ताजा अपडेट »

कपिलबस्तुमा सम्पन्न ‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

आइतबार, १६ असोज २०७९, ०९ : ००
31 Shares

कपिलबस्तु । कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिबार भएको प्रतियोगितामा उनले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् ।
 
पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो । एक सय ५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारूले बताए । प्रतियोगिताको पहिलो चरणमा आठ जनाले दूरी पार गरेका थिए । खेलमा रुपन्देही सैनामैनाका रिजन बन्जाडे द्वितीय भए । उनले रु २५ हजार प्राप्त गरे भने १५।०७ सेकेन्डको दूरीमा लक्ष्य चुमेका थिए ।

कपिलवस्तुका शौरव शर्मा तृतीय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन् । शर्माले रु १५ हजार पाएका छन् भने १६।२८ सकेण्डमा दूरी पार गरेका थिए । घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६।५६ सकेण्डमा लक्ष्य चुमेका थिए ।

दोस्रो चरणमा आठ जनाबीच भएको प्रतिस्पर्धामा छ जनाले दूरी पार गरे पनि दुई जना बीचमै असफल भएका थिए । छ जनाबीच दूरी पार गरेको समयलाई आधार बनाई विजेता बनाइएको अध्यक्ष थारूले बताए । जिल्लाको वाणगङ्गा नगरपालिका राजापानीको एक पोखरीमा भएको प्रतियोगिता हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो । कहिल्यै नहेरेको खेल हेर्न पाएको जनाउँदै दर्शक खुसी देखिन्थे ।

प्रतियोगितामा आयोजकले सहभागीको रजिष्ट्रेजन शुल्कवापत रु एक हजार पाँच सय तोकेको थियो भने टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको व्यवस्थापन गरेको थियो ।

प्रतियोगितामा कपिलवस्तुसँगै रुपन्देहीबाट समेत सहभागी भएको खेल संयोजक विष्णु घिमिरेले जानकारी दिए।प्रतियोगिता सहभागीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एम्बुलेन्सको व्यवस्था मिलाइएको थियो ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।