May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

प्रदेश नं १ बाट पनि श्रम स्वीकृति

423

माघ २३, काठमाडौं । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृति लगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार सम्बन्धी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने लगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो ।

श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गर्नुभएको थियो । सोही अनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय लिएको हो ।

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट पुनः श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति लगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालिएको थियो ।

पुस २९ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृति लगायत सेवा प्रदान गर्न शुरु गरिसकेको छ । त्यसैगरी सरकारले गत माघ ११ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो ।

पछिल्लो अपडेट