ताजा अपडेट »

नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा ऐतिहासिक उपाधि जित्ने अवसर

सोमबार, ०३ असोज २०७९, १० : १६
4 Shares

काठमाडौँ ।  साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलोपटक बंगलादेश र नेपाल उपाधिको लागि आज भिड्दै छन् । दशरथ रंगशाला आज नयाँ इतिहासको साक्षी बन्ने छ । महिला साफले पहिलोपटक नयाँ च्याम्पियन पाउँदैछ ।

नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा फुटबलको अधिकारिक प्रतियोगितामा उपाधि जित्ने अवसर मिलेको छ । स्वदेशमा नेपालले सन् १९८४ मा भएको तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणमा नेपाली पुरुष टोलीले फुटबल उपाधि जितेको थियो । 

त्यसयता नेपाली सिनियर महिला वा पुरुष टोलीले स्वदेशमा उपाधि जितेको छैन । पुरुष फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको ३८ वर्षपछि सोही दशरथ रंगशालामा महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अवसर पाएको छ ।

पछिल्लो पटक पुरुष टोलीले सन् २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप जितेको थियो । नेपालले जितेको त्यो नै अन्तिम फुटबल उपाधि हो । त्यस पछिका ६ वर्ष नेपालले अन्तर्राष्ट्रिय फुटबलमा उपाधिविहिन बन्नु परेको छ । यसबीचमा नेपालको पुरुष टोलीले साफ च्याम्पियनसिप तथा महिला टोलीले साफ र सागको फाइनल खेल्दा उपाधि जित्न सकेन ।

यस बहुप्रतीक्षित बनेको यो साफ महिला च्याम्पियनसिप २०२२ कै फाइनल अघि सेमिफाइनलमा पनि इतिहासहरु रचिए । जसमा सर्वकालीन च्याम्पियन भारतले समूह चरणमा बंगलादेश र सेमिफाइनलमा आयोजक नेपालसँग हार व्यहोर्दा पहिलोपटक प्रतियोगिताबाट खाली हात बाहिरिनु पर्यो ।

साफमा पाँचौ पटक नेपालले फाइनल खेल्न गईरहेको छ भने बंगलादेश २०१६ पछि फेरि फाइनल पुगेको छ । लगातार भारतसँग फाइनलमा पराजित हुँदै उपाधि बिमुख बनेको नेपालले घरेलु भुमिमा पहिलोपटक ट्रफी उचाल्ने सपना बुनेको छ । उता बंगलादेश दोस्रो पटकको फाइनलमा उपाधिमा जित्न चाहन्छ ।

सिनियर टोलीमा नेपालले बंगलादेशसँग अहिलेसम्म हारेको ‌छैन । साफ च्याम्पियनसिपमा पनि नेपालले अहिलेसम्म बंगलादेशविरुद्ध तीनवटै खेल जितेको छ । दुई राष्ट्रबिच भएका ७ खेलमा नेपालले ५ जित र २ बराबरीको नतिजा निकालेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।