ताजा अपडेट »

मतदाता दावी बिरोध १९ गते सम्म, रुपन्देहीमा थपिए १५ हजार मतदाता

मंगलबार, ०७ भदौ २०७९, १८ : ३७
6 Shares

भैरहवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य लक्षित निर्वाचन कार्यालयले आफ्नो निर्वाचन कार्यक्रम अगाडी बढाएको छ । जिल्ला निर्वाचन कार्यालयले अन्तिम मतदाता नामावलीको लागि अद्यावधिक तथा दावी विरोधको प्रक्रिया कार्यक्रम अगाडी बढाएको छ ।

आयोगले तयार गरेको फोटो सहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवम् अद्यावधिक गर्नको लागि सहज पहुँच प्रदान गर्ने, मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण हटाउने एवम् त्रुटिहरू सच्याउने, निर्वाचनको घोषणा भएको मितिसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्ने, र मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि अद्यावधिक मतदाता नामावली तयार गर्ने  उद्देश्य सहित अद्यावधिक तथा दावी विरोधको प्रक्रिया अगाडी बढाईएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या प्रसाद भण्डारीले बताए ।

मतदाता नामावली अद्यावधिक एवम् दावी विरोधको कार्यक्रम भदौ १२ देखि सुरु हुने भण्डारीले जानकारी दिए । मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाता, विवरण हटाउने एवम् त्रुटिहरू सच्याउनु पर्ने मतदाता यस अवधिमा आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगि त्रुटिहरु सच्याउन सक्ने उनले बताए । तर यस अवधिमा भने नया दर्ता एवम मतदाता नामावलीलाई स्थान्तरण भने गर्न नसक्ने उनले बताए ।

२०७९ मंसिर ३ गते सम्ममा १८ वर्ष उमेर पुरा भएका मतदाताहरूको नामावली समावेश गरी तयार पारिएको अन्तिम मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा प्रकाशन गरिने छ र उनिहरु नै मतदान गर्न योग्य रहने छन ।

प्रारम्भिक तथ्यांक अनुसार स्थानिय तह निर्वाचन अघि अर्थात २०७९ वैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका ३  लाख २३ हजार ७ सय ७८ पुरूष, ३ लाख ८ हजार ५ सय ७४ महिला र ८ जना तेश्रोलिङ्गि गरि रुपन्देहीमा जम्मा मतदाता ६ लाख ३२ हजार ३ सय ६० जना मतदाता रहेका थिए । स्थानिय तहको निर्वाचन पछि साउन १९ गते सम्म प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन मिति घोषणा नहुदा सम्म रुपन्देहीमा १५ हजार मतदाता थपिएका छन् । अहिले रुपन्देहीमा ३ लाख १५ हजार ८ सय २ महिला, ३ लाख ३१ हजार ६ सय ७२ पुरुष र ८ अन्य सहित कुल ६ लाख ४७ हजार ४ सय ८२ मतदाता पुगेको निर्वाचन कार्यालयका तथ्यांकमा उल्लेख छ ।

स्थानिय तह निर्वाचनमा २ सय ८ मतदान स्थलमा ७ सय मतदान केन्द्र स्थापना गरि मतदानको ब्यवस्था मिलाईएकोमा मंसिर ४ गते हुने निर्वाचनको लागि जिल्लामा मतदान स्थल २ सय ८ वटा नै कायम राखी करिब ७ सय १७ मतदान केन्द्रबाट मतदानको ब्यवस्था गरिने जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी दिए । उनले यो अवधिमा रुपन्देहीका ८ वटा मतदान स्थललाइ परिवर्तन ग िअन्यत्र सार्न सिफारीस गरिएको समेत बताए ।

रुपन्देहीमा आगामी मंसिर ४ गते ५ वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभाको लागि निर्वाचन हुदैछ । जिल्लामा १ वटा उपमहानगरपालिका, ५ वटा नगरपालिका, १० वटा गाउँपालिकामा गरि कुल १ सय ५५ वटा वडाहरु रहेका छन् ।
मतदाता नामावलीमा दावी बिरोधको लागी सहयोग गरि दिन निर्वाचन कार्यालयले जिल्लाका सम्पूर्ण जनप्रतिनिधि एवम राजनैतिक दललाई आग्रह गरेको छ । यसको साथै सो अवधिमा मतदाताहरुलाई आफ्नो वडा कार्यालयमा पुगेर आफ्नो विवरण हेर्न र केही त्रुटि रहेमा सच्चयाउन कार्यालयले आव्हान गरेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा