ताजा अपडेट »

पर्यटकीय पूर्वाधारमा फड्को मार्दै रुपन्देही

बुधबार, २९ भदौ २०७९, १६ : ४६
72 Shares

भैरहवा । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मको केन्द्रविन्दु हो । यसलाई केन्द्र बनाएर रुपन्देही जिल्लामै यस संग सम्बन्धित बिभिन्न पर्यटकिय गन्तब्यहरु रहेका छन् । बुद्धको जन्मस्थल लुम्बिनी बाहेक रुपन्देही जिल्लामा घुम्न लायक अन्य बौद्ध सम्पदा स्थलहरुमा बुद्धकी आमा मायादेवीको माईती घर देवदह र बुद्ध युगको पुरातात्विक स्थल सैनामैना पर्छन् ।

रुपन्देहीमा बौद्ध धर्मसंग सम्बन्धित मात्र नभई सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक स्थलहरु पनि उल्लेख्य रुपमा रहेका छन् । थारु संस्कृति र विरहा गीत, बुटवलको जितगढी किल्ला, सैनामैनाको पर्रोहा धाम, सिद्धबाबा जस्ता धार्मिक स्थलहरु रहेका छन् । यस्तै गैडहवा ताल, गजेडी ताल, दानो खोला, तेलार खोला लगायतका सुन्दर सिमसार क्षेत्रहरू रुपन्देहीमा छन् । नुवाकोट दरबार लगायत शिवालिक क्षेत्रमा हल्का हावापानी भएका अन्य रमणीय स्थलहरु पनि छन् । मणि मुकुन्द सेन बोटानिकल गार्डेन सहित शैक्षिक पार्कहरु रहेका छन् । यतिमात्र हैन रुपन्देही तानसेन, पोखरा र मुस्ताङ जस्ता लोकप्रिय हिमाली पर्यटकीय गन्तव्यहरूको प्रवेशद्वारको रूपमा पनि काम गर्दछ ।

प्राकृतिक रुपले पूर्ण रहेको नेपालमा भारतको गर्मी छल्न प्राय पर्यटक आउने गरेका छन् । पर्यटकको स्वागत, सस्तो मूल्य, बैधानिक जुवाघर, स्तरिय होटल, मनोरन्जनात्मक गतिविधिहरुको कारण पर्यटकहरु भैरहवा तथा यस आसपास आकर्षित हुने गरेका छन् ।

प्राकृतिक, धार्मिक एवम सास्ंकृतिक रुपमा धनी रहेको रुपन्देहीमा पछिल्लो समय पर्यटकिय पूर्वाधारहरुको विकासले फड्को मारेको छ । सरकारी क्षेत्रबाट मात्र नभई यहाका निजि क्षेत्रहरुले पर्यटकिय पूर्वाधारमा लगानी गरे पछि यस क्षेत्रको पर्यटकिय सम्भावना अझै बढेर गएको छ । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको निर्माण पछि पूर्वाधारमा लगानी बढेको हो ।

बेलहियामा अध्यागमन कार्यालय, पर्यटक सूचना केन्द्र, फराकिलो बाटो, स्तरिय यातायातका साधन, पर्यटक स्तरिय होटलको घुइचो, पर्यटक भुलाउने स्थलहरु यस क्षेत्रको पहिचान बनेका छन् । पछिल्लो समय भारतीय पर्यटकलाई लक्षित गरि रुपन्देहीमा फनपार्क, क्यासिनो, रात्रीकालीन बजार सञ्चालनको क्रम बढेको छ ।

यहा ८९ वटा पर्यटक स्तरिय होटल रहेका छन् । यस्तै १ सय ५० भन्दा बढी अन्य होटलहरु रहेका छन् । सिद्धार्थनगर होटल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठका अनुसार रुपन्देही एकै पटकमा ६ हजार बढी पर्यटकलाई धान्न सक्ने क्षमता राख्छ । “अहिले यस क्षेत्रको बजार, पर्यटन भारतीय पर्यटकले धानिरहेका छन् ।” उनले भने “भैरहवा र बुटवल धेरै व्यापार, पर्यटन र मनोरञ्जन गतिविधिहरु गर्ने मूख्य २ शहर भई सकेको छ ।”

भैरहवा तथा यस आसापास गरि ६ वटा क्यासिनो सञ्चालनमा रहेका छन् । यस्तै भैरहवामै २ वटा वाटरपार्कमा भारतीय पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । लुम्बिनी एम्युजमेन्ट पार्कमा एकै दिन २ हजार ५ सय जना बढीलाइ सेवा दिएको छ । भैरहवाकै होटल बोधी रेडसनमा रहेको वाटर पार्कले पनि भारतीयहरुलाई लोभ्याउने गरेको छ । मंगलापुर, बुटवल, बेलवास लगायतका स्थानका वाटरपार्कमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

लुम्बिनी बिकास कोषका सूचना अधिकारी हरिध्वज राईले उपलब्ध गराएको सूचना अनुसार लुम्बिनीमा अगस्त महिनामा ११ हजार ३ सय ४२ जनाले मायादेवी मन्दिर अवलोकन गरेका छन् । यस्तै अंग्रेजी बर्षको ८ महिनामा मात्रै लुम्बिनमिा १ लाख १७ हजार ७ सय ४८ जनाले अवलोकन गरेको राईले जानकारी दिए । भारतीय पर्यटकको तथ्यांक लुम्बिनी बिकास कोषले राख्ने गरेको छ । क्यासिनो र होटलमा बस्ने भारतीयहरुको परिचय पत्र माग गर्ने गरिए पनि यकिन तथ्यांक भने नहुने यहाका ब्यवसायी बताउछन् ।

निजि क्षेत्र मात्र हैन सरकारी स्तरबाट पनि पर्यटन पूर्वाधारमा लगानी बढाईएको छ । पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका कार्यले प्राथमिकता पाइरहेका छन् । पर्यटन डिभिजन कार्यालय रुपन्देहीले आर्थिक बर्ष २०७८÷०७९ मा रुपन्देहीमा २७ करोड ८९ लाख रुपैयामा कुल २ सय १७ पर्यटन पूर्वाधारको योजना बनाएको थियो । निर्वाचन लगायतको कारण १६ करोड ६३ लाख बराबरको १ सय ७० वटा योजना मात्र सम्पन्न गर्न सकिएको कार्यालका सूचना अधिकारी बिनोद पौडेलले जानकारी दिए । यसमा बिशेष गरि यस क्षेत्रका धार्मिक एवम पर्यटकिय पूर्वाधारहरुको विकास गरिएको उनको भनाई छ ।

पर्यटन डिभिजन कार्यालय रुपन्देहीले साविक लुम्बिनी अञ्चलका ६ जिल्लामा काम अगाडी बढाएको छ । सूचना अधिकारी पौडेलले दिएका जानकारी अनुसार चालु आर्थिक बर्षमा पनि रुपन्देहीमा मात्र ९ करोड ८५ लाख बराबरको ७१ वटा योजनालाई अगाडी बढाईदै छ । यस मध्ये मर्चवारमा रहेको एतिहासिक मर्चवारी मन्दिरलाई बहुबर्षिय योजनामा राखी यसको विकास गरिने लक्ष्य रहेको उनले बताए ।

पर्यटज डिभिजन कार्यालयले रुपन्देहीका महिलवारमा “बहुसास्ंकृतिक” सांस्कृतिक ग्रामको अवधारण अगाडी बढाएको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको मोतीनगरलाई र पश्चिम नवलपरासी सुनवल नगरपालिकाको केरवानीलाई संयुक्त रुपमा अवध सांस्कृतिक ग्रामको रुपमा अगाडी बढाईएको पौडेलले जानकारी दिए । पहाडी जिल्ला गुल्मीको रिडी क्षेत्र र रुरु क्षेत्र तथा अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा खस–आर्य सांस्कृतिक ग्राम बनाईदैछ । यस्तै पाल्पाको जन्तीलुङ मरामकोटमा मगर सांस्कृतिक ग्रामको अवधारणा अगाडी बढाइएको उनले बताए ।

यस बाहेक बुटवलमा रहेको जिपलाईन, निर्माणाधिन अवश्थामा रहेको केबलकारले पनि पर्यटकहरुलाई आकर्षित गर्नेछ । रुपन्देहीको पर्यटकिय पूर्वाधारमा सरकारी साथै निजि क्षेत्रले गरेको लगानीको कारण कोभिडका कारण थला परेको पर्यटकिय चहल पहल बढाएको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा