ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा गर्भवती महिलाको हत्या : २ वर्षपछि आरोपित पक्राउ

शनिबार, १८ भदौ २०७९, ०८ : ३३
35 Shares
शनिबार, १८ भदौ २०७९
35 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा एक युवकले गर्भवती प्रेमिकाको हत्या गरी दुई वर्षसम्म कानुनको नजरबाट लुकेको खुलासा भएको छ । सैनामैना नगरपालिका–११ शीतलापुरको शान्ति सामुदायिक वनमा मृत भेटिएकी युवतीको सनाखत भएपछि २ वर्षसम्म लुकेका आरोपी पक्राउ परेका हुन् । उनको हत्या प्रेमीले नै गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

हत्याको अभियोगमा कपिलवस्तुको शिवराज नगरपालिका ७ का ३६ वर्षीय काशीराम मुराउलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको छ । उनले आफ्नी प्रेमिका ३४ वर्षीया कुमारी अर्यालको हत्या गरेको प्रहरीले ईलाका प्रहरी सालझण्डीले जनाएको छ । कुमारी विवाहित हुन् । उनका श्रीमान् र दुई छोरी भए पनि प्रेमी भनिएका काशीरामको गर्भसमेत रहेको खुलेको छ । गर्भपतन गर्न नमान्दा काशीरामले हत्या गरेको प्रहरीको दाबी छ । तर हत्या भएको दुई वर्षसम्म पनि शवको सनाखत हुन नसक्दा हत्यारा पत्ता लाग्न सकेको थिएन ।

२ वर्षपछि खोतल्दा पत्ता लाग्यो घटनाको रहस्य

मिति २०७७ माघ १० गते दिउँसोको फायरलाइन जंगलमा घाँस काट्न गएका स्थानीय व्यक्तिले एक गर्भवती महिलाको शव फेला पारेका थिए । शव देख्नेबित्तिकै उनीहरुले इलाका प्रहरी कार्यालय सालझण्डीमा खबर गरे । तत्काल घटनास्थल पुगेको प्रहरीले पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र पँहेलो स्वेटरले घाँटी कसी रुखको फेँदमा बाँधी हत्या गरिएको अवस्थामा फेला पार्यो । अनुहारमा किरा परिसकेको अवस्थाको बेवारिसे महिलाको शवको घटनास्थल र लाशजाँच मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल पठायो ।

ती महिला को हुन्, ठेगाना कहाँ हो, केही पत्ता लागेन। प्रहरीले पत्ता लगाउन प्रयास गर्यो । तर सनाखत नै हुन नसकेपछि ज्यान मुद्दाको फाइल थन्क्याएको थियो । इलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक जगन्नाथ मरासिनी पुगेपछि पुराना घटनाका मुद्दाहरु हेर्छन् । त्यो मुद्दा पनि उनको नजरमा पर्छ ।

त्यसपछि उनले लुम्बिनी प्रदेशभरका जिल्ला प्रहरी कार्यालयमा २०७७ सालभर हराएका र हालसम्म फेला नपरेका व्यक्तिहरुको विवरण माग गरे। हत्या गरेकी महिलाको सम्बन्धमा कुनै पनि उजुरी फेला पर्दैन । खोजतलासको लागि निवेदन नै फेला नपरेपछि प्रहरीले ती महिलाको हुलिया सार्वजनिक गर्छ। शवको फोटो, उनले लगाएको कपडा, घडी र माला लिई स्थलगत रुपमै खोज्न थाल्छ प्रहरी। तर रुपन्देही जिल्लाभर केही पनि पत्ता लाग्दैन।

कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा खोजतलासको लागि सई मधु मरासिनीको कमान्डमा प्रहरी टोली नै खटिन्छ । त्यही क्रममा गत साउन महिनामा ती महिला गुल्मीको अर्खवाङ २ की ३५ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्याल रहेको खुल्छ ं। त्यसपछि प्रहरी ती महिलाका बुबा ७० वर्षीय भक्तिराम अर्याललाई गुल्मीबाट झिकाएर लासको सनाखत गराउँछ। भक्तिराम अर्यालले हातमा भएको टाटु र घडीको आधारमा आफ्नी छोरी भएको पत्तो पाएका थिए ।

उनले आफ्नी श्रीमतीलाई किनिदिएको घडी चिनोको रुपमा छोरीलाई दिएको, उनले लगाएको कालो माला र अनुहारको बनावटबाट छोरी भएको सनाखत गरेका थिए । भक्तिरामका अनुसार बसन्ती १५/१६ वर्षको उमेरमै आफैँ बिहे गरेर गएकी थिइन् । बिहे गरेर बुटबलको मगरघाटमा बस्ने क्रममा २०७३ सालतिर कपिलवस्तु शिवराज ७ का काशीराम मुराउसँग भेट भएको थियो । उनी मिस्त्री काम गर्ने श्रीमान भोला लोहारसँग दुई छोरीको साथमा बसिरहेकी थिइन् ।

काशीराम मुराउ ३ छोरी र एक छोराका बाबु हुन्। उनकी श्रीमती पनि घरमै थिइन् । बसन्तीसँगको प्रेममा परेका लोडर ड्राइभर काशीराम र बसन्तीबीच त्यही क्रममा यौन सम्बन्ध समेत भएको खुलेको प्रहरीले बताएको छ । बसन्ती गर्भवती भएपछि दुवै जना कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने स्थानमा २०७७ सालको वैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिएर बसोबास गर्दै आएका थिए ।

श्रीमान् र छोरीहरुलाई छाडेर आफू काशीरामसँग बस्दै आएको बसन्तीले घरमा बुबा भक्तिरामलाई फोन गरेर जानकारी पनि गराएकी थिइन् । उनकै गर्भ समेत रहेको र चैतमा सुत्केरी हुने भएकाले घिउ-बेसार समेत पठाइदिन भनेकी थिइन् । तर काशीरामले भने उनलाई बारम्बार गर्भपतनका लागि दबाब दिँदै आएका थिए ।

यही कारण उनीहरुको बारम्बार झगडा हुन्थ्यो । उनले आफ्नी एक महिला साथीलाई काशीरामले गर्भ फाल्न दबाब दिएको समेत सुनाएकी थिइन् । २०७७ साल पुसको अन्तिम हप्तातिर बुटवल गएकी बसन्तीलाई लिन काशीराम बुटबल फुलबारीसम्म लिन जान्छन् । सालझण्डीसम्म बसमा ल्याएर सालझण्डीमा लोकल रक्सी र दालमोठ किनेका थिए ।

आफूलाई सालझण्डी बजारमा मानिसहरुले चिन्ने भएकाले नजिकैको जंगलमा जान र उतै रक्सी खाएर रमाइलो गर्न उनले बसन्तीलाई प्रस्ताव गरे । दिउँसोको करिब ३ बजेतिर फायरलाइन जंगलमा लिएर गए र दुवैले रक्सी खाए । त्यही समयमा आफैँले लगाएको गलबन्दीले उनको घाँटी कसी हत्या गरेका थिए ।

शव नचिनियोस् भनेर बसन्तीले लगाएको स्वेटरले मुखमा बेरी नजिकैको रुखमा बाँधेर रक्सीको बोतल र उनले लगाएका चप्पलहरु वाणगंगा नदीमा बगाइदिएका थिए । त्यसपछि उनी त्यहाँबाट फरार भए । हत्या गरेको केही समयपछि काशीरामले बसन्तीका बुबालाई फोन गरी बसन्ती हराएको र आफूले खोजी गरिरहेको बताएका थिए । आफूले प्रहरीलाई समेत खबर गरिसकेको उनले बताएका थिए । बाबुलाई खोजतलास गर्नु पर्दैन भनेका थिए ।

२०७९ सालको वैशाखमा पनि उनले बसन्तीको बारेमा केही जानकारी पाउनु भयो कि भनेर भक्तिरामलाई सोधेका थिए । छोरीको हत्या भएको खुलेपछि भक्तिरामले यी सबै कुरा प्रहरीलाई बताइदिए । त्यही आधारमा प्रहरीले काशीरामलाई पक्राउ गरेको हो । काशीरामले हत्या स्वीकार गर्दै प्रहरीलाई घटनाबारे बताएका हुन् । भक्तीरामले किटानी जाहेरी दिएपछि काशीराम मुराउलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासीनिले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।