ताजा अपडेट »

गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह

विहीबार, २० असोज २०७९, १६ : ४६
16 Shares

परासी । भारी वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । गण्डक व्यारेजमा ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिन्छ । अहिले गण्डक ब्यारेजमा तीन लाख ४ सय क्यूसेक पानी बगिरहेको जनाइएको छ । त्यसैले बाढीको उच्च जोखिम बढेको गण्डक ब्यारेजका अमित खड्काले बताए ।

पानीको बहाब बढेपछि बिहीबार बिहान १० बजे नै ब्यारेजको ३६ वटै ढोका खोलिएको छ । पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएकोले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको र जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाइएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । गण्डक व्यारेज संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ ।

नारायणी नदीमा बाढीको कारण क्षति पुग्नसक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको पानी पस्ने खतरा भएकाले सुरक्षा निकायले सुरक्षित स्थानमा बस्न माईकिङ गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।