ताजा अपडेट »

प्युठानमा गठबन्धन दल जनमोर्चालाई भोट नमाग्ने, विकल्प खोज्ने काँग्रेस नेताको प्रतिक्रिया

शनिबार, १५ असोज २०७९, ०८ : १९
21 Shares

बुटवल । गठबन्धन दल नेपाली काँग्रेसका नेता प्रा. डा. गोविन्दराज पोखरेलले प्युठानमा राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले विकल्प खोज्ने प्रतिक्रिया दिएका छन् । गृहजिल्ला प्युठानमा टिकट दावी गरेका पोखरेलले रुख चिन्ह बाहेक अन्यका लागि भोट नमाग्ने स्पष्ट पार्दै उनले संघीय निर्वाचनका लागि अन्य किसिमले उम्मेदवार हुन प्रस्तावहरु आइरहेको बताए ।

पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘मलाई अन्य किसिमले प्युठानमा संघिय उम्मेदवार हुनुहोस भन्ने धेरै शुभेच्छुक र साथिहरुको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छ तर प्रस्तावलाई सकारात्मक रूपले लिएर उपायहरु खोज्दै छु ।’

बाहिर आएका गठवन्धनका समाचार सहि भएमा प्यूठानी जनताका बीच रुख चिन्हमा पार्टी र पार्टीको उम्मेदवारलाई मात्र मत माग्न आउने बताएका उनले राजमो र त्यसको चुनाव चिन्ह गिलासमा भोट नमाग्ने बताएका हुन् । प्युठानबाट राजमो उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाउनेगरी गठबन्धनमा सहमति भइसकेको छ ।

पोखरेल ०७४ सालको निर्वाचनमा राजमोकी दुर्गा पौडेलसँग नै पराजय भएका थिए । अहिले पुनः सत्ता गठवन्धनबाट पौडेलले नै टिकट पाउने निश्चितजस्तै भएको छ । पोखरेललाई कांग्रेसभित्र टिकट पाउनुपर्ने चर्को दवाव भइरहेको छ । शेखर कोइराला पक्षका पोखरेललाई प्यूठानमा देउवा पक्षले भने रुचाएका छैनन् ।

आफू रुख चिन्ह लिएर उम्मेदवार भई प्यूठान आउने सम्भावना माथि प्रश्न चिन्ह लागेको पोखरेलले बताएका छन् । तर, औपचारिक समाचार नआउँदासम्म सम्भावना रहेको समेत उनले प्रतिक्रिया दिए । पोखरेलले ०७४ मा ३१ हजार २ सय ८६ र तत्कालीन बामगठवन्धनबाट पौडेलले ४७ हजार ५ सय १४ मत पाएकी थिइन् । यसअघि जिल्लाका काँग्रेस नेताहरूले जिल्लामा राजमो चौथो दल भएकाले नेतृत्व आफैले पाउनुपर्ने निर्णय केन्द्रीय समितिलाई पठाइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।