ताजा अपडेट »

लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु

मंगलबार, ११ असोज २०७९, १४ : ४२
129 Shares

पर्यटकीय लाभको वर्तमान अवस्था
लुम्बिनी प्रदेशलाई चिनाउने र धेरै मानिसहरु घुम्न आउने स्थान लुम्बिनी हो । खर्च गर्ने पर्यटक भन्दा पनि फोटो खिचेर फर्कने पर्यटकहरु लुम्बिनी पुग्ने भएकोले पर्यटन बजारमा लुम्बिनी पस्कन थालेको दशकौ भएपनि यो क्षेत्रले पर्यटनबाट लाभ लिन सकेको देखिदैन । तौलिहवा नजिक रहेका तिलौराकोट र कुदानमा केहि पर्यटकहरु पुग्ने भएपनि रामग्राम, पण्डितपुर देवदहमा विदेशी पर्यटकहरु देख्नु दुर्लभ हुन्छ ।

रानीमहल, सुपादेउराली, भैरवस्थान, रिडी, रेसुंगा, स्वर्गद्वारी, धारापानी, तौलेस्वर र बागेस्वरिमा वर्षेनी ठूलो संख्यामा भक्तजनहरु पुग्ने गरेको भएपनि त्यहाँ पुग्नेहरु मन्दिरको दर्शन गरेर केहि घण्टामै फर्कने भएकोले पर्यटनको लाभ शून्य बराबर नै छ । स्थलमार्ग बाट नेपाल आउने पर्यटकहरु मध्ये ८२ प्रतिशत भैरहवा नाका हुदै आउने भएपनि लुम्बिनी क्षेत्रको पर्यटन उद्योगले फाइदा लिन पाएको छैन बरु नेपालगंजले भारतीय पर्यटकलाई मानसरोवर पु¥याएर लाभ लिइरहेको छ । जगदीशपुर ताल, सुके ताल, सत्यवती तालले आन्तरक पर्यटकहरुलाइ देख्न पाएपनि रुकुमको कमल दह, जलजला र सिस्ने हिमालले त्यहि अवसर समेत पाउन सकेका छैनन् ।

पर्यटन प्रर्वद्धनका आधारहरु
वस्तु तथा सेवाको जानकारी बढीभन्दा बढी लक्षित समूहसम्म पु¥याएर ति वस्तु तथा सेवा लिन आकर्षित गर्नको लागि गरिने कार्यहरु नै प्रवद्र्धन हो । प्रवद्र्धन बजारीकरणको मख्य उपाय हो । वस्तु तथा सेवा उपलब्ध हुदैमा मानिसहरु त्यसलाई लिन तयार हुन्छन भन्ने निश्चित हुदैन । अझ लक्षित समूह नै त्यस्ता बस्तु तथा सेवा लिनको लागि आउछन भन्ने हुदैन । आर्थिक लाभको लागि मात्र नभएर स्थान वा कुनै सम्पदा चिनाउनकै लागि पनि प्रवद्र्धनात्मक कार्यहरु गर्नु आवस्यक हुन्छ ।

पर्यटक ल्याउन सक्ने महत्वपूर्ण पर्यटकीय सम्पदाहरु हुदाहुदै पनि धेरै ठाउँमा पर्यटकहरुले पाइला नै टेक्दैनन, येनकेन पर्यटकहरु आएपनि धेरैबेर टिक्दैनन र टिकेका पर्यटकले पनि मन खोलेर खर्च गर्दैनन् । यसो हुनुको मुख्य कारण सम्भाव्य पर्यटकलाई पर्यटकीय सम्पदा र सेवाको बारेमा पर्याप्त जानकारी नहुनु हो । पर्यटकलाई बोलाउन, टिकाउन र खर्च गर्न इच्छुक बनाउनको लागि पर्यटन प्रवद्र्धन अपरिहार्य हुन्छ । पर्यटन बजार प्रवद्र्धनको लागि सुचना र प्रचारप्रसार मात्रले पुग्दैन. यसका लागि पर्यटकको लागि पस्कने वस्तु तथा सेवा, मानसिक तत्परता, उक्साहट , ब्राण्डिंग जस्ता कुराहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । लुम्बिनी प्रदेशको पर्यटनलाई प्रवद्र्धन गर्ने थुप्रै प्राकृतिक, भौतिक, आध्यात्मिक र अन्य आधारहरु उपलब्ध छन् । ति मध्ये केहि यसप्रकार छन् ।

सम्पदा
लुम्बिनी प्रदेश एतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदामा धनि छ । बुटवल, तानसेन, कोइलाबास, रिडी, नेपालगंज जस्ता ऐतिहासिकता बोकेका स्थानहरु यहाँ छन् । आदिम मानवको बसोबासको प्रमाण भेटिएको देउखुरी क्षेत्र, प्रागऐतिहासिक मानव रामापिथेकसको अवशेष भेटिएको दोभान क्षेत्र, पहाडी मौलिकता बोकेका मुस्लिमहरुको बसोबास रहेका बल्कोट क्षेत्र, थारुहरुको मौलिक थलो दांग– बर्दिया क्षेत्र अनि मगरहरुको मौलिकता जीवन्त भेटिने पाल्पा, रोल्पा र रुकुमका वस्तीहरु सामाजिक– सास्कृतिक सम्पदाका थलोहरु हुन् । पुराना गढी र किल्लाहरु, पहाडी क्षेत्रमा रहेका पुराना दरबार र कोटहरु ईतिहास अध्ययन गर्न चाहनेहरुका लागि महत्वपूर्ण थलो हुन् । यिनै सम्पदाहरुलाई पर्यटन बजारमा चिनाउन सकेमा लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सहज हुनेछ ।

प्राकृतिक विविधता
लुम्बिनी प्रदेश प्राकृतिक रुपमा सम्पन्न छ । हिमालदेखि दशगजासम्म फैलिएको यो प्रदेशमा टलक्क टल्किने हिमालदेखि सयौ कृष्णसार दगुर्ने समथर घासे मैदानसम्म छन् । सोंस ( गंगेट्रिक डल्फिन) पाईने कर्णाली नदीदेखि नेपालमै अग्लो स्थानमा कमल पाईने कमल दहसम्म यस प्रदेशमा छन् । प्रदेशको आधा भूगोलमा फैलिएको वन र मनमोहक प्राकृतिक भूदृश्यहरु पर्यटक तान्ने क्षमता राख्दछन् । तराईका घासे मैदानहरू जंगल सफारीको लागि उपयुक्त छन् भने पहाडका प्रत्येक टाकुराहरु हिल स्टेशनको रुपमा उपयोग गर्न सकिने छन् । बाँके र बर्दियाका बाघ, हात्ती, कृष्णसार, गोही लगायत यहाँका प्रत्येक जीवजन्तु, झरनाहरु, तालतलैयाहरुले पर्यटनलाई प्रवद्र्धन गर्ने क्षमता राख्दछन् ।

बौद्ध स्थलहरु र विश्व सम्पदा सूची
शाक्यमुनि बुद्धको जन्मस्थान लुम्बिनीको नामबाट यस प्रदेशको नामाकरण भएको छ । प्रदेशको पर्यटन ब्राण्डिंङको लागि यो निकै महत्वपूर्ण कुरा हो । वृहत्तर लुम्बिनी क्षेत्रमा समेटिएका कपिलवस्तु , रुपन्देही र नवलपरासी ( पश्चिम) मा २०० भन्दा बढी बौद्धकलिन पुरातात्विक सम्पदाहरु रहेको अनुमान छ । यहाँ भएका सबै बौद्ध स्थलहरु विस्वभरका बौद्धमार्गी र बौद्ध पर्यटकहरुको लागि आस्थाका केन्द्रहरु हुन् । लुम्बिनीलाई विस्व शान्ति शहरको रुपमा विकास गरिदैछ । मायादेवी मन्दिर परिसर अहिले मुख्य बौद्ध आध्यात्मिक केन्द्र बनेको छ ।

कपिलवस्तुको तिलौराकोट, कुदान, गोटिहवा, निग्लिहवा, सिसहनिया, रुपन्देहीका सैनामैना , बुटवल र देवदह, नवलपरासीका पण्डितपुर्, रामग्राम, अनोमा घाट, ककरपत्ता, बुद्धमंगल , तानसेन नगरका बौद्ध गुम्बा र चैत्यहरुले पर्यटक आकर्षण गर्ने क्षमता राख्छन् । बाँकेको बालापुर, कम्दी छेउछाउ प्राचिन बौद्धकालिन श्रावस्ती नगर हुनसक्ने सम्भावनाहरु भेटिएका छन् । यी सबै बौद्ध स्थलहरुको विकास र प्रचारले समग्र लुम्बिनी प्रदेशकै पर्यटन प्रवद्र्धन मा टेवा पुग्नेछ ।
लुम्बिनी विश्व सम्पदा सूचीमा परेको उपत्यका बाहिरको एक मात्र प्राचीन बौद्ध सम्पदा हो । सम्पदा सूचीमा हुनु आफैमा राम्रो मार्केटिङ हो । भर्खरै रामग्राम र तिलौराकोटलाई सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया सुरु भएको छ । सम्पदा सूचीमा परेका बौद्ध सम्पदा हेर्न आउने पर्यटकले नजिकैका अन्य सम्पदाहरू घुम्न इच्छुक हुने भएकाले अन्य सम्पदा क्षेत्रमा पनि पर्यटकको संख्या र बसाइ बढाउन मद्दत पुग्नेछ ।

राष्ट्रिय निकुञ्जहरु
लुम्बिनी प्रदेशमा बाँके र बर्दिया राष्ट्रिय निकुन्जका साथै ढोरपाटन शिकार आरक्षका केहि भाग पर्छन । बर्दिया राष्ट्रिय निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । बाघ र जंगली हात्तिको लागि बर्दिया विस्वमा परिचित भैसकेको छ भने बाँके पनि पर्यटनमा विस्तारै बामे सर्दैछ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार पर्यटनको लागि विस्वमा परिचित भैसकेको छ । यनै संरक्षण क्षेत्रहरुलाई राम्ररी व्यवस्थित र प्रचार गर्न सकेमा समग्र लुम्बिनी प्रदेशमै पर्या–पर्यटनले काँचुली फेर्न सक्नेछ ।

कुटनैतिक र उच्चस्तरीय भ्रमण
बुद्धको महापरिनिर्वाणको धेरै पछि मौर्य सम्राट अशोक बुद्धका पाइलाहरु पच्छ्याउदै लुम्बिनीसम्म आइपुगे । पाँचौ र सातौ शताब्दीमा घुम्दै आएका चिनिया यात्रीहरु फाहियान र हुयान साङले आफ्नो यात्रा वृतान्तमा लुम्बिनीको बारेमा वर्णन गरे । लुम्बिनीलाई संसार सामु चिनाउने यी प्रारम्भिक प्रयास थिए । सन् १९२० को दशकमा प्रसिद्ध भारतीय विद्वान राहुल साँस्कृत्यायनले धेरैपटक लुम्बिनी भ्रमण गरेर लेख र पुस्तकमा उल्लेख गरेपछि लुम्बिले बौद्धमार्गी विचमा परिचित हुन् पाएको थियो । संयुक्त राष्ट्रसङ्घका तेस्रा महासचिव ऊ थान्तले सन् १९६७ लुम्बिनीको भ्रमण गरेका थिए । त्यो भ्रमण लुम्बिनीको योजनाबद्ध विकास र प्रचारप्रसारमा त्यो कोसेढुङ्गा साबित भएको छ ।

पछिल्ला ६० वर्षमा लुम्बिनीमा धेरै राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख, राजदुत र अन्य उच्चपदस्थ व्यक्तिहरुले भ्रमण गरिसकेका छन् । भर्खर मात्र बुद्ध पुर्णिमाको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण सरेका छन् । उनको लुम्बिनी भ्रमणले भारतीय मिडियामा मात्र नभएर विस्वभरी नै चर्चा बटुल्न सफल भएको थियो ।

हलिउडका लोकप्रिय अभिनेता लियोनार्दो डिक्याप्रियोले सन् २०१० मा बर्दिया राष्ट्रिय निकुन्ज भ्रमण गरेपछि अन्तराष्ट्रिय जगतले बर्दियाको बारेमा बुझ्न पाएको थियो । लुम्बिनी प्रदेशका धार्मिक र प्राकृतिक सम्पदा स्थलहरुमा विदेशी उच्चपदस्थ व्यक्तिहरुलाई भ्रमण गराउने, अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलनहरु आयोजना गर्न प्रेरित गर्ने हो भने विश्व पर्यटन बजारमा लुम्बिनी प्रदेशको बारेमा छिटो जानकारी पुग्छ र यसबाट लुम्बिनी प्रदेशले मात्र नभएर नेपालको समग्र पर्यटन क्षेत्रले नै लाभ लिन सक्नेछ ।

सडक सञ्जाल र यातायात
यातायात पर्यटन उद्योगको अभिन्न अंग भएको छ; यातायातले पर्यटकहरूलाई विभिन्न पर्यटकीय स्थलहरूसँग जोड्छ । जहाँ यातायातको राम्रो सुविधा हुन्छ, त्यहाँ छिटो पर्यटन विस्तार हुन्छ । बृहत्तर लुम्बिनी क्षेत्रमा पर्यटकीय स्थलहरू छरिएका छन् । यातायात सञ्जालले यी क्षेत्रहरूलाई जोड्दा यस क्षेत्रको पर्यटन विकासमा अतुलनीय फाइदाहरू प्राप्त हुन्छन् । अहिले देवदह र तौलिहवालाई बुद्ध सर्किट मार्फत लुम्बिनीसँग जोडिएको छ ।

देवदहदेखि परासीहुँदै पण्डितपुरसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । हुलाकी सडकले सुस्तादेखि राजापुरसम्मका अधिकांश भूभागलाई जोडिसकेको छ । मुख्य पर्यटक बिन्दु भैरहवा र नेपालगंज नेपालका धेरै पर्यटकीय गन्तव्यसंग सडकबाट जोडिएका छन् । शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीबाट अब एक घण्टाभित्र सबै बौद्धस्थल पुग्न सकिन्छ । लुम्बिनी प्रदेशका सबै पर्यटकीय स्थलहरुमा स्थल सवारी बाटै जान सकिने अवस्था छ ।

भर्खरै लुम्बिनी नजिकैको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाइएको छ । नेपालगन्ज विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने प्रयासहरु भैरहेका छन् । यी विमानस्थल सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय पर्यटकलाई लुम्बिनी प्रदेशमा आउन सहज हुनेछ । यी सबै यातायात पूर्वाधारले लुम्बिनी प्रदेशमा आउँन चाहने पर्यटकहरुलाई सुबिधा प्रदान गर्ने क्षमता राख्छन् । लुम्बिनी प्रदेश घुम्न सजिलो छ भन्ने संदेश दिन सकियो भने यहा पर्यटकहरु आउने छन्, एक ठाउमा गएका पर्यटकहरु सजिलै अर्को स्थानमा पुग्नेछन र समग्र लुम्बिनी प्रदेशले पर्यटकीय लाभ लिन सक्नेछ ।

धार्मिक स्थल र आध्यात्मिकता
शदियौंदेखी नै आध्यात्मिकता पर्यटनको मुख्य आधार बनिरहेको छ । लुम्बिनी प्रदेशमा हिन्दुहरुका प्रसिद्ध धार्मिक स्थलहरुमा कुनै प्रचार विना नै नेपाल र भारतका भक्तजनहरु पुग्ने गरेका छन् । धार्मिक आस्थाको कारणले प्रदेशका विभिन्न स्थानमा पुगेका भक्तजन र धार्मिक पर्यटकहरुले अहिलेपनि लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनको लागि सदभावना दुतको काम गरिरहेका छन् । यस्ता तीर्थालुलाई थप सुविधा प्रदान गर्ने र बढी समय विताउन प्रोत्साहित गर्ने हो भने पर्यटन क्षेत्रले अत्यधिक लाभ लिन सक्नेछ ।

लुम्बिनी प्रदेश हिन्दु र बौद्ध पर्यटनको लागि मात्र नभएर अन्य सस्कृतिमा आधारित पर्यटनको राम्रो स्थान हो । नवलपरासीको मदारबाबा, बाँकेको खलिफा नुर अहमद शाहको मजार, हजरत बाबा कम्मर शाहको मजार र मुसबेटवा बाबाको मजार हिन्दु र मुस्लिम दुवै धर्मावलम्बीहरुको आस्थाको केन्द्र हुन् । यी क्षेत्रहरुलाई अझ प्रचार प्रसार गर्ने हो भने लुम्बिनी प्रदेशले भारतमा रहेका लाखौ हिन्दु र मुस्लिम धर्मावालाम्बिहरुलाई ल्याउन मद्दत पुग्नेछ ।

निजी क्षेत्रको साथ
प्रदेशको पर्यटनलाई लक्षित गरेर निजी क्षेत्रले होटेल व्यवसाय र अन्य पर्यटकीय सुविधामा अरबौ खर्च गरेका मात्र छैनन्, व्यवसायीहरुले आफ्नै प्रयासमा लुम्बिनीको प्रचारको लागि स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । मेला महोत्सव, फुड फेस्टिभल, टुरमार्ट, संचालन गर्ने, बिदेशमा कार्यक्रम गरि लुम्बिनी भ्रमणमा आउन प्रोत्साहित गर्ने, आएका पर्यटकलाई घुमफिर गर्न सघाउने काम निजि क्षेत्रबाट भैरहेको छ । निजि क्षेत्रसंग सरकारले अझ राम्रोसंग सहकार्य गर्न सकेमा लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न सजिलो हुनेछ ।

र अन्तमा,
अहिलेसम्म लुम्बिनी प्रदेशको पर्यटन लुम्बिनी सेरोफेरोमा मात्र केन्द्रित रहेको छ । जसले गर्दा प्रदेशका अन्य क्षेत्रले पर्यटकीय लाभ लिन सकेका छैनन् र लुम्बिनीमा पनि लामो समय पर्यटक नबस्दा अपेक्षित लाभ प्राप्त हुन सकेको छैन । समग्र लुम्बिनी प्रदेशले पर्यटनबाट लाभ लिनको लागि सबै स्थानमा पर्यटकहरु पुग्ने, बस्ने र सेवा लिने अवस्था तयार हुनुपर्छ । पर्यटकहरु आँफै पर्यटकीय स्थलमा पुग्दैनन, उनीहरुलाई डो¥याउनु पर्छ । पर्यटकलाई डो¥याउनको लागि पर्यटन प्रवद्र्धन आवस्यक छ । लुम्बिनीको पर्यटनलाई प्रवद्र्धन गर्न सक्ने आधारहरु यहाका सम्पदाहरु, बौद्ध र हिन्दु स्थल र संस्कृति, पर्यवरणिय विविधता, राज्यको चासो र उपलब्ध सुविधाहरु हुन् । यिनीहरुलाई अझ व्यवस्थित गर्ने, विस्तार गर्ने र बजारीकरण गर्ने हो भने पर्यटनबाट लुम्बिनी प्रदेशले समृद्धिको आधार निर्माण गर्न सक्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।