ताजा अपडेट »

महाअभियोग टुङ्गो लगाउने कार्यतालिका अर्को बैठकमा पेश हुने

बुधबार, ०१ भदौ २०७९, १६ : ५०
6 Shares

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ ।

समिति गठन भएको करिब ६ महिनापछि बुधबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुङ्गो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको हो । बैठकले अर्को बैठकमा सो महाअभियोग टुङ्गो लगाउने गरी कार्यतालिकाको मस्यौदा तयार पारी समितिको बैठकमा पेश गर्ने अधिकार सचिवालयलाई दिने निर्णय पनि गरेको छ ।

समितिका सचिव लक्ष्मीप्रसाद गौतमले समितिका ज्येष्ठ सदस्य र सदस्यहरुसँग आवश्यक समन्वय गरी सो महाअभियोग टुङ्गो लगाउनका लागि कार्यतालिका अर्को बैठकमा पेश गर्ने अधिकार सचिवालयलाई दिने निर्णय बैठकले गरेको जानकारी दिए ।

उनले भने, ‘‘आगामी बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गर्ने निर्णय समितिको बैठकले गरेको छ । त्यसका लागि सचिवालयले तयार पारेको कार्यविधिको मस्यौदा सबै सदस्यहरुले प्राप्त गरिसक्नुभएको छ । दोस्रो, सचिवालयले आगामी बैठकमा कार्यतालिका प्रस्तुत गर्ने । समितिमा रहनुभएका सबै सदस्यहरुको समन्वयमा सचिवालयको तर्फबाट आगामी बैठकमा कार्यतालिका प्रस्तुत हुन्छ ।’’

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले एक महिनाभित्र सो महाअभियोग टुङ्गो लगाउने गरी कार्यविधि र कार्यतालिका तय गर्नुपर्ने बताए ।सांसद पोखरेलले प्रतिनिधिसभाको आयु धेरै नभएकाले सो महाभियोग टुङ्गो लगाउने समय धेरै राख्न नहुने तर्क समेत गरे । सत्तारुढ दलहरुले संविधान, कानुन र नियमावली विपरित सो महाअभियोग प्रस्तावमाथिको छलफल रोकेर राखेको भन्दै सांसद पोखरेलले असन्तुष्टिसमेत व्यक्त गरे ।

उनले भने, ‘‘देशको प्रधानन्यायाधीशउपर लगाएको महाअभियोगको सन्दर्भ पाँच(पाँच महिनासम्म ऐन, कानुन र संविधानको व्यवस्था विपरित अपमानजनक ढङ्गले रोकेर राख्ने काम गरियो । प्रतिनिधिसभाको आयु नै लामो नभएको हुनाले यसलाई एक महिनाभित्र टुङ्गो लगाउने गरी कार्यतालिका तय गर्नुपर्छ ।’’सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले तीन महिनाभित्र सक्नेगरी महाअभियोग प्रस्तावलाई टुङ्गोमा पुर्‍याउने गरी काम अघि बढाउन उपयुक्त हुने धारणा राखे । सांसद विश्वकर्माले सिङ्गो संसदले दिएको सो जिम्मेवारीलाई पूरा गर्न समितिका सबै सदस्यहरु गम्भीर भएर लाग्नुपर्ने धारणा समेत राखे ।

सांसद विश्वकर्माले भन्नुभयो, ‘‘कार्यविधिमा तीन महिनाभित्र टुङ्गो लगाउने भनिएको छ । यसभित्र सो कामलाई सकौं । सिङ्गो संसदले हामीलाई जिम्मेवारी दिन बिलम्ब गरेको हो । कार्यतालिका तुरुन्त बनाऔं ।’ बैठकमा समितिका अन्य सदस्यहरुले पनि सो महाअभियोग प्रस्ताव टुङ्गो लगाउने काममा ढिलाई गर्न नहुने धारणा राख्नुभएको थियो । महाअभियोग सिफारिस समिति ११ सदस्यीय रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।