ताजा अपडेट »

घोडा दौडमा बोहोरा प्रथम, ५ हजार पुरस्कार

आइतबार, १६ असोज २०७९, २३ : १४
10 Shares

जुम्ला । सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन् । कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम भएका हुन् । 

प्रथम हुने बोहोरालाई रु पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । द्वितीय र तृतीय सोहीका गाउँका क्रमशः शङ्कर रोकाया र विपेन बोहोरा भएका छन् । उनीहरुलाई रु तीन हजार र रु दुई हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । 

स्वस्थ घोडातर्फ चन्दननाथ नगरपालिका–१० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका–५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी द्वितीय र गुठीचौर गाउँपालिका–२ कुडीका मुनसुर बोहरा तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई रु पाँच हजार, रु तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिएको क्लबका सहसचिव धनराज सुनारले बताए ।

त्यसैगरी चाल तथा कदमतर्फ चन्दननाथ नगरापलिका–८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका–१ गडीगाउँका हरिप्रसाद बस्नेत द्वितीय र गुठीचौर गाउँपालिका–२ कोल्तेका कालीप्रसाद बोहोरा तृतीय भएको सहसचिव सुनारले जनाए । उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ३३ वटा घोडा सहभागी रहेको आयोजक क्लबले जनाएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।