ताजा अपडेट »

चोरी तस्करी नरोकिएको रुपन्देहीका व्यवसायीको गुनासो

सोमबार, ३१ असोज २०७९, २३ : ०१
6 Shares

रूपन्देही । खुला सिमानाको फाइदा उठाउँदै चोरी तस्करी बढ्दा समेत स्थानीय प्रशासनले नियन्त्रणमा पहल नगरेको भन्दै सीमा क्षेत्रका व्यवसायीले गुनासो गरेका छन् । आइतवार उद्योग व्यापार सङ्गठन, रूपन्देहीको १५औं वार्षिक साधारणसभामा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष ओमकार गौचनले खुलेआम चोरी तस्करी भइरहँदा पनि प्रहरी प्रशासनले नियन्त्रणमा पहल नै नगरेको बताए ।

गौचनले सीमापारि सुनौलीमा चाडपर्वका बेला करोडौंको व्यापार हुँदा सीमावारि नेपाली बजार भैरहवा क्षेत्रका व्यवसायी मारमा परेको बताए । यस्तै अवस्था रहे व्यवसाय बन्द हुने उनको भनाइ छ । ‘सीमापारिबाट जे सामान ल्याए पनि कुनै रोकतोक गरिँदैन । सीमावारि भैरहवाको व्यापार चौपट भएको छ,’ उनले भने, ‘अरू केही नगरे पनि भन्सारको सङ्क्षिप्त प्रज्ञापनपत्र भरेर मात्रै ल्याउने व्यवस्था गरौं ।’

कार्यक्रममा उद्योग व्यापार सङ्गठन रूपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले सीमावर्ती क्षेत्रमा प्रहरी प्रशासनले कडाइ नगर्ने हो भने भैरहवाका धेरै पसल बन्द गर्नुपर्ने बाध्यता रहेको बताए ।

भण्डारीले कानूनअनुसार सङ्क्षिप्त प्रज्ञापनपत्र नभरी सामान नेपाल ल्याउन नपाइने प्रणालीलाई लागू गर्न समेत माग गरे । जिल्लाका मर्चवार, केवटलिया, पीपरिहिया, भगवानपुर, चनौली बगाह, कालिदह, बगौंली, चन्नी, करौंता, थुमुहवा पीपरहवा, मुडुलालगायत नाकाबाट चोरी तस्करी गरेर दाल, तेल, चामललगायत सामान भित्रिरहेका छन् । भैरहवा मूल भन्सार नाका अगाडिबाट घरायसी सामान भन्दै दिनहुँ हजारौं मानिसले भन्सार नतिरी ल्याउने गरेको व्यवसायीको भनाइ छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।