ताजा अपडेट »

‘इच्छा शक्तिभए असम्भव केही छैन’

विहीबार, २६ मंसिर २०७६, १६ : ५३
2 Shares

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर- ११ मा अवस्थित नहरपुर माध्यमिक विद्यालयले आफ्नो आधा शताब्दीकोे यात्रा सफलतापूर्वक हासिल गरेको छ । वि. स. २०२७ सालमा स्थापना भएको यस विद्यालयमा हाल १ हजार २ सय ६० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

स्थापनाको १० वर्षमा (वि.स. २०३७ साल) निम्न माध्यमिक तहसम्मको कक्षा सञ्चालन गरेको यस विद्यालयले वि.स. २०५१ सालदेखि कक्षा दशसम्मको कक्षा सुरु गर्दै वि.स.२०७१ सालदेखि कक्षा ११/१२ को अध्यापन सुरु गरेको हो । ३ विगाह ८ कट्ठा, ३ धुर क्षेत्रफलमा रहेको यस विद्यालयका ३ वटा पक्की भवन सहित २९ वटा कक्षा कोठा रहेका छन् भने थप अर्को भवनमा ४ कोठा रहेको छ । विद्यालयले पचास वर्ष टेक्दै गर्दा यही मंसिर १९ गतेदेखि सप्ताहव्यापी स्वर्ण महोत्सव मनाइरहेको छ । यसै विषयमा रहेर ग्लोबल आवाजका लागि नहरपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतमसँग डि.बीं सुस्लिङले गरेको कुराकानी ।

यस विद्यालयको स्वर्ण महोत्सवसम्म आइपुग्दासम्मको यात्रा स्मरण कस्तो रह्यो ?
– ५० वर्षसम्मको लामो यात्रा गर्न सफल भएका छौं । यस क्षेत्रका अभिभावकहरुको साथ सहयोग र विश्वासले गर्दा नै हामी यहाँसम्म आउन सफल भयौं । कमजोर आर्थिक अवस्था, सिमित भौतिक संरचना र विभिन्न प्रतिकूलताका क्षणहरु पारगर्दै हामी यहाँसम्म आएका हौं । पछिल्लो समय सामुदायिक विद्यालयहरुमा खस्किँदो शैक्षिक गुणस्तरको दबाबको सामना हामीले पनि गर्न पर्यो । शिक्षक कर्मचारी साथीहरुको आत्मविश्वास र मिहिनेतले गर्दा हामीले यस विद्यालयलाई नहरपुर क्षेत्रको मात्र नभई बुटवलकै शैक्षिक गन्तव्यको रुपमा स्थापित गर्ने यात्रा तय गर्न सफल भएका छौं । यसमा अविभावकहरुको महत्वपूर्ण साथ, सहयोग र समर्थनलाई भुल्नै हुँदैन भन्ने मलाई लाग्छ ।

सप्ताहव्यापी स्वर्ण महोत्सव मनाइरहनुभएको छ, कार्यक्रमहरु के–के छन् ?
– गत मंसिर १९ गते प्रभातफेरीको र्याली सहित सुरु भएको हाम्रो यो महोत्सवमा दोस्रो दिन नगर स्तरीय छात्राहरुबीच दौड प्रतियोगिता, अन्तर सदनात्मक वक्तृत्वकला, टाइपिङ, हिज्जे, नेपाली शब्द अन्ताक्षरी, भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरु गरेका छौं । यसैगरी तेस्रो दिन नगरस्तरीय कविता बाचन, आधारभूत तहको चित्रकला प्रतियोगिता लगायतका प्रतियोगिताहरु सञ्चालन गरिएको छ । यसरी आगामी मंसिर २७ गतेसम्म विभिन्न शैक्षिक तथा खेलकूद सम्बन्धि प्रतियोगिताहरु सञ्चालनगरी महोत्सवलाई उल्लास र महान पर्वको रुपमा मनाउँदै छौं ।

यस विद्यालयको अबको बाटो तथा योजनाहरु के–के छन् ?
–अर्धशताब्दिको यात्राले हामीलाई अझ बढी संवेदनशील, कटिवद्ध र गुणस्तर बन्नका लागि चुनौती थपेको छ । यस विद्यालयका भौतिक संरचना निर्माणका काममा जुटेका हामी अव शैक्षिक गुणस्तर सुधारमा लाग्दै छौं । पञ्चवर्षिय शैक्षिक कार्यक्रम तथा योजना बनाएर अघि बढ्दै छौं । आगामी वर्ष कक्षा ११ देखि प्राविधि शिक्षा अध्यापन गराउने हाम्रो पहिलो योजना छ । यसैगरी अभिभावक तथा विद्यार्थीहरुको मागलाई ध्यानमा राखी क्याम्पस तहको कक्षा सञ्चालनका लागि आवश्यक पहल सुरु गर्दै छौं । विद्यालयमा सञ्चालन हुँदै आएको छात्रावृत्ति अक्षकोषलाई थप गरी हाल १ सय १४ जना विद्यार्थीले छात्रावृत्ति पाउँदै गरेकोमा आगामी वर्ष २ सय जना बढी विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने लक्ष्य रहेको छ । यसरी क्रमैसँगै अबको ५ वर्ष भित्र हाल ३० लाख रुपैयाँको अक्षकोषलाई वृद्धि गरी ५० लाखमा पुर्याउने र सबै विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने हाम्रो लक्षय रहेको छ ।

विद्यालयको सञ्चालनमा अबका चुनौतीहरु के-के देख्नु भएको छ ?
– मैले त्यस्तो ठूलो र डरलाग्दो कुनै पनि चुनौती देखेको छैन । सबैभन्दा महत्वपूर्ण कुरा इच्छा शक्ति रहेछ । इच्छा शक्ति भयो भने सबै कुरा सम्भव छन् । अविभावकहरुको, शिक्षक कर्मचारी सबैको साथ सहयोग र समर्थन रह्यो भने कुनै पनि चुनौती छ जस्तो मलाई लाग्दैन ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा सञ्चालनका लागि के अपेक्षा छ ?
–सरकारबाट हामीले गर्ने भनेकै शिक्षामा आर्थिक लगानी हो । विगतका वर्षहरुमा भन्दा अहिले शिक्षामा बजेट पनि बढी नै आउने गरेको छ । मलाई व्यक्तिगत रुपमा लागेको कुरा सरकारले लगानी मात्रै गरेर हुँदैन त्यसको सहि ठाउँमा सदुपयोग भएको छ-छैन प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गर्नुपर्यो । सरकारबाट अनुगमन भएपनि खासै उत्प्रेरणा दिने खालका र प्रभावकारी मूल्याङ्कन भएजस्तो मलाई लाग्दैन । त्यसैले सबै सामुदायिक विद्यालयहरुमा सुझाब, दण्ड र पुरस्कार सहितको अनुगमन हुन जरुरी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।