ताजा अपडेट »

भेरी नदीमा खतराको तह पार

शुक्रबार, २१ असोज २०७९, १४ : १७
15 Shares

सुर्खेत । निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ ।     

भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ । भेरी नदीमा ४।५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ । खतराको विन्दु भनेको पाँच मिटर हो । तर अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५।२३ मिटर पुगेको छ ।     

अहिले वर्षा भइरहेकाले आगामी ६ घण्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ । भेरीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायत बस्ती जोखिममा छन् ।

बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दसैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायत घटना हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।     

भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख विमल डाँगीले जानकारी दिनुभयो । नदी किनारामा रहेका निर्माण सामग्री सुरक्षित स्थानतर्फ लैजान थालिएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।