ताजा अपडेट »

'कालिकामा कानूनी शिक्षा महोत्सव : नेपालमै पहिलो प्रयास'

शुक्रबार, २७ मंसिर २०७६, २० : ४९
4 Shares

रुपन्देहीको बुटवल उप-महानगरपालिका-११ कालिकानगरमा अवस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा शनिबार देशभरका कानून विषयमा अध्ययनरत कक्षा ११ र १२ का दुई सयजना बढी विद्यार्थीहरु भेला हुँदैछन् । विद्यालयले आयोजना गरेको ‘ल एजुकेशन फेस्टिवल–२०१९’ मा विद्यार्थी, कानून व्यवसायी तथा प्रध्यापकहरुको समेत सहभागिता रहने विद्यालयले जनाएको छ । यस विद्यालयले नेपालमै पहिलो पटक पमाणपत्र तहमा कानून विषयको अध्यापन सुरु गरेको हो । विद्यालयले वि.स. २०७३ सालदेखि कक्षा ११ मा कानून विषयमा अध्यापन सुरु गरेको थियो । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको यस कार्यक्रमको तयारी, उद्देश्य, आवश्यकता र महत्वबारे ग्लोबल आवाजका लागि विद्यालयका प्राचार्य घनश्याम पाठकसँग डि.बी. सुस्लिङले गरेको कुराकानी:

‘ल एजुकेशन फेस्टिवल’ कस्तो खालको फेस्टिवल हो ?
-यसप्रकारको कार्यक्रम हामीले नेपालमै पहिलो पटक आयोजना गर्न गइरहेका छौं । कानून विषय अध्ययन गर्ने विद्यार्थी तथा अविभावकहरुलाई समेत यसको महत्व, आवश्यकता र भविष्यबारे गहन छलफल र जानकारी गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कानून विषय अध्ययनरत विद्यार्थीहरुका समस्या, चूूनौती र अवसरहरुका बारेमा छलफल हुँदै छ । छलफलका लागि कानून व्यवसायी, अदालतका सरकारी वकिल तथा अधिवक्ताहरु, कानून विषय अध्यापन गराइरहेका प्रध्यापकहरुको सहभागिता हुँदै छ ।

कार्यक्रम आयोजनाका लागि के कस्तो तयारी तथा व्यवस्थापन हुँदै छ ?
-कार्यक्रमका लागि विभिन्न संघ संस्था तथा यस विद्यालयका भूपू विद्यार्थीहरुबाट समेत आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको नै मूख्य खर्च रहनेछ । सकेसम्म कम खर्चिलो बनाउने हाम्रो योजना हो । कम्तिमा पनि एक लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । सुर्खेतदेखि हेटौँडासम्मका कानून विषय अध्यापन हुने विद्यालयहरुबाट कम्तिमा पनि १०/१० जना विद्यार्थीहरु गरी २ सय जना बढी विद्यार्थीहरु सहभागी हुँदैछन् । उनीहरुलाई हाम्रो विद्यालयमा कानून विषय अध्ययन गरिरहेका एक सय ८० जना विद्यार्थीहरु हुनुहुन्छ उहाँहरुले प्रत्येकले एक/एक जना विद्यार्थीलाई बस्ने व्यवस्था गर्नुहुने छ । यसकारण खर्च कम हुनुका साथै विद्यार्थीहरुले एक-अर्काबीच परिचय र घुलमिल हुने अवसर पनि पाउने छन् ।

गहन र विशिष्ट विषयको छलफलका लागि एकदिनको अवधि छोटो भयो की ?
-कानूनी शिक्षा सबैका लागि नभै नहुने अपरिहार्य र अनिवार्य छ । यस विषयमा बुझ्न र बुझाउन धेरै बाँकी छ । हामीले यस विषयलाई बहसमा ल्याउनका लागि गरेको पहिलो प्रयास मात्र हो । विद्यालयको वार्षिक उत्सवको मिति पनि नजिकिँदै आएको हुँदा त्यस अन्तर्गत नै रहेर अन्य विभिन्न क्रियाकलापहरु पनि सञ्चालन गरेका छौं । छलफलका लागि समय प्रयाप्त नभएपनि यो सुरुवातले पक्कै पनि सकारात्मक सन्देश दिनेछ भन्ने हाम्रो विश्वास छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।