ताजा अपडेट »

गाउँघरमा सुनिन छाड्यो नगराको धुन

शुक्रबार, २१ असोज २०७९, १४ : ३९
6 Shares


लमजुङ । दसैँका वेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन । दसैँ सुरु हुनासाथ गाउँघरमा डुमडुम आवाज सुनिन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्म घर-घरमा डुलेर नगरा लगाउने चलन थियो । 

बेसीसहर नगरपालिका– ५ का शमशेर थापाले यस वर्ष गाउँघरमा नगराको धुन सुन्न नपाएको बताए । उनलाई दसैँको वेला ‘नगराको धुन’ सुन्न नपाउँदा केही खल्लो महसुस भएको छ । उनले भने, ‘केही वर्षअघिसम्म घटस्थापना सुरु भएदेखि नै गाउँघरमा नगरा लगाउँथे । नहरा लगाउँदा दमाहाको धुनले दसैँ आएको आभाष गराउँथ्यो । अहिले त नगराको धुन सुन्नै पाइँदैन । दसैँ नै सुनसान भएको छ ।’

दसैँको वेला नगरा लगाएको घरमा सुखशान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । दसैँको वेलामा परियार समुदायका मान्छेले घरघरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय हराउँदै गएको हो । हिन्दू धर्मसंस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ । 

युवा पुस्ताले चासो नदिने र नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेरेका कारण यो प्रचलन बिस्तारै हराउँदै गएको बेसीसहर नगरपालिका–११ चितीका धनबहादुर परियारको अनुभव छ । ‘अहिलेका ठिटाहरू बाजा बजाउनै लाज मान्छन् । नगरा लगाउनेलाई समाजले खासै राम्रो पनि मान्दैन ।’
 
दमाहा बजाएर नगरा लगाउँदा दमाहाको धुनले सुतेकी देवी पनि ब्युँझने, प्रसन्न हुने र नगरा लगाएको घरमा सुखशान्ति, समृद्धि छाउने जनविश्वास छ । - न्युज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।