ताजा अपडेट »

सनातनधर्म-संस्कृति,दसैँ र बलि

बुधबार, १९ असोज २०७९, १२ : ३१
52 Shares


जब-जब सांस्कृतिक पर्व आउँछन्, तब-तब हाम्रो समाजमा अनौठो मिश्रित प्रतिक्रियाहरू तरङ्गित हुन थाल्दछन् । पर्वसँग मिसिएर आउने धेरैजसो विषय अन्धविश्वाससँग सम्बन्धितभएर उपस्थित हुने गरेको देखिन्छ । खासगरी बडा दसैँमा देवीलाई दिइने भनिएको बलिका विषयमा साह्रै धेरै बहस हुने गर्दछ ।

अन्य धर्मावलम्बीहरूका धर्म र संस्कृतिमा स्वयं उनीहरू र अरुले पनि त्यति बढी चासो लिएको देखिँदैन, टीकाटिप्पणी भएको पनि खासै सुनिँदैन, तर सनातन संस्कृतिको विषयमा बढी विवाद, टीका-टिप्पणी हुने गर्दछ । यस्तो हुनुका पछाडि के कारण छन् ? यसबारे सुविचारित अध्ययन र खोज हुन आवश्यक छ । हो, कुनै पनि परम्पराबाट आएका विषय वर्तमानसँग ठ्याक्कै मेल खाँदैनन्, तर अरुका विषयमा आलोचना, टिप्पणी नहुने तर सनातन माथि सधै टीका-टिप्पणी र प्रहार नै हुने किन होला ? यसो हुनुका पछडि दुई वटा मुख्य कारण देखिन्छ, पहिलो हो- यसलाई अपनाउने बढी यसबारे जान्ने कम हुनु र अर्को हो-सुनियोजित रूपमा यसलाई कमजोर पार्ने प्रयत्न हुनु ।

संस्कृति भनेको असल तरिकाले गरिँदै गरिएको र सम्पन्न गरिएको कामको परिणाम हो । ‘सम्’ भनेको सुन्दर र ‘कृति’ भनेको ‘बनाइएको’ भनिएको हो अर्थात् सुन्दर परिमार्जित कर्मको परिणति नै संस्कृति हो । यसलाई यसरी पनि अर्थाउन सकिन्छ- कुनै चीज बनाइएको वा उसलाई परिमार्जन गरिएको अवस्थालाई संस्कृति भनिएको हो । यो कुनै पनिव्यक्ति, राष्ट्र, समाज, समुदायको सर्वाङ्गीण प्रतिबिम्ब पनि हो । संस्कृति शिल्प (सीप), विचार, दर्शन आदिको परिष्कृत रूप हो । संस्कृति भनेको परापूर्व समयदेखि चलिआएको आचार-विचार आदिबाट विकसित हुँदै आएको यथार्थ हो ।

बलि भनेको समर्पण गर्नु हो । हिन्दु सनातन संस्कृतिमा बलिको परम्परा छ, तर यसबारे मतैक्यता छैन र प्रक्रियामा पनि एकरूपता छैन ।मूलतः वैष्णवहरू पशुहत्या गरी बलिदिने, मांसाहार गर्ने कुरामा सहमत हुँदैनन् अन्यहरू मासु खाने, रक्तबलि दिने र मासु खाने तर रक्तबलिनदिने छन् ।

इस्लाममा कुर्बानी शब्दको अर्थले जे दिन्छ, हिन्दूको बलि शब्दले पनि त्यही नै अर्थ दिन्छ । इस्लाममा पनि अल्लाहलाई अर्पण नगरी केही नखाएजस्तै हिन्दूहरूले पनि त्यसो गर्दैआएका मात्र हुन् । उनीहरू दिनदिनैको हलालीलाई समर्पण नै ठान्दछन् । त्यस्तै, ईसाई धर्ममा पनि निस्तार मनाउँदा पशुबलि दिने प्रावधान छ । समग्रमा के भन्न सकिन्छ भने बलि प्रथा हिन्दूबाहेकका धर्म र परम्परामा पनि रहेको पाइन्छ ।

बलि सनातन परम्परा हो । तर बलि भन्नासाथ मारेर रगत बगाएर नै दिनुपर्ने निर्विकल्प प्रावधान नभएपनि मानिसहरूको बुझाइमा बलि भनेको रगत बगाएर नै दिइन्छ भन्ने बुझाइ रहेको पाइन्छ । यथार्थमा श्वानबलि, काकबलि, गोबलि, पिप्पिलिकादि बलि शब्दको अर्थ कुकुर काटेर चढाउनु, काग काटेर चढाउनु, गाई काटेर चढाउनु, कीरा– कमिला काटेर चढाउनु भनिएको हो र ? अवश्यहोइन । कुकुर, काग, गाई, कीरा–कमिलाकालागि उनीहरूका रूची र अनुकूलका खाने वस्तु समर्पण गर्नु भनिएको हो र यमपञ्चक/तिहारका बेला र अन्य धर्मकर्मका दौरान् यसै गर्ने गरिन्छ ।

खाना खान बसेका बेलाअर्पण गरिने गासलाई पनि बल हाल्ने वा बलिचढाउने भन्ने पाइएको छ । बलिको अर्थ सम्मानका साथ भागदिनु भन्ने पनि लाग्दो रहेछ ।

तर, हिन्दु सनातनीहरूद्वारा परम्परादेखि देवीका नाममा पशु–पङ्क्षिहरूको वध गरेर बलिदिने चलन रहँदै आएको छ । अहिले केही वर्षदेखि यो विषयपशु–पङ्क्षीको अधिकारका नाममा हिन्दु सनातन परम्परामाथि सुनियोजित रूपमा प्रहार गर्ने गरी उठाइँदै आएको छ ।

भावुक हिसाबले भन्ने हो भने जीवहत्या राम्रो होइन, जीवरक्षा राम्रो हो । तर हिन्दुहरूद्वारा हुने जीवहत्या आपत्तीजनक मानिने र ईसाइवा अरू धर्मका जीवहत्या जायज मान्न सकिन्छ र ? बलि प्रथाका विषयमा राम्रो र जायज जस्ता लाग्ने विषय उठाएर सनातन हिन्दु संस्कृति विरूद्ध चलखेल गर्ने नियतका विरूद्ध सचेत हुनआवश्यक देखिन्छ । कमजोरी र चरबाट छिर्नेहरूबाट सतर्क रहँदै परम्परालाई विकसित र रूपान्तरित गर्न भने लाग्नै पर्दछ ।

अहिले बलिको विषय क्रिष्टियन कोणबाट बढी उठिरहेको छ । मूलतःगढीमाई मेलामा दिइने पशु बलि उनीहरूको पशुअधिकारको वकालतको केन्द्र बनेको छ । सुन्नमा आएअनुसार बेलायतीहरूले यस्तो बलि प्रथाका कारण आफ्ना नागरिकहरूलाई नेपाल यात्रा नगर्न उक्साइरहेका छन् । के अब बेलायती र अरु गैरहिन्दुहरू पशु–जीवहत्या विरोधी भएकै हुन् ? के उनीहरूको धर्ममा पशु–जीवहत्याको प्रावधाननै छैन ? उनीहरू मासु खाँदैनन् ? मासु खाँदा पशु–जीवको बाँच्ने अधिकार हनन् हुुँदैन ? हिन्दुलाई मात्र पशु–जीवहत्या पाप हुने अरूलाई नहुने हुन्छ ?

बलि भनेको हत्याहोइन, समर्पण हो । तर क्रिष्टियनहरूको पवित्र धर्मग्रन्थ बाइबलको ‘प्रस्थानको पुस्तक, प्रस्थान १२ निस्तार–चाडको स्थापना’मा यसो भनेको के हो : ‘मिश्रदेशमा परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, …महिनाको दसौँदिनमा तिमीहरू हरेकले आफ्नो–आफ्नो परिवारको निम्ति, हरेक घरानाअनुसार एक–एक पाठो ल्याएर राखोस् । कसैको घरानामा एउटा पाठाका लागि मानिस थोरै भए त्यसले आफ्नो घरका नजीकको छिमेकीसँग मानिसहरूको गन्तीअनुसार मिलोस् । हरेक मानिसको खुवाइअनुसार पाठोको गन्ती गर्नू । तिमीहरूको पाठो खोटरहित होस् । एक वर्षको पाठो,तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनू ।

त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राखून् र इस्रायलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून्। तब तिमीहरूले त्यसको रगतलिएर जुन–जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुई पट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन् । तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमीर नहालेको रोटीसित खाऊन् । तीतो सागसित तिनीहरूले त्यो खाऊन् । त्यो काँचै नखाओ ।पानीमा उमालेर पनि होइन, तर आगोमा पोलेर त्यसका शिर, खुट्टाहरू र भित्री भागहरू समेत खाओ । त्यसबाट केहीपनि बिहानसम्म नउबार्नू, तर केही बिहानसम्म रह्यो भने त्यो आगोमा जलाइदिनू ।

पटुका कसेर, खुट्टामा जुत्तालाएर, हातमा लहुरो लिएर र हतार–हतार गरी तिमीहरूले त्यो खानू । यो परमप्रभुको निस्तार–चाड हो । ... (पवित्रबाइबल, प्रस्थान १२,निस्तार–चाडको स्थापना, पृ. ९४) जुनधर्ममा यस्ता अनेकौँ प्रथा रहेको छ, तिनै क्रिष्टियनहरू हिन्दु संस्कृतिको कतै रहेको जनताको परम्परालाई आधार बनाएर सिङ्गो नेपाललाई दुत्कार्छन् । हामी तिनीहरूभित्र विज्ञान र आफ्ना संस्कृतिमा मात्र अज्ञान देख्दछौँ । यो त एउटा सानो उदाहरण मात्रहो । यस्ता अनेकौँ परम्परा क्रिष्टियनहरूमा रहेका छन् ।

इस्लाममा त ईद् ऊल् अजहा(बकर् ईद)छँदैछ ।अल्लाहको नाम उच्चारण नगरिएका/समर्पण नगरिएका जनावर(मासु) नखान नै भनिएको छ । भनिएको छ : जुनजनावरमाथि अल्लाहको नाम उच्चारण गरिएको छैन त्यो नखाऊ; यसो गर्दा अवज्ञा हुनेछ …(कुरानमजीद, आठौं खण्ड, सूरह ६ अल्–अन्आम, १२१, पृ. २२७)

नवरात्रीका नौवटी देवीहरूको समूहका ‘नवदुर्गा’मध्ये आठौं देवी ‘कालरात्री’बाहेक कसैलाई पनि बलि दिने प्रावधान देखिंदैन । ‘हिन्दूधर्म’का मुख्य देवहरू ब्रह्मा, विष्णु, शिव, गणेश, सूर्य आदिलाई पनि रक्तबलिको प्रावधान कतै छैन । यस्तो किन होला भन्नेतिर ध्यानै नदिई अनावश्यक टिप्पणी गरेर सनातन संस्कृति, सनातनधर्म, सनातन परम्पराको खिल्ली उडाउने काम भयो । इस्लाम, क्रिश्चियन आदि धर्ममा प्रचलित बलिप्रथाबारे सामान्य जानकारी समेत नराखेको देखियो ।

मासु खाने र बलि दिने कुरालाई एकै ठाउँमा राखेर बोलेको पनि सुनियो । खाने कुरा खाद्य चेतनासँग सम्बन्धित हो । मासु खाने र नखाने दुवैका विषयमा स्वास्थ्यविज्ञानमा धेरै कुरा उल्लेख छ । खानै नहुने अवस्था र खानैपर्ने वा त्यसका विकल्पमा अन्य कुनै वस्तु खाने विषय स्वास्थ्य विज्ञानमा पढ्न पाइन्छ, बुझ्न सकिन्छ । बलि भनेको परम्पराको नाममा चलिआएको अन्धविश्वास हो । मासु खाने कुरालाई बलिसँग जोड्न हुँदैन । तर मासु खाने कुराको वकालत र पशुहत्याको विरोधको कुरा सुहाउने कुरा होइन । चाहे खानका लागि होस् वा देवीदेउता खुसी पार्न, हत्या त हत्या नै हो । मानिस केमा स्पष्ट हुनप¥यो भने विरोध पशुहत्याको हो कि पशुबलिको ? पशु अधिकारको कुरा हो भने मासु खान भएन, बलिप्रथाको विरोध हो भने कुनै धर्मविशेषलाई दोष लगाउन भएन ।

एकातिर यस्तो छ भने अर्कोतिर दसैँलाई मासु खाने पर्वको रूपमा बुझ्नेहरूको सङ्ख्या पनि ठूलो छ । नवदुर्गाको महाअष्टमीको राति कालरात्री भनेर कालो बोकाको बलि दिने प्रचलन रहेको छ । पञ्चबलि (पाँच प्रकारका पशुहरूको बलि) दिने चलन पनि छ । पशुको बलि देवीका नाममा दिए पनि भक्षण गर्ने मानिस नै हुन् । उखान नै प्रचलित छ ‘ढुङ्गो रातो, पेट तातो ।’ यसरी मानिसले आफ्नो सुविधाको लागि गरेका क्रियाकलापसँग देवीदेवताको नामजोडिदिने गरेका उदाहरणहरू अरु पनि धेरै छन् ।

प्राणीहत्या जेसुकै नाममाभए पनि डरदाग्दो र भद्दा देखिन्छ । देवीका नाममा दिइने रक्तबलि पनि कहाली लाग्दो र डरलाग्दो हुन्छ । देवी–देवताको नाममा प्राणीहत्या गरेर रगताम्मे पार्नु अझ अनौठो र आश्चर्यजनक छ । मासु खानेहरूले मात्र पशुबलि दिने गरिएको सन्दर्भले अलिक फरक विषयतर्फ सङ्केत गर्दछन् ।

अझ एकै ठाउँमा ठूलो सङ्ख्यामा निरपराध पशुहरूको हत्या गरेर गरिने पूजा परम्परा हो, तर सभ्य काम होइन ।
परम्परा वा चलनचल्तीभन्दा थोरै अघि बढेर हेर्ने हो भने बलिका विषयमा फरक तर्क र तथ्य भेटिन्छन् । अमरकोषमा बलिसमेतका सन्दर्भमा यस्तो लेखिएको छ :

पाठो होमश्चातिथिनां सपर्या तर्पणं बलिः । एते पञ्च महायज्ञा ब्रह्मयज्ञादिनामका : ।।
अर्थात् पाठ (पढ्ने काम), होम (हवन), अतिथि सपर्या (अतिथिको सेवा—सत्कार गर्ने काम) तर्पण (तृप्त हुन् भन्ने कामनासहित जलार्पण गर्ने काम) र बलि (समर्पण गर्ने) कामहरू नै ब्रह्मयज्ञ आदि नाम गरिएका महायज्ञ हुन् । (अमरकोषः, द्वितीय काण्ड, श्लोक सङ्ख्या ः १४)
भागधेयः करो बलिः । भाग लगाएर दिइने या दिनुपर्ने, कर(ट्याक्स), बलि यी तीन पनि बलि कै नाम हुन् । (अमरकोषः, द्वितीय काण्ड, श्लोक सङ्ख्या : २७)
करोपहारयोः पुंसि बलिः प्राण्यङ्गजे स्त्रियाम् । कर, उपहार, बलि नाम गरेका राजा, बुढ्यौलीका कारण देखिने चाउरीपनलाई पनि बलि नै भनिन्छ । (अमरकोष, तृतीय काण्ड, श्लोक सङ्ख्या : १९४)

यी यज्ञहरूका बारेमा मनुस्मृतिमा भनिएको छ :
अध्यापनं ब्रह्मयज्ञः, पितृयज्ञस्तु तर्पणम् । होमो दैवो बलिर्भौतो नृयज्ञोक्तिथिपूजनम् ।।
पढाउनु ब्रह्मयज्ञ हो । तर्पण पितृयज्ञ हो । होम देवयज्ञ हो । (यसमादिशा, आकास आदिको शुद्धिका लागि हवनादि गरिन्छ ।) बलि भनेको भूतयज्ञ अन्तर्गत हो । (भूतयज्ञ भनेको विभिन्नजीवहरू- कमिला, कीरा, सर्प आदि, पक्षीहरू— काग आदि, पशु— गाई, कुकुर आदिलाई खुवाउनु र तृप्त पार्नु हो ।

भूतयज्ञ अन्तर्गत ‘पिप्पिलिकादि बलि’भनेको पाइन्छ । ‘पिप्पिलिकादि ’ भनेको साना कीरा फट्याङ्ग्रा आदि हुन् । यिनीहरूलाई खुवाउनु पनि यज्ञ नै हो । यस्तो प्रावधान देख्दा शास्त्र निर्माता हाम्रा पुर्खाले यिनीहरूको जीवन पनि वातावरणीय दृष्टिले महत्वपूर्ण रहेको हुन्छ भन्ने ठम्याइसकेका रहेछन् भन्ने बुझ्न सघाएको छ ।) नृयज्ञ भनेको घरमा आएका अतिथिको (भात भान्सा आदिको माध्यमबाट गरिने) सत्कार हो ।

यसरी यज्ञहरूलाई ब्रह्मयज्ञ, पितृयज्ञ, देवयज्ञ, भूतयज्ञ र नृयज्ञ गरी पाँचभागमा बाँडिएको छ । भूतयज्ञ भनेको पशु—पक्षीहरूकालागि लक्षित गरिएको छ । यसअन्तर्गत काकबलि (कागलाई सन्तुष्टपार्ने), श्वानबलि (कुकुरलाई सन्तुष्टपार्ने), गोबलि (गाईलाई तृप्तपार्ने), पिप्पिलिकादि बलि (ससाना किरा फट्याङ्ग्रा आदिलाई सन्तुष्टपार्ने) भन्ने स्पष्ट पारिएको छ । यसरी हेर्दा कागमार्ने, कुकुर मार्ने, गाई मार्ने, किरा फट्याङ्ग्रामार्ने भन्ने बुझिँदैन ।

केही, कतै अपवाद बाहेक हाम्रो सामाजिक प्रचलनमा स्मरणीय पक्ष के देखिन्छ भने ‘देव’हरूलाई रक्तबलिदिइएको पाइँदैन । देवीहरूमध्ये पनि सरस्वती, लक्ष्मीलाई रक्तबलिदिइएको हुँदैन । त्यहीँदुर्गा, कालीआदि देवीहरूलाई रक्तबलि दिइएको पाइन्छ । यस्तो किनभएको होला त ?यसको उत्तरमा पुनःहामीले माथि उल्लेख गरिएका यज्ञहरू मध्येको भूतयज्ञमा ध्यानदिनुपर्ने हुन्छ ।

पुनः स्मरण गरौँ : भूतयज्ञ भनेको पशुहरूलाई सन्तुष्टपार्ने कर्म हो । दुर्गा, काली आदिका वाहन मांसाहारी पशु छन् । ती पशु वाहनहरूलाई सन्तुष्ट पार्नका लागि अन्यपशुहरू समर्पित गरिएको हुन सक्दछ । यसरी हेर्दा रक्तबलि देवीहरूलाई नभएर उनका मांसभक्षी सिंहादिवाहनलाई दिइएको हो भन्ने पनि देखिन्छ ।

इतिहासलाई जस्ताको तस्तै लागू गर्न खोज्नेहरू अन्धविश्वासी हुन् । परम्परालाई सही ढङ्गले बुझ्न नसक्नु अन्धविश्वास हो । आधारभूत विषय र परिवर्तित सन्दर्भहरू बुझ्न नचाहनेहरू अन्धविश्वासी हुन् । जानेर गर्नु विज्ञान र नजानीकन लहैलहैमा लागेर गर्नु अन्धविशवास हो । –लेखक कोइराला संस्कृतिअध्येता तथाअभियन्ता हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।