ताजा अपडेट »

अर्थमन्त्री शर्मा भन्छन्- कर्णालीकाे विकासमा कृर्षिकाे भूमिका महत्वपूर्ण छ

आइतबार, ०९ असोज २०७९, १३ : ३६
8 Shares

जुम्ला । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । जुम्लामा आयाेजित कार्यक्रमा उनले अझ कर्णाली जस्ताे क्षेत्रकाे विकासमा कृषिकाे भूमिका निकै महत्वपूर्ण हुने बताए । 

'कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धी सम्भव छैन,' उनले भने, 'किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार छ ।' अर्थमन्त्री शर्माले कर्णालीसँग समग्र मुलुकलाई नै पाल्न सक्ने सामार्थ्य भएकोले कर्णालीमा लगानी बढाउन जरुरी रहेकाे बताए । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुराउँन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुराउन सरकार लागिरहेकाे पनि उनले बताए । 

जुम्लाको गुठीचौर गाउँपालिका-५ स्थित गुठीचौर एग्रो फार्मको उद्घाटन गर्न शनिवार जुम्ला आएका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योग्दान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, 'जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ ।'

कर्णाली कृषि, पर्यटन, जडिबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र प्रर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको उनले बताए  । जुम्लाका उत्पादनलाई सहज रुपमा बजारमा पुराउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिने शर्माले बताए ।

कर्णालीको कृषिमा प्रर्याप्त लगानी भए कर्णालीको गरिबी पाँच वर्षमा अन्त्य हुने समेत उनको दाबी  छ । जुम्ली उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुराउने सहज वातावरण बनाउन सरकार लागि परेको बताए । यस्तै, सांसद गजेन्द्रबहादुर महतले गुठीचौर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धीको आधार रहेको बताए । यसले धेरैलाई रोजगारी दिनुकाे साथै कृषिमा नयाँ आयाम ल्याएकाे उनले बताए ।  

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताए  । २०७५ सालदेखि सुरु भएकाे एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार स्याउकाे बिरूवा रोपेकाे सञ्चालक मिमबहादुर भण्डारीले बताए । उनले ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेकाे बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।