ताजा अपडेट »

रेमिट्यान्स घट्नुको कारण खोज्दै राष्ट्र बैंक

शुक्रबार, २७ मंसिर २०७६, १६ : १०
10 Shares

मंसिर २७,

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स घट्नुको कारण खोज्न थालेको छ । गत आर्थिक वर्षमाभन्दा चालू आर्थिक वर्षमा रेमिट्यान्स घटेपछि यसको कारण राष्ट्र बैंकले खोज्न थालेको हो । मुलुकको मुख्य आम्दानी मानिएको रेमिटयान्सको रकम गत आर्थिक वर्षमाभन्दा खुम्चिदै गएपछि यसको कारण केन्द्रीय बैंकले खोज्न थालेको हो । रेमिटयान्स रकम गत आर्थिक वर्षको साउन, भदौ र असोजमा भन्दा यस वर्षको त्यही तीन महिनामा ३७.३ प्रतिशतले कमी आएको छ । यस वर्षको तीन महिनामा २ खर्ब ३० अर्ब २४ करोडमा मात्र रेमिटयान्स आएको छ ।

मुलुकको मुख्य आम्दनीको यस्तो रकम घट्दै जानु शुभ संकेतका रुपमा लिन नसकिने भन्दै केन्द्रीय बैंंकले कारण खोजी गर्न थालेको हो । हुन्डी, डलरमा आएको उत्तारचढाव, गत वर्षमा भन्दा डलरको विनिमय दरमा आएको कमीलगायतका कारणले रेमिट्यान्स घटन पुगेको अनुमान राष्ट्र बैंकले गरेको छ । तर, राष्ट्र बैंकले रेमिट्यान्स घट्नुको बास्तविक कारण भने एकिन भइनसकेको बताएको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, “वास्तविक कारण पत्ता लागि सकेको छैन ।”  अनौपचारिक माध्यम हुण्डीबाट बढी रकम भित्र्एिकाले पनि औपचारिक माध्यम रेमिट्यान्सबाट रकम कम भित्रिएको विज्ञहरु बताउँछन् । हुन्डीको व्यापार बढेकोले रेमिट्यान्समा कमी आएको उनीहरुको तर्क छ । हुण्डीबाट कति रकम आउँछ भन्ने बारेमा भने राष्ट्र बैंकसँग बास्तविक तथ्याङ छैन् । 

हुण्डीबाट कति आउँछ भन्ने तथ्याङ नभएकाले यसको प्रभाव रेमिट्यान्समा परेको छ भन्ने सकिने आधार नभएको राष्ट्र बैंकका ती अधिकारीले बताए । हुण्डीसँगै डलर विनीमयदरमा आएको उतारचढावका कारण रेमिट्यान्समा कमी आएको राष्ट्र बैंकको तर्क छ । गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा डलरको सटही दरमा आएको कमीका कारण पनि रेमिट्यान्स घटेकोे हुनसक्ने अनुमान गरिएको छ । डलर सटहीमा दैनिकजसो हुने उच्च उतारचढावले पनि रेमिट्यान्समा कमी आएको हुन सक्ने राष्ट्र बैंकको भनाई छ । डलरमा दिनहुँ जसो आएको उच्च उतारचढावले पनि रेमिट्यान्समा कमी आएको राष्ट्र बैंकको भनाई  छ । जापानी यनको तुलनामा नेपाली मुद्रा कमजोर भएका कारणले जापानमा बस्नेले रकम पठाउन कमी गरेको एक रेमिट्यान्स कम्पनीका सञ्चालकले बताए ।

विदेशमा रोजगारीमा जाने क्रममा कमी आएको, हुन्डी मार्फत कारोबार बढेको, साउदीले कतारमा नाकाबन्दी लगाउँदा नेपाली कामदारको खानपानमा खर्च बढी भइ बचतमा असर परेकोले रेमिट्यान्समा कमी आएको र कुनै बेला ११९ रुपैयाँसम्म पुगेको डलरको ११२–११३ तिर मूल्य घटेका कारण पनि रमिटान्स रकम घटेको अनुमान गरिएको छ । तर, यसको  गम्भीर अध्ययन गर्नु पर्ने भएकाले केन्द्रीय बैंकले विश्लेषण र अध्ययन गर्न थालेको हो । यसको गहिरो अनुसन्धान र विश्लेषण गर्न जरुरी छ ।  नेपाल राष्ट बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि ३.७ प्रतिशतले घटेको छ । यसले पनि रेमिटयान्स घटन पुगेको विज्ञको भनाइ छ । 

गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको थियो  । त्यसमध्ये करिब २ खर्ब रुपैयाँ भारतबाट मात्र आएको थियो  । यो वर्ष छिमेकी मुलुक भारत जाने क्रममा पनि कमी आएको देखिन्छ ।  अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायत देश गएका नेपालीले त्यही घरजग्गा किन्ने र उत्तै रकम राख्न थालेकाले पनि रेमिटयान्स कमी आउन पुगेको विज्ञहरुको भनाइ छ । खाडी राष्ट्रको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ  । तर, उता कमाएको पैसा उतै राख्न थालेपछि रेमिटयान्समा कमी आएको विज्ञहरुको भनाइ छ ।- आर्थिकन्यूज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।