ताजा अपडेट »

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते

विहीबार, २६ मंसिर २०७६, १६ : ४४
4 Shares

मंसिर २६,

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुने भएको छ । यसका लागि निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सांसदको स्थानमा नयाँ सांसद पठाउन गृहकार्य सुरू गरेको छ । आयोगले एक जना राष्ट्रपतिबाट मनोनित हुने बाहेक निर्वाचनबाट पुर्ति हुने १८ रिक्त स्थानका लागि माघ ९ गते निर्वाचनको मिति तय गरिसकेको छ ।

खाली हुन लागेका स्थानमा निर्वाचनबाट पदपुर्ति गर्नका लागि आयोगले आन्तरिक गृहकार्य सुरू गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

“माघ ९ गते निर्वाचन गर्ने गरी मिति तय भइसकेको छ । आन्तरिक तयारीमा आयोग छ । कार्यतालिका बनाउने, सामाग्री व्यवस्थापनको रुजु गर्ने काम भइरहेको छ,” प्रवक्ता श्रेष्ठले भने ।

राष्ट्रिय सभाबाट आफ्नो दुई वर्षे कार्यकाल सकेर बिदा हुनेमा अर्थमन्त्री डा। युवराज खतिवडा पनि छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनित सदस्य हुन् ।

राष्ट्रिय सभामा सांसदहरुको गोला प्रथाबाट कार्यकाल तय गरिएको थियो । कार्यकाल सकिएपछि रिक्त हुने राष्ट्रिय सभा सदस्य पदमा नयाँ नियुक्तिका निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालिसकेको छ ।

राष्ट्रिय सभामा ५९ सदस्य छन् । जसमध्ये १९ जना सांसदको कार्यकाल फागुन २० गते सकिँदैछ । १८ जना सांसद निर्वाचनको प्रक्रियाबाट छनिनेछन् भने १ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।