ताजा अपडेट »

प्रदेश ५ : ११ महिनामा पौने १४ लाख पर्यटक

मंगलबार, २४ मंसिर २०७६, १४ : ३०
2 Shares

मंसिर २४,

बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्ने विदेशी तथा आन्तरिक पर्यटकको संख्या गतवर्षको तुलनामा खासै बढ्न नसकेको पाइएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकलाई उनीहरुको बसाइ अवधि लम्ब्याउन नसकिरहेको अवस्थामा पर्यटक आउने क्रम पनि त्यति उत्साहजनक बन्न सकेको छैन ।

प्रदेश ५ सरकारको जारी लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारको नेपाल भ्रमण वर्ष सन् २०२० संघारमा आउँदै गर्दा पर्यटक आगमन अपेक्षा अनुसार नबढ्दा पर्यटन व्यवसायीमा निराशा बढेको छ । चालू वर्षको ११ महिनामा (जनवरी देखि डिसेम्बर सम्म) लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुको संख्या १३ लाख ८१ हजार ८ सय ४९ जना रह्यो । जस मध्ये १ लाख ५५ हजार ५ सय ३ तेश्रो मुलुकका, १० लाख ४९ हजार ७ सय २ नेपाली र १ लाख ७६ हजार ६ सय ४४ भारतिय पर्यटक सो अवधिमा लुम्बिनी पुगेको तथ्यांक लुम्बिनी विकास कोषले सार्वजनिक गरेको छ ।

यो संख्या गत वर्षको सोहि अवधिको तुलनामा थोरैले बढी हो । गत वर्ष यही अवधिसम्म तेश्रो मुलुकका १ लाख ५१ हजार ७ सय ३७, नेपालका १० लाख ४३ हजार ४५ र भारतका १ लाख ६२ हजार २ सय ११ गरी जम्मा १३ लाख ५६ हजार ९ सय ९३ जनाले लुम्बिनी भ्रमण गरेका थिए । वर्ष २०१८ मा कुल लुम्बिनी पुग्ने पर्यटकहरुको संख्या १४ लाख ३३ हजार १ सय १० जना थियो ।-कारोबार

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।