ताजा अपडेट »

बेलायतमा कन्जर्भेटिभ पार्टीलाई बहुमत, लेबर निराश

शुक्रबार, २७ मंसिर २०७६, १२ : ५३

मंसिर २७,

काठमाडौँ । बेलायतको आम चुनावमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ। संसदको ६५० सिटका लागि भएको निर्वाचनमा बहुमतका लागि आवश्यक ३२६ सिट संख्या भन्दा बढी स्थानमा कन्जर्भेटिभ पार्टीका सांसद निर्वाचित भइसकेका छन् । उसले ३६३ स्थानमा विजय हासिल गर्ने अनुमान गरिएको छ।

आफ्ना पारम्परिक सिट समेत गुमाएको विपक्षी लेवर पार्टीको सिट संख्या घटेर करिब २०० सम्म झर्ने बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई प्राप्त नयाँ जनादेशले बेलायतलाई यूरोपेली संघ (यूरोपियन युनियन) बाट अलग गराउने ब्रेग्जिट सम्झौता लागू गराउन सहयोग पुगेको बताएका छन्।

लेबर पार्टीका नेता जेरेमी कार्बिनले चुनावी परिणामप्रति अफसोच प्रकट गर्दै यो पार्टीका लागि निराशाजनक रहेको बताएका छन् । विश्लेषकहरुका अनुसार सन् २०१६ मा ब्रेग्जिटका लागि प्राप्त जनादेशको कदर नगरेको भन्दै लेबर पार्टीलाई बेलायती नागरिकहरुले मत दिएनन् । सन् २०१६ मा बेलायतमा भएको जनमत संग्रहमा ५२ प्रतिशतले ब्रेग्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशतले यसको विरोध गरेका थिए।

बेलायतमा पछिल्लो पाँच वर्षभित्रै भएको यो तेस्रो निर्वाचन हो । यसअघि सन् २०१५ र सन् २०१७ मा पनि आम निर्वाचन भएका थिए । बेलायतको करिब १०० वर्षको इतिहासमा डिसेम्बर महिनामा भएको यो पहिलो निर्वाचन हो। -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।