बर ५४४ पोखरी र ५४५ पर्ति जग्गा लेखिएको छ । तर हरिशंकर मिश्रले उक्त जग्गा सार्वजनिक नभई २०११ सालदेखी नै आफ्ना पुर्खाहरुले हकभोग गर्दै आएकोले छुट कित्ता दर्ता गरि पाउ भन्दै मुद्दा लडिरहेका छन् । मुद्दाको किनारा नलाग्दासम्म उक्त जग्गा कोहीले पनि दाबी गर्न नपाउने तर्क गरेका छन् । उनले वडा नम्बर १० का वडा अध्यक्ष सुर्जमन अहिरको नेतृत्वमा उनकै कार्यकर्ताहरुले जबरजस्ती निर्माण गरेको आरोप लगाए ।

सिद्धार्थनगर नगर पालिका वडा नम्बर १० का वडा अध्यक्ष सुर्जमन अहिरले सार्वजनिक जग्गाको संरक्षण समेत हुने भएकोले नगरपालिकाको स्विकृतिमै छठ पोखरी निर्माण गर्न लागिएको बताए । “स्टे अर्डर लगायत कुनै पनि आधिकारीक पत्र मसंग अहिले सम्म आएको छैन ।” अहिरले भने “मलाई कुनै पनि जानकारी नआएकोले मैले गाउँलेलाई काम गर्नुस पनि भनेको छैन, नगर्नुस भनेर पनि भनेको छैन ।”

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा