ताजा अपडेट »

कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु

शुक्रबार, १४ असोज २०७९, १० : २५
14 Shares

कर्णाली । कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् । 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालिकोटमा २१ र दैलेखमा १४ जना डेङ्गुबाट सङ्क्रमित छन् । यस्तै रुकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना डेङ्गुबाट सङ्क्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेङ्गु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिए ।

सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेङ्गु सङ्क्रमणको रेडजोनमा छ । वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी डेङ्गुबाट सङ्क्रमित छन् । प्रदेश अस्पतालका डा केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताए । डेङ्गु पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । सङ्क्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेङ्गु फैलिन्छ । 

कर्णालीमा मुटुरोगी बढ्दै 
कर्णालीमा मुटुरोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय जीवनशैली र खानपानका कारण मुटुरोगी बढ्न थालेका  चिकित्सकले बताएका छन् ।

चिकित्सकहरूका अनुसार अव्यवस्थित खानपानका कारण मुटुरोगी बढ्दै गएका हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार उच्च रक्तचापको समस्या बढीजसो देखिएको छ । विलासी जीवनशैली र अव्यवस्थित खानपानका कारण मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकको भनाइ छ । 

तनाव कम गर्ने बहानामा मद्यपान, धूमपान र निद्रा लाग्ने औषधि सेवन गर्ने क्रम बढ्दो छ । यसले मुटुलाई थप असर गरिरहेको प्रदेश अस्पतालका डा केएन पौड्यालले बताए । उनले भने, “पछिल्लो समय खानपानको शैली र काम गर्ने शैली फेरिएको छ”, उनले भने । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।