ताजा अपडेट »

सिद्धार्थनगर प्रथम उपमेयर कप कराँते प्रतियोगिताको उपाधि रोहिणीलाई

शुक्रबार, ३१ भदौ २०७९, २२ : ३१
14 Shares

भैरहवा । रुपन्देही सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप कराँते प्रतियोगिता–२०७९ उपाधि रोहिणी गाउँपालिकाको कार्यालयले चुमेको छ । आयोजित प्रतियोगितामा रोहिणी गाउँपालिकाले दुई वटा गोल्ड, दुई वटा र एउटा ब्राउन्स पदक प्राप्त गरी प्रथम भएको प्रतियोगिताका संयोजक एवं नेपाल सितोरियो कराँते डो संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बताए । 

त्यस्तै दीप बोर्डिङ स्कुल दोस्रो र बुटवल डोजो तेस्रो स्थानमा रहन सफल भए । भैरहवामा आयोजित उक्त प्रतियोगितामा पुरुष तर्फ ३४, ३८, ४२, ४७ र महिला तर्फ ३०, ३५, ४० र ४५ तौल समूहका खेलाडीहरू सहभागिता जनाएका थिए ।

प्रतियोगितामा बुटवल डोजो, दीप बोर्डिङ स्कुल, एभरेस्ट बोर्डिङ स्कुल, कालिका कराँते डो एकेडेमी, मजुवा डोजो, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका, रोहिणी गाउँपालिका र देवदह नगरपालिकाका खेलाडीहरू प्रतियोगितामा सहभागी थिए । प्रतियोगिताका उपाधि चुमेको रोहिणीका खेलाडीहरूलाई सिद्धार्थनगर नगरपालिकाको उपमेयर उमा अधिकारीले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिन् । 

त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहन सफल भएका समूहलाई उनले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिन् । प्रतियोगितामा पुरुष तर्फ दीप बोर्डिङ स्कुलका गोविन्द अर्याल र महिला तर्फ कालिका कराँते डो एकेडेमीको अर्यधा ढकाल उत्कृष्ट खेलाडीको रूपमा छनोट भए । उनीहरूलाई पनि ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको छ । विभिन्न तौल समूहको खेलका विजेता अन्य खेलाडीहरूलाई मेडल र प्रमाण प्रदान गरिएको थियो भने प्रशिक्षकहरूलाई पनि प्रमाण पत्रले सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरको उपमेयर उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकाले खेल र खेलाडीहरूको प्रोत्साहनका लागि अगामी बजेटमा कराँते खेलका लागि थप बजेट विनियोजन र योजना निर्माण गर्ने बताइन् । ‘खेलले नगरलाई विश्वमै पहिचान दिलाउन सक्ने भएकोले हामीले खेललाई प्राथमिकतामा राखेर काम गर्छौ’ उनले भनिन्, ‘समस्यामा आत्मरक्षाका लागि पनि उपयोगी हुने भएकोले कराँते खेल र खेलाडीहरूका लागि हामी सधैँ सकारात्मक छौँ ।’ 

उनले नगरपालिकाले अगामी दिनमा अझ थप प्रतियोगिताहरू आयोजना गर्ने जनाइन् । उनले अगामी दिनमा हुने प्रतियोगितामा प्रथम आउनेलाई नगरपालिकाका तर्फबाट पनि पुरस्कृत गर्ने बताइन् । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल लगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।