ताजा अपडेट »

वैकल्पिक राजनीतिक बारेको बहस !

मंगलबार, ११ असोज २०७९, १५ : २१
46 Shares

केही वर्ष अगाडि परम्परागत पार्टीहरुबाट नयाँ नेपालको निर्माण हुन सक्दैन भन्ने निष्कर्षका साथ बाबुराम भट्टराईसहितका नेताहरूले नयाँ वैकल्पिक विचार साहितको पार्टी ’नयाँ शक्ति’ को निर्माण गरेका थियौं । पार्टीको स्थापनादेखि आजसम्म त्यो पार्टीले थूप्रै उकाली–ओरालीहरु पार गरिसकेको छ । उसले यो बिचमा अनगिन्ति चूनौतीहरूको सामना गर्न परेको छ।

यसले कहिले पार्टिको नाम फेरेको छ, कहिले चुनाव चिन्ह फेरेको छ, कहिले अर्को पार्टीको चुनाव चिन्हमा लडेको छ, कहिले एकता गरेको छ, कहिले विघटन भएको छ, कहिले नयाँ पार्टिको गठन गरेको छ, यो सबै प्रक्रिया भैरहदा प्रारम्भमा जोडिएका कैयौ साथीहरू यो काम लाग्दैन, यो असम्भव छ भन्ने निष्कर्षका साथ पुरानै पार्टीहरूमा जोडिन पुगेका छन् ।

केहिले सगंठित रुपमै जोडिन गएका छन भने केहिले एक्ला एक्लै पनि । कतिपय साथिहरु निरास भएर थाकेर पनि बसेका छन् । पछिल्लो पटक उपेन्द्र जी र अशोक राईजीहरु सँगको सम्बन्ध विच्छेदले साथिहरु झन बढी निरास हुन पुगे । पछिल्लो घटनासम्म आइपुग्दा साथिहरुको नेतृत्व प्रतिको विश्वास समेत गुम्न पुग्यो । डम्बरजी प्रशान्तजीहरुसमेत बाबुरामजीको कार्यशैलीमा सहमत हुन सक्नु भएन र यो प्रक्रियाबाट अलग हुनुभयो ।

प्रचण्डजी र बाबुरामजीको समाजवादी केन्द्र निर्माण गर्ने र अगाडि बढ्ने भन्ने बारेको समझदारी बारे पनि साथिहरुलाई चित्त बुझेन । यो कुरा सहि थियो वा थिएन इतिहासमा मुल्यांकन हुने नै छ । जहाँसम्म नयाँ शक्ति निर्माणको समयमा उठाइएका एजेण्डाहरु सहि र यथार्थमा आधारित थिए र छन् भन्न सकिन्छ । समुन्नत समाजवादमा पुग्नको निमित्त आगामी दिनहरुमा पनि सोही विचारका आधारमा मात्र अगाडि बढ्न सकिन्छ ।

ती विचार र एजेन्डाबाट हामी तल माथि दायाँ–बायाँ गरेका छैनौं । हाम्रो विचार वैज्ञानिक, अग्रगामी र यथार्थपरक हुँदाहुँदै पनि किन हामी र हाम्रो यात्राले गति लिन सकेन ! किन धेरै नोक्सानीहरु बेहोर्नु पर्यो ! धेरै साथिहरु गुमाउनु पर्यो । हामी र हाम्रा नेतृत्वको विश्वासको मात्रा घट्न पुग्यो । हामिले यो बिचमा थुप्रै गुमाइ सकेका छौं तर पनि हामिलाई के विश्वास छ भने दशरथ रंगशालामा हामीले प्रस्तुत गरेको अवधारणा पत्रको कार्यान्वयन बिना समाजवादको यात्रा प्रारम्भ हुने नै छैन किनकी जहिले पनि जहाँ पनि विचार नै प्रधान हुने गर्दछ, साधन होइन ।

विगतको समीक्षा गर्नु पर्दा हामिले उठान गरेका विषय वस्तुहरु ठिक त थिए तर वस्तुगत परिस्थिति परिपक्क बनी सकेको थिएन कि ! भन्ने प्रश्न भने अवश्य जन्मिएको छ । हामी कहाँ जडशुत्रवादी चेतनाको बोलवाला रहेको छ जस्ले परिवर्तनको चेतनालाइ अस्विकार गर्दछ । पार्टी, नेता, संस्कृती सबै कुरा सदावहार भएको देख्न चाहान्छ । बदली रहने कुरालाई हाम्रो समाजले अवसरवाद ठान्दछ, अवसरवाद र परिवर्तन दुबैलाई एउटै डालोमा राखेर हाम्रो समाजले हेर्ने गर्दछ तर सत्य यो हो कि हामीले विचार र एजेन्डालाई निश्चित चरणसम्म बदल्न सक्दैनौ बाकी सबै कुराहरु आवश्यकता अनुसार फेर्न र बदल्न सकिन्छ । किनकी विज्ञानको नियम जडतामा अगाडि बढ्न सक्दैन ।

विज्ञान गति र प्रवाहमा हुने गर्दछ । यो विज्ञानको नियमलाइ अवलम्बन गरिरहदा हामी कैयौं पटक असफल, पराजय र बदनाम पनि हुन सक्दछौ किनकि अगाडिसम्म देख्न सक्ने चेतनालाई यथास्थितिवादि चेतनाले अस्विकार गर्दछ । जस्तो कि हामि देख्दछौ कार्लमाक्सको अग्रगामी चेतनालाई तत्कालीन समाजले पचाउन सकेन, उनले जीवन कालभरी कष्ट बेहोर्नु पर्यो । त्यसैगरी चावार्कको इतिहास पढौं, सुकरातको इतिहास पढौं, भगत सिंह वा हाम्रै देशका दार्शनिक गौतम बुद्दको जिवनचक्रलाइ अध्ययन गरौं , प्रारम्भमा उनको साथमा हजारौं नरनारी रहेका थिए भने उनको पछिल्लो चरणमा सबैले छाडेर मात्र पाँच जना उनको अनुयायी बचेका थिए । अगाडिसम्म देख्न सक्ने पुष्पलाल बिपिहरुको पनि इतिहास यस्तै त रहेको छ । सत्यको पक्ष पोषण गर्ने विचार र विचारकहरु यथास्थितिको दृष्टिकोणमा असम्भव देखिने गर्दछन्।

हाम्रो सन्दर्भमा पनि वर्तमान संविधानलाई संशोधन नगरिकन समस्याको समाधान गर्न सकिँदैन भन्ने चेतना क्रमशः देखा परेको छ । वर्तमान नेतृत्व र ती सम्बन्धित पार्टीहरुप्रतिको विश्वासको मात्रा घट्दै गइराखेको छ, अन्तरविरोधहरु तिव्ररुपमा अगाडि बढेका छन, आगामी मंसिर चार गतेको निर्वाचनले पनि समस्याको समाधान दिन सक्ने छैन । उनै पुराना पुरातनपन्थी पार्टी र तिनकै नेतृत्वको वरपर सत्ता घुमिरहने छ ।

त्यसैको गर्भबाट र अन्तरविरोधको बीचबाट नै नयाँ चीजको जन्म हुनेछ किनकी यथास्थितिमा देश अगाडि बढ्न सक्दैन भन्ने कुरा सबै सूचकांकहरुले बताइ रहेका छन् । कतिपय साथिहरु शुद्धताको कुरा गर्दछन। यो प्रक्रियामा सहभागी नहुने कुरा गर्दछन् । त्यो पनि त हामीले प्रयोग नगरेका होइनौं, जनमत संग्रहको बहिस्कार, ०४३ सालको बहिष्कार, ०४८ सालको निर्वाचन कतिपय पार्टीहरु द्वारा बहिष्कार ।

आखिर परिणाम के आयो ! त्यसले हामीलाई जनताबाट कटाउने काम गर्यो । जनता जहाँ छन हामी त्यही हुनु पर्दछ, जनता पूजामा छन्, हामी पुजामा जानू पर्दछ, जनता घाटमा छन्, हामी घाटमा जानुपर्दछ, जनता निर्वाचानमा छन्, हामी पनि निर्वाचनमा जानू पर्दछ । अर्थात जनताको बिचमा रहेर नै जनताको नेतृत्व गर्नुपर्दछ । यही मान्यताका आधारमा हामी हसिया हथौड़ा चुनाव चिन्ह मार्फत निर्वाचनमा सहभागी हुने निर्णय गरेका छौं ।

यो कुरा कतिपय साथीहरुलाई मन परेन, ती मध्येका कतिपय साथिहरु उपेन्द्रजी तिर लाग्नु भयो । त्यो पनि उन्नत विकल्प हुन सक्दैनथ्यो । कतिपय साथिहरु एमालेमा जोडिनुभयो, त्यो पनि हामीले परिकल्पना गरेको बैकल्पिक राजनीति थिएन । कतिपय साथिहरु यो बन्दैन र हुन सक्दैन भनेर बिच बाटोमा उभिनु भएको छ ।

बीच बाटोमा उभिनु भएका साथीहरु धेरै राम्रा हुनुहुन्छ , नैतिकता र आचरणबाट उच्च मूल्यांकन गर्न सकिन्छ तर त्यो सोँच र विचारहरु क्लास , प्रशिक्षण, अन्तरवार्ता, आलेख र गोष्टिसम्म जनचेतना जागृत गर्नको निमित्त ठिक छ तर वैकल्पिक विचारका एजेण्डाहरुलाई कार्यान्वयन गर्न गराउनको लागि सत्ता अनिवार्य सर्त हो । यो कुरा पनि सत्य हो कि राजनीति सरल सपाट र सोझो रेखामा चल्ने गर्दैन । त्यो बाङ्गो टिङ्गो रेखाबाट अगाडि बढ्दछ । कैयौं अन्तरविरोधहरुको सामना गर्नु पर्दछ । उपदेश गर्ने कुरा र महासागरमा हाम फाल्ने कुरा फरक फरक कुरा हुन्।

यी पछिल्ला निर्णयहरु हारेर, थाकेर, निराश भएर, एजेण्डाहरु माथि नै सौदावाजी गरेर लिएका निर्णयहरु हुन भनेर बुझ्नु गम्भीर गल्ती हुनेछ , कहिलेकाँही अगाडि बढ्नको निमित्त पछाडी फर्कनु पर्ने परिस्थिति पनि आउने गर्दछ भन्ने कुरा बुझ्न जरुरी छ । अत: विषयवस्तुलाई यसरी नै बुझौं ; सत्य कुरा यो हो कि हामी हारेका छैनौं, थाकेका छैनौं, विचारबाट बिमुख भएका छैनौं ; हाम्रो बुझाइमा निरन्तरता नै छ ।

हामी जस्तो सुकै परिस्थितिमा पनि समुन्नत समाजवादको लागि निरन्तर अगाडि बढी रहने छौं । यो मात्रामा अगाडि बढ्ने क्रममा कैयौं पराजयहरु बेहोर्नु पर्यो, कैयौं धोका खानु पर्यो ,विश्वास गरेका साथिहरुले विश्वासघात गरे, हामी धेरै कमजोर बनेउ तर पनि हामी हाम्रो विचारमा दृढ छांै । आगामी मंसिर ४ गते पछीका दिनहरुमा देखापर्ने अन्तरविरोधको बीचबाट हामी अगाडि बढ्ने छौं भन्ने हामीलाई विस्वास छ।

सत्य कुरा यो हो कि बाघ बुढो भयो भन्दैमा उसले घास खाने गर्दैन बरु कैयौं दिनसम्म भोकभोकै बस्न सक्दछ, हामी कमजोर भयौं भन्दैमा परिस्थितिको अगाडि घुडा टेक्ने गर्दैनौं, यथास्थितिमा सम्झौता गर्दैनौं । अनुकुल परिस्थिति नबन्दासम्म धैर्य गरि रहन्छौ। हामीलाई यो कुराको पुर्ण विस्वास छ कि हामी समुन्नत समाजवादको यात्रामा विजयी बन्ने छौं ।

निस्चितरुपमा नेपाली समाज, नेपाली संस्कृति, नेपालका पार्टीहरु, तिनका नेतृत्व र कार्यकर्ता अधिकांश बिग्रिएका छ्न। तिनको सोच र संस्कृति बिग्रिएको छ। जनताका आवश्यकता र चाहना अनुरुप पार्टीहरु चलि रहेका छैनन।त्यसैले त जनता विकल्पको खोजीमा छन्। उनिहरु कहिले राप्रपा तिर सोझिन्छ्न, कसैले रबि लामिछाने र उनको पार्टीलाई विकल्प देख्दछन्, कसैले यो अन्तरविरोधको समाधान स्वतन्त्रले गर्दछ भन्ने ठान्दछ्न, अघिल्लो निर्वाचनमा रवीन्द्र र विवेकशील प्रति हजारौं युवाहरुको आकर्षण रहेको थियो।

यी सबै कुराले जनता बिकल्पको खोजीमा छ्न भन्ने कुरा देखाउँछ। सत्य कुरा यो हो कि आमरुपमा सबै पार्टीका नेता कार्यकर्ताहरु राम्रा हुने गर्दैनन तर त्यसको मूल नेतृत्व इमानदार, गतिशील र अग्रगामी विचारको छ भने परिस्थितिलाई बदल्न सकिन्छ । नयाँ दिल्लिको समाजको गर्भबाटै जन्मिएको आम आदमि पार्टीका सबै नेता कार्यकर्ता राम्रा छन भन्ने होइन तर त्यसको मूल नेतृत्व केजरिवाल इमानदार ,गतिशील र अग्रगामी भएकै कारण त्यहाँ सकारात्मक परिणाम आइराखेको छ । संसारभरिका उदाहरण हेर्नुभयो भने तपाई यहि कुरा पाउनु हुने छ ।

हामीकहाँ पनि मूल नेतृत्व राम्रो र इमान्दार भइदिएको भए परिणाम धेरै राम्रो भइसक्ने थियो, हामीले त्यो अवसर पाउन सकेनौं । त्यसले गर्दा आगामी दिनहरूमा परिवर्तनको निम्ति परिवर्तनका दुबै तरिकाहरु अवलम्बन गर्नुपर्दछ । एउटा चेतनाको माध्यमबाट जनतालाई जागृत गराउने र अर्को सरकारको मूल नेतृत्वबाटै नीतिहरु परिवर्तन गरेर अगाडि बढ्ने, यहि सोँच र चिन्तनका साथ अगाडि बढौं। गञ्जागोल र भद्रगोलको बीचबाट गोल हान्ने कोसिस गरौं, थर्डलाइनमा बसेको छु भनेर चिन्ता नगरौं । किनारमा बसेर सबैलाई गाली गरेर अथवा उपदेश बाडेर समस्याको समाधान दिन सकिँदैन । यसरी सोँच विचार गर्दा राम्रो हुन्थ्यो कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।