ताजा अपडेट »

बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो

शुक्रबार, २१ असोज २०७९, ०८ : ५२
8 Shares

बुटवल । निरन्तरको वर्षाले विभिन्न ठाउँमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ । यसैबीच सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–पाल्पा सडक आज विहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा नजिकै सडकमाथिबाट ढुङ्गा तथा गग्रेटोसहितको भेल बग्ने क्रम जारी रहेकोले सडक अवरुद्ध भएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार वर्षा नरोकिएका कारण सडक सफा गर्न नपाउँदा विहान करिब ५ बजेदेखि सडक अवरुद्ध भएको हो ।

सडक सुचारु गर्नका लागि बाटो सफा गर्ने डोजर तयारी अवस्थामा राखिएको भएपनि सडकमाथिकाट ढुङ्गा झर्न नरोकिएका कारण काम गर्न समस्या भएको प्रहरीले जनाएको छ । यसैगरी पुर्व–पश्चिम राजमार्ग अन्तरगत दाङको धानखोलामा विद्युत पोल ढलेर अवरुद्ध भएको छ । विहान करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । विद्युत पोल उठाएपछि मात्रै उक्त सडक सञ्चालनमा आउने बताइएको छ ।

यता गोरुसिङ्गे अर्घाखाँची सडक पहिरोका कारण अवरुद्ध भएको छ । उक्त सडक खण्डको घुम्ती र जगतमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी गुल्मी सदरमुकाम तमासदेखि विभिन्न गाउँ जोड्ने भित्रि सडक खण्डहरु हिजोदेखि नै अवरुद्ध रहेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।