ताजा अपडेट »

भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा

आइतबार, ०९ असोज २०७९, ११ : ३३
16 Shares

गुल्मी । ‘देवरबाबु ब्रेन ट्युमरको बिमारले जीवन मरणको दोसाँधमा हुहुुन्छ, उहाँको उपचारका लागि दुई–चार लाख जुटाउन पाए धन्य हुने थियो भन्दै तड्पेका थियौं ।’-हालै दुबईमा नेपाली रुपैयाँ झण्डै ३५ करोडको चिट्ठा पार्न सफल गुल्मी उर्लेनी गाउँका भरत बिककी श्रीमती मञ्ज्ु बिकले भनिन–‘ त्यति ठूलो रकमको चिट्ठा पर्याे भन्ने सुन्दा सपना जस्तै लागेको छ ।’

जिल्लाको रेसुङ्गा नगरपालिका–१२ मा पर्दछ, उर्लेनी गाउँ । त्यसमा पनि उर्लेनी संगैको बुढीझिर्मी र बिक परिवारको हात्तीढ्ुङ्गा टोल बुढी अधिकांश गरिब विपन्न दलितहरुको बसोबास भएको क्षेत्र हो । तिनै विपन्नका पनि विपन्न , दैवको चोट माथि पनि चोट खेप्दैै आएको परिवार हो हालै दुबईमा नेपाली झण्डै ३५ करोड रुपैयाँको चिठ्ठा पार्न सफल भरत बिकको परिवार । भरतकाका भिनाजु उर्लेनी गाउँकै मिनबहादुर बिश्वकर्माका अनुसार २०५८ साल देखि त्यो परिवारमा एकपछि अर्को हुँदै त कहिले एकैसाथ नियतिले बज्रपात गर्दै आएको थियो ।

सम्पत्तीका नाममा दुईचार डोका मकै फल्ने बारीका सुर्का र सानो एउटा घर । कमाएर परिवार पाल्ने घरको मुली मान्छे नै प्यारालाईसिसको बिमारले थला परे पछि बिमारीको उपचार खर्च जुटाउनु त परै जाओस् बिहान बेलुकाको जोह गर्न समेत मुस्किलले परेको थिये । भारतमा नोकरी गरेर घर परिवार चलाउँदै आएका भरतका बाबु झकबहाद्ुर बिकका बाबु प्यारालाइसिसको बिमारले थला परे । अन्ततः झकबहादुरको कमाई बाबुकै उपचारमा सकिन थाल्यो । नियतिको अर्को बज्रपातः फेरी उनै झकबहादुर पनि प्यारालाइसिस बिमारकै आक्रमणमा परे ।

नियतिको फेरी तेश्रो आक्रमणः उनका कान्छा छोरा बिष्णु बिक ब्रेनट्युमरको बिमारले थला परे । यसरी एकै परिवारमा तीन जना गम्भीर रोगले थला परेपछि त्यो भन्दा बढि कष्टकर विपत्तीको व्यथा अरु के नै होला र ? भरत बिककी श्रीमती मञ्जु बिक भन्छिन्–‘भोग्दै आएको दुःख–कष्टका कुरा अर्कासित कहेर के नै पाइएला र ? तर, कहुँ भने भनि साध्य छैन ।’

सुखका बेला सम्झनामा दुःखका दिन…

‘सानै उमेरदेखि उहाँ श्रीमान) छिमेकी देश भारत हुँदै विदेश (दुबै) जानु भएको हो । उहाँले पठाएको पैसा घर खर्च र ऋण तिर्न मै ठिक्क भएको छ । आज हाता पर्यो आजको–आजै साहुलाई बुझायो । त्यसैले उहाँले कमाएको एक मुष्ट दश हजार रुपैयाँ मैले संगालेर अहिलेसम्म राखेकी छैन । खै अहिले बिदेशमा ३५ करोड जति रकम चिठ्ठा पर्याे भन्ने सुनेकी छु, तर थाह छैन सपना हो कि विपना ’ भरत पत्नी मञ्जुलीले सुनाइन् ।

शुक्रबार हामी पुग्दा उनको घरको ढोका बन्द थियो । दिनको समयमा प्राय त्यहाँका दलितहरुको घरमा ढोका लगाएको देख्नु नौलो कुरा होइन । दिनभरी मजदुरी गर्न हिड्नु् साँझ घर आउनु उनिहरुको सदियांैदेखिको दिनचर्य हो । मञ्जु पनि घरमा ढोका लगाएर घर देखि तलको बारी खन्दै थिईन । को हुनुहुन्छ घरमा ? भनेर धेरै बेर चिच्चाए पछि तलबाट मञ्जुले भनिन –‘म छु , कहाँ बाटो को आउनु भएको हो ? हाम्रो जवाफ पछि उनी घरको दलानमा आइन् ।

एकतले टिनले छाएको घर । भित्रका कोठाहरु वर्षायामका कारण कुनोमा पानीको मुल फ्ुटेर चिसाम्मे । घर अगाडी ढिक –पेटी भत्किएर जोखिमको अवस्था । जाँतोमा लेउ लागेको । धारामा मुख खुस्केका दुई तीन वटा सिल्टीका (आलमुनीयम ) गाग्री । भकोरामो दुई चार वटा बाख्रा । ग्रामीण बस्तीका आम घरमा झै दृश्य स्वयम्ले त्यस परिवारको गरिबीको परिचय दिइरहेको थियो ।

आज भन्दा ९ वर्षअघि थोर्गाको पानी ट्याङकी नजिकै माइती घर भएकी मञ्जुसंग भरतको विवाह हुँदा नयाँ बुहारीलाई जति लुकाउन खोजे पनि घरको चरम गरिबी आँफै बोल्ने गरेको मञ्जु सुनाउँछिन् । सटासुटु विवाह भए पनि विवाह कै दिन उनका सासु ससुरा विवाह खर्च जुटाउनका लागि गाउँमा ऋण माग्न जानु परेको पत्तो मञ्जुले पाइसकेकी थिइन् । तर, पनि धन भन्दा माया ठूलो ठानिन् उनले । पिर नगर, अहिले यस्तै भए पनि कुनैदिन कमाएर सुख दिउँला तिमीलाई भनेर भन्नुहुन्थ्यो । त्यसैमा खुशी र ढुक्क थिएँ।’ मञ्जुले विवाह ताकाका दिनहरु कोट्याउँदै भनिन् ।

१२ वर्षकै उमेरमा भारततिर लागेका थिए भरत
चरम गरिबीमा रहेको एउटै परिवार भित्र दुई जना प्यरालाइसिसको बिमारी भए पछि घरको सब भन्दा जेठा छोरा भरताई १२ ÷१३ वर्षकै उमेरमा विपद् आइलाग्यो । उनलाई छिमेकी दाजु भाईहरुले भारततिर रोजगारी गर्न लगेर गए । पछि फेरी उनका भाई बिष्ण्ु बिकलाई ब्रेनट्यूमरको बिमारले छोयो ।

भारत जाते आते गर्दै जाने क्रममा भरतका हजुर बाबुको मृत्य्ु भयो । बाबुलाई पनि प्यारालाइसिस विमार अलि ठिक भएपछि श्रीमति मनिकलालाई लिएर भारततिरै गए । बुढेसकालमा घरै पनि बस्थे उनी तर उनै कान्छा छोराको उपचारका लागि उनी भारततिर हिँडे । यता भरत सउदी अरबतिर लागे । जतिबेला हजुर बाबुको मृत्यु , भाई त्यस्तो बिमारले थला परेको विदेश जाने खर्च निकाल्न भरतलाई बढो मुस्किल परेर जसो–तसो ऋण काढेर हिडेको उनकी दिदी गीता बिक बताउँछिन् । ति दुःखका दिन के कोट्याउनु सर, कहिले घरमा छाक नै अड्किन्थ्यो । दुई–चार सय ऋण सापटी नपाउँदा घर परिवारमा के हालत हुन्थ्यो’ गीताले भनिन–‘ भाइलाई अहिले त्यत्रोे पैसाको चिठ्ठा पर्यो भन्दा पत्याउन पनि सकेकै छैन ।’

उनका श्रीमान, अर्थात् भरतका भिनाजु मिनबहादुर बिश्वकर्माको घरपनि सोही गाउँमै हो । नजिकबाट ससुरालीको गरिवी र दुख विमारले निम्ताएको विपद नजिकबाट नियालेका उनले भने –‘घरमा साहै्र मुस्किल परेपछि उसलाई (भरतलाई ) मैले नै १२ ÷१३ वर्षको उमेरमा भारत पठाएको हुँ । साउदी गएर पनि उसले चिठ्ठा पारेको थियो । त्यस्तै ८० हजार जति परेको थियो । तर, यता ससुरा बाबुको लडेर खुट्टा भाँचिएकोले त्यसैमा खर्च भएको थियो ।

योजना केहि छैन मात्र भाई बचाउने सपना
त्यतिका पैसा पाउने भएपछि फोनमा श्रीमानले भविष्यका के के योजना सुनाउनु भएको छ त ? भन्ने प्रश्नमा मञ्जुले भनिन्– ‘अँह, उहाँले यसो गर्ने उसो गर्ने भनेर केही योजना सुनाउनु भएको छैन । खाली बिरामी भाई कसरी बचाउन सकिन्छ भन्ने सपना मात्रै उहाँसंग छ । उहाँले बिदेशम गाडी धुने काम गरेर महिनामा २५/३० हजार कमाउनु हुन्छ । यता घर खर्च र उता भारतमा भाइको उपचारका लागि दुबैतिर पैसा पठाउँदा गएको ऋण पुरै तिर्न सक्नु भएको छैन ।’

चार पाँच लाख ऋण तिर्न अझै बाँकी छ । दुई चार डोका मकै हुने बारीमा यसपाली त झन बाँदरले सकेर पोलेर खाने दुई–चार घुँगा पनि छैन । छाक अड्कने गरेको कुरा पहिला पहिला मात्रै होईन । साँच्ची भन्ने हो भने अहिले पनि उहाँले पैसा नपठाए छाक अड्किने अवस्था छ । ’
उनका अनुसार गाउँमा छँदा पनि भरत गलत संगतसंग लागेनन्। साथी भाइसंग हिलो मुछ्ने, ढुङ्गा बोक्ने काममा हिड्ने गर्दथे । पहिला साउदी अरबमा ३१ महिना बस्दा पनि श्रीमतीलाई महङ्गो मोबाइल किनेर पठाएनन् र आफूले पनि किनेन् । साउदीबाट फर्केपछि दुबई गएको पनि अब आउने मंसिर १९ गते तीन वर्ष पुग्छ । यस अवधीमा पनि उनीहरु पुरानै मोबाइलमा कुरा गर्छन्।

मञ्जुले फेसबुक चलाउँदिनन् । ५ वर्षका एक छोरा र ३ वर्षकी एक छोरी छन् । अहिलेसम्म मञ्जुले बैंक खाता खोलेकी छैनन् । जब चिठ्ठा परेको कुरा आयो त्यसपछि तम्घासमा रहेका विभिन्न बैंकहरु उनको घरमै पुगेर खाता खोली दिन सुरु गरेका छन् । विवाहित भरतकी बहिनी लक्ष्मी बिक पनि घरमा छाक अड्किनेदेखि उपचार खर्च अभावमा तड्पिएका ती दिनहरुको स्मरण गर्दै भावुक हुन्छिन् ।

भनिन्छ, भाग्यका दुई सिक्का हुन्छन् उलट–पुलट हुने क्रममा एक पटक दुर्भाग्य आफूतर्फ फर्किएपनि अर्को पटक शौभाग्य आफूतर्फ फर्किन सक्छ । मात्रै धैर्यता र संघर्षको पनि खाँचो छ । भरतको परिवारमा पनि त्यही भएको छ । पटक पटक नियतिको बज्रपातपछि एकै साथ सफताको सिक्का आफुतिर फर्किएको छ । गाउँका सबैभन्दा गरिब विपन्न भरतको परिवार त्यो रकम प्राप्त गरि घर फर्किएपछि त्यसै गाउँको सबैभन्दा धनी परिवार हुने पक्का छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार