ताजा अपडेट »

बुटवलमा केही ठूला योजना निर्माणको चरणमा छौं : नगर प्रमुख पाण्डे

बुधबार, १२ असोज २०७९, २० : १०
2 Shares

बुटवल । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले बुटवलमा केही ठूला पूर्वाधार तथा विकास निर्माणको चरण्मा रहेको बताएका छन् । बुटवल उपमहानगरपालिकाले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले बुटवललाई आर्थिक, स्वास्थ्य र शिक्षाका हिसाबले अग्रणी बनाउने गरी केही योजनाहरु अघि बढेको र ती योजनाले छिटै मुर्त रुप लिने बताए ।

बुटवल उपमहानगर, संघ, प्रदेश र अन्य केही दातृनिकायहरुको लगानीमा ठूला योजनाहरु सम्पन्न गरिने उनले बताए । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्तरोन्नति, कृषि बजार केन्द्र स्थापना, सूचना केन्द्र निर्माण, प्रदेशस्तरको बसपार्क, तिनाउ नदीमा सिग्नेचर पुलजस्ता योजनाहरु प्रक्रियामा अघि बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने, नयाँ बसपार्कलाई स्थानान्तरण गरी बहुतले पार्किङस्थल निर्माण गर्ने, बुटवल ७ र ८ को धागो कारखाना अगाडिको २५ बिगाहामा बसपार्क निर्माण गर्ने, छाडा चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्ने जस्ता कामले बुटवललाई व्यवस्थित शहरको रुपमा स्थापित गर्ने उनले दाबी गरे ।

यसैगरी बुटवल उपमहानगरपालिकाले प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको ८१३ बिगाहा जग्गालाई खुम्चाएर ५०० बिगाहामा सिमित गर्ने योजना अगाडि सारेको छ । औद्योगिक क्षेत्रको नाममा लागत कट्टी गरेर लालपुर्जा समेत निस्केको जमिनको क्षेत्रफल घटाएर भोकचलन गरिरहेका स्थानीयलाई फिर्ता गर्ने गरि उपमहानगरले कार्ययोजना सार्वजनिक गरेको हो ।

नगरप्रमुख पाण्डेयले बुटवल १५ सेमलारमा १९ बिगाहामा कृषि बजार केन्द्र, बुटवल ७ मा गौशाला व्यवस्थापन, वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि प्रक्रिया अघि बढेको पनि बताए । पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै उहाँले बुटवलको मुख्य सडक निर्माणमा भएको अलमल समाधान गरी सडक निर्माणलाई निरन्तरता दिन अगुवाई गरेको, मोतीपुर औद्योगिक क्षेत्रको विवाद समाधान गर्नका लागि जग्गा यकिन गरी औद्योगिक क्षेत्र निर्माणका लागि अगुवाई गरिएको जनाए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको बजारलाई व्यवस्थित गर्नका लागि नियमित अनुगमन गरिरहेको र आगामी दिनमा थप कडाइका साथ नियम पालना गराइने बताइन् । उनले उपभोक्ताको अधिकार स्थापित गर्दै स्वच्छ र स्वस्थ खाद्यान्न उपलब्ध हुने गरी वातावरण तयार गर्नका लागि बुटवल उपमहानगर लागिपरेको बताइन् । उनले न्यायिक समितिले विवादमा मेलमिलाप र सहजीकरण गर्दै आएको पनि बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।