ताजा अपडेट »

‘पहेँलो जर्सी’ परिवर्तन गर्नुपर्ने ब्राजिलियनहरूको माग, फुटबल फ्यानहरूले चलाए अभियान

आइतबार, १६ असोज २०७९, ०६ : ३१
12 Shares

काठमाण्डौं । पहेँलो रङलाई राजनीतिक अभियानसँग जोडेपछि ब्राजिलियनहरूले राष्ट्रिय टोलीको जर्सी परिवर्तन गर्नुपर्ने अभियान चलाएका छन्। ब्राजिलका निम्ति गौरव र विजयको प्रतीकका रूपमा रहेको रङलाई राष्ट्रपति जैर बोल्सोनारोको लिबरल पार्टीले आफ्नो राजनीतिक अभियानमा प्रयोग गरेको भन्दै बहुसंख्यक फुटबल फ्यानहरूले राष्ट्रिय टोलीको जर्सी परिवर्तनको अभियान चलाएका हुन्।

पाँच पटकको विश्वविजेता ब्राजिल अहिले विश्वकपमय बन्दैछ। समर्थकहरू कतारका रंगशाला जान आवश्यक प्रबन्ध मिलाइरहेका छन्। कतार जाने तयारीमा रहेकामध्ये एक हुन्, ह्युगर रमाहिओ। सन् २०१८ मा आफ्नो जन्मदिनमा उनले राष्ट्रिय टोलीको जर्सी लगाएका थिए।

त्यही जर्सी यसपालिको विश्वकपमा लगाउने भन्दै उनले जतनले ह्यांगरमा झुण्ड्याएका थिए। राष्ट्रको गौरव बनेको जर्सीको रङमाथि राजनीतिकरण भएपछि त्यो जर्सी लगाउन पाइएला कि नपाइएला भन्ने बिलखबन्दमा उनी परेका छन्।

‘पहेँलो जर्सी ब्राजिलको विजयको प्रतीक थियो। त्यो पहिरिन पाउँदा गौरवको अनुभूति हुन्थ्यो। अब त हाम्रो विजयको प्रतीकमाथि पनि राजनीतिकरण भयो। म कुनै राजनीतिक दलको विचार मान्दिनँ। पहेँलो पहिरिनु अब अमुक राजनीतिक दलको विचारमा गोलबद्ध हुनुझैं भयो, त्यसैले समर्थकहरूले जर्सी परिवर्तनको माग गरिरहेका हुन्,’ ३३ वर्षीय उनले भने।

ब्राजिलको पहेँलो जर्सीलाई कानारिनो पनि भनिन्छ। यो जर्सी ब्राजिलको राष्ट्रिय टोलीको सुरूवाती जर्सी थिएन। सन् १९५० को विश्वकपमा उरूग्वेसँग भिड्दा ब्राजिल सेतो जर्सीमा मैदानमा थियो। त्यसपछिको विश्वकपदेखि मात्रै ब्राजिल पहेँलो जर्सीमा मैदानमा देखिन थाल्यो। सन् १९५३ मा ब्राजिलले राष्ट्रिय जर्सीको डिजाइन गरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।