ताजा अपडेट »

केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने

आइतबार, ०९ असोज २०७९, ११ : ०२
4 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।

यो ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ ।  ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
 
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।