ताजा अपडेट »

‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग

बुधबार, ०१ भदौ २०७९, २१ : २९
10 Shares

बुटवल । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका प्रमुख बैजुप्रसाद गुप्ता विरुद्ध स्थानीयले कारबाही माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । प्रमुख गुप्ताले पत्रकार, कर्मचारी लगायतका व्यक्तिहरुलाई कुटपिट गर्ने, प्रतिशोधका आधारमा जनतालाई अनावश्यक रुपमा लागुऔषध लगायतका मुद्दामा फसाउने गरेको भन्दै स्थानीयले बिरोध प्रदर्शन गरेका हुन् ।

गाउँपालिका प्रमुख गुप्ताले निर्दोष व्यक्तिलाई लागुऔषधमा फसाएको भन्दै कारबाहीका लागि स्थानीयले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।अघिल्लो कार्यकालमा समेत गाउँपालिका प्रमुख रहेका गुप्ताले पत्रकारमाथि कुटपिट तथा कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिट गरेकाे कुरा सार्वजनिक भएका थिए । कर्माचरीलाई आफ्नो अधिनमा राख्न गुप्ताले कुट्ने, तर्साउने तथा धम्क्याउने काम गर्दै आएको आरोप लागेको छ । यसैबीच गत असार २२ गते पुर्व नगर प्रहरी रघुनाथ धोवीको सहयोगमा योजनावद्ध रुपमा लागुऔषध कारोबार गरेको भन्दै दुई युवालाई फसाएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार गुप्ताले पुर्व नगर प्रहरी धोवीको सहयोगमा रामग्राम नगरपालिका-१७ पिपरहियाको एक चिया पसलमा बोलाएर लागुऔषध कारोबार गरेको भन्दै फसाएका थिए । चिया पसलमा गुप्ताले प्रहरी बोलाएर आफैले ल्याएको लागुऔषध देखाउँदै ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानले कारोबार गरेको भनी पक्राउ गर्न निर्देशन दिएका थिए । उक्त घटनामा २७० सेट डाइजेपाम नुर्फिन र फेनार्गन भेटिएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र प्रहरी प्रधान कार्यालय काठमाडौंबाट अनुसन्धान भइरहेको र उक्त अनुसन्धानको प्रतिवेदन सार्वजनिक गरी घटनामा संलग्न दोषीलाई कारबाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

पालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रहरीसँगको मिलेमतोमा कवाडीको काम गर्दै आएका भारतीय नागरिक गुप्ता र पासवानलाई फसाएको भन्दै कारबाहीको माग गरेका छन् । नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ समितिका सभापति हरिहर चौहान, जसपा गाउँ समितिका सहसंयोजक कमलेश माली, जसपाका गाउँ युवा समितिका अध्यक्ष बसन्त यादव र कांग्रेस जिल्ला सदस्य चन्द्रमणि चौधरीले हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा निर्दोषलाई मुक्त गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । दोषीलाई कारबाहीको माग गर्दै ब्यानरसहित निस्केको जुलुसले जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।

थुनामा रहेका भारतीय नागरिकहरु भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्राम पटजिलवाका हुन् । उनीहरु कवाड ब्यापारको लागि नवलपरासी भूमहीमा बस्दै आएका थिए । गुप्ता र पासवानले गाउँपालिका अध्यक्षबाट आफ्नो कवाड खरिद गरेवापतको एक करोड ३३ लाख बढी रकम लिन बाँकी रहेको र उक्त रकम नतिर्न आफूहरुलाई फसाएको प्रहरीलाई बयान दिएको कांग्रेस पाल्हिनन्दन गाउंपालिकाका नेता राजेन्द्र साहनीको दावी छ ।

गाउंपालिका अध्यक्ष गुप्ताले १०/१२ जना मान्छे खटाएर लागुऔषधको कारोबार समेत गर्ने गरेको र उनको कारोबारमा प्रहरीको संरक्षण रहेको कांग्रेस नेता साहनीको आरोप छ ।  ‘उनी लागु औषधको पनि कारोबारी हुन्, उनलाई बचाउन जिल्लाका प्रहरी प्रमुखको पनि मिलेमतो छ ।’–साहनीले भने–‘यो घटनाको निष्पक्ष छानवीन हुने हो भने गाउँपालिका अध्यक्ष र एसपी दुबै कारवाहीमा पर्छन् ।’

आफू पनि फस्ने भएपछि एसपी कँडेल घटनालाई सामसुम पार्न लागेका र घटनालाई मिलाउन अध्यक्ष गुप्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत गुहारेको साहनीको दाबी छ । गाउंपालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । उनीविरुद्ध अन्य थुप्रै मुद्दा समेत रहेको स्थानीयको दावी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।