ताजा अपडेट »

भारतमा नागरिकता विधेयकको चर्चो विरोध, आसाममा कर्फ्यु

विहीबार, २६ मंसिर २०७६, ११ : ३०
2 Shares

मंसिर २६,

काठमाडौँ । भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएसँगै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ । सोमबार विधानसभाबाट पारित भइसकेको नागरिकता विधेयक बुधबार राज्यसभाबाट पनि पारित भएको हो । विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो ।

संसदबाट नागरिकता संशोधन विधेयक पारित भएपछि बुधबार हिंसात्मक प्रदर्शन भएको थियो । आन्दोलन चर्किंदै गएपछि आसामको गुवाहाटीमा साँझदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ । प्रदर्शनकारीले त्यहाँको चबुआ र पनीटोला रेल स्टेशनमा तोडफोड तथा आगजनी गरेका छन् । अन्य केही सवारी साधनमा पनि आगजनी भएको छ । त्यस्तै आसामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको घरमा प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका छन् । साथै आसामका केन्द्रीय मन्त्री रामेश्वर तेलीको घरमा हमला भएको छ ।

त्रिपुरामा समेत विधेयकको विरोध गर्दै प्रदर्शन भएपछि सेना तैनाथ गरिएको छ । स्थानीय प्रशासनले सेनालाई उच्च सतर्कतामा राखेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आसामको गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय १० कम्पनी अर्धसैनिक बल र राज्य सुरक्षा बललाई तैनाथ गरिएको छ । डिब्रुगढ र तिनसुकिया रेल स्टेशनमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको भारतीय मिडियाहरुले लेखेका छन् ।

दुबै सदनबाट पारित भएको नागरिकता विधेयकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानका हिन्दू, जैन, इसाइ, शिख र फारसी समुदायलाई भारतीय नागरिकता दिने व्यवस्था गरिएको छ । उत्तर पूर्वोत्तर राज्यका आदिवासीले बाहिरबाट आएकालाई नागरिकता दिँदा आफ्नो पहिचान र जीविका खतरामा पर्ने भन्दै विरोध जनाएका हुन् ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।