ताजा अपडेट »

चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति

बुधबार, ०१ भदौ २०७९, १७ : ४८
8 Shares

काठमाडौँ ।  विपद्का घटनामा परी पछिल्लो ४ महिनामा १५७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

सो समयमा १ हजार ४२१ वटा विपद्का घटना रेकर्ड भएका थिए। ती घटनामा परी १५७ जनाको मृत्यु, ३ जना वेपक्ता र ३७७ जना घाइते भएको प्राधिकरणले जनाएको छ । बितेको ४ महिनामा सबैभन्दा बढीको मृत्यु चट्याङका कारण भएको छ। यसवर्ष चट्याङ लागेर ५६ जनाको मृत्यु भइसकेको छ। चट्याङ लागेर १४९ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार गत वैशाखदेखि साउनसम्म पहिरोमा परी २८, बाढीमा परी ८, सर्पको टोकाईबाट १५, आगलागीमा परी १९, भारीवर्षाका कारण ५, हुरीबतासका कारण ९, जनावरको आक्रमणबाट १६ र वन डढेलोमा परी १ जनाको मृत्यु भएको छ ।विपद्का घटनाबाट यस वर्ष १ हजार ८ सय घरपरिवार प्रभावित भइसकेका छन्। पछिल्लो ४ महिनामा विपद्का घटनाले ८५ करोड ३७ हजार ८६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

आगलागीका घटनाले सबैभन्दा ठूलो आर्थिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ।आगलागीका घटनाबाट यस अवधिमा ७० करोड ९९ लाख ८५ हजार ९६० रुपैयाँको आर्थिक क्षति गरेको छ।प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो चार महिनामा पहिरोले ६ करोड ५७ लाख ७७ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ७ लाख ४२ हजार रुपैयाँ, चट्याङले ३० लाख ७४ हजार रुपैयाँ, भारीवर्षाले १ करोड ८७ लाख ४२ हजार ८ सय रुपैयाँ, हुरीबतासले २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पले ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३० लाख ८८ हजार ६ सय रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

अघिल्लो वर्ष अर्थात् २०७८ सालको सोही अवधि (वैशाखदेखि साउनसम्म)मा १ हजार ४५४ वटा विपद्का घटना रेकर्ड भएका थिए। ती घटनामा परी १७५ जनाको मृत्यु, ४० जना वेपक्ता र ३८७ जना घाइते भएका थिए। सो अवधिमा विपद्का घटनाबाट १ हजार ९२३ परिवार प्रभावित भएका थिए भने ८९ करोड ४० लाख ४८ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।